
काठमाडौं, २४ असार–चीन सरकारसँग व्यापार तथा पारवाहन सम्झौता अघि बढाउन नेपाली टोली आज चीन जाँदैछ ।
मन्त्रिपरिषद्को बिहीबारको निर्णयअनुसार वाणिज्य मन्त्रालयका सचिवको नेतृत्वमा नेपाली टोली चीन जान लागेको हो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरे नेतृत्वमा चीन जान लागेको टोलीमा परराष्ट्र, अर्थ, कानून, भौतिक पूर्वाधार तथा यातायत मन्त्रालयका १० जना उच्च अधिकारी सहभागी छन् ।
सरकारले घिमिरेलाई सम्झौतामा हस्ताक्षर गर्ने अधिकारसहित चीन पठाउने निर्णय गरेको थियो । प्रधानमन्त्री केपी ओलीको असार ५ देखि भएको ६ दिने चीन भ्रमणमा पारवाहन सम्झौता हुने बताइए पनि पूर्णता पाएको थिएन ।
प्रोटोकलमा हस्ताक्षर गर्न नसकेको भन्दै ओलीको आलोचनासमेत भएको थियो । प्रोटोकलमा हस्ताक्षर भएपछि नेपालले चिनियाँ बन्दरगाहको प्रयोग गर्दै तेस्रो मुलुकसँग व्यापार गर्न सक्नेछ भने भारतसँग नेपालको पारवाहन निरर्भरता घट्ने अनुमान गरिएको छ ।