काठमाडौं –नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता एवं सांसद योगेश भट्टराईले डाक्टर गोविन्द केसीका नाममा 'इमोसनल ब्ल्याकमेलिङ' भइरहेको बताएका छन् ।
अनशनरत चिकित्सक डाक्टर गोविन्द केसीको जीवनरक्षाका सम्बन्धमा कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडुले संसदमा प्रस्तुत गरेको जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथि धारणा राख्दै सांसद भट्टराईले यस्तो बताएका हुन् ।
'आज गोविन्द केसी, बालकृष्ण ढुंगेल, गंगामाया (अधिकारी)का नाममा इमोसनल ब्ल्याकमेलिङ भइरहेको छ,' सांसद भट्टराईले भने ।
कांग्रेसलाई बचाउन डाक्टर केसीलाई उपयोग गरिएको उनको टिप्पणी छ ।
'गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईजस्ता त्यागी नेता जसले कांग्रेस बनाउनुभयो, उहाँहरूले अमिलो मुख लगाएर पार्टी छाड्नुपर्यो,' भट्टराईले भने– 'आज कांग्रेस बचाउन गोविन्द केसी चाहिएको छ ।'
साथै उनले डाक्टर केसी आफू खुशी जुम्लामा गएर अनशनमा बसेको भन्दै सरकारले हिरासतमा नराखेको जिकिर गरे ।