
सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या प्रत्येक वर्ष बढ्दो अवस्थामा रहेको एक तथ्यांकले देखाएको छ । काठमाडौं उपत्यकामा मात्रै सात वर्षयता सडक दुर्घटनामा परी १ हजार ८८ जनाको मृत्यु भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्यांकले राजधानीमा सवारी दुर्घटनाको तथ्यांक केही वर्षबाहेक प्रत्येक वर्ष बढ्दो क्रममा रहेको देखाएको छ ।
सवारी दुर्घटनामा बढीजसो पैदलयात्रु, मोटरसाइकल तथा स्कुटरमा सवार व्यक्ति पर्ने गरेको तथ्यांकले देखाएको छ । आर्थिक वर्ष २०६८÷६९ यता २०७४÷७५ (जेठ मसान्तसम्म) सात वर्षको अवधिमा मात्रै काठमाडौं उपत्यकाभित्र सवारी दुर्घटनामा १ हजार ८८ जनाको मृत्यु र १ हजार ७ सय ८१ जना गम्भीर घाइते भएका छन् ।
महानगरीय ट्राफिक महाशाखाका प्रमुख एसएसपी वसन्त पन्तले सामान्य लापर्बाहीका कारण पनि सवारी दुर्घटना हुने क्रम बढेको र दुर्घटना दिनहुँ बढ्ने क्रममा रहेको बताए । उनले बढीजसो स्कुटर तथा मोटरसाइकलमा सवार व्यक्तिहरूको दुर्घटनामा मृत्यु हुने गरेको जानकारी दिए ।
महानगरीय प्रहरी महाशाखाको रेकर्डअनुसार आर्थिक वर्ष २०६८÷६९ मा उपत्यकामा सवारी दुर्घटनामा १४८ जनाको मृत्यु भएकोमा २०६९÷७० मा समेत सोही संख्यामा नै दुर्घटनामा मृत्यु भएको छ ।
यसैगरी, आर्थिक वर्ष २०७०÷७१ केही कम भए पनि १४३ जनाको ज्यान गएको छ । यस्तै, २०७१÷७२ मा १३३ जनाको मृत्यु भएको छ भने २०७२÷७३ मा भने अघिल्ला वर्षको तुलनामा मृत्यु हुनेको संख्या बढेर १६६ पुगेकोे छ ।
यसैगरी, २०७३÷७४ मा समेत अघिल्ला वर्षभन्दा मृत्यु हुनेको संख्या बढेर १८२ पुगेकोमा आर्थिक वर्ष २०७४÷७५ मा (जेठ मसान्तसम्म) १६८ जनाको मृत्यु भएको हो ।
यस अवधिमा २५ हजार ५८४ जना दुर्घटनामा सामान्य घाइते भएका छन् । तर, प्रत्येक वर्ष सामान्य घाइते हुनेको संख्यासमेत बढ्दो क्रममा रहेको तथ्यांकले देखाएको छ । राजधानी दैनिकमा यसबारे खबर छापिएकाे छ ।