
काठमाडौं– राष्ट्रियसभाको सोमबारको बैठकले विनियोजन विधेयक, २०७५ लाई बहुमतले पारित गरेको छ । बैठकले आर्थिक विधेयक, २०७५ र राष्ट्र ऋण उठाउने विधेयक, २०७५ को प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ ।
त्यसैगरी ऋण तथा जमानत (२२ औँ संशोधन) विधेयक, २०७५ पनि राष्ट्रियसभाको बैठकको बहुमतले स्वीकृत गरेको छ । राष्ट्रियसभाको अर्को बैठक मंगलबार अपराह्न ३ बजे बस्नेछ ।
संघ र प्रदेशको बेवास्ताको शिकार स्थानीय तह
संघ र प्रदेशले समन्वय नगर्दा स्थानीय तह सञ्चालनमा निकै कठिनाइ रहेको पाइएको छ । संघ, प्रदेश र स्थानीय तहबीच परस्पर समन्वय, सहअस्तित्व र सहकारिता रहने भनेर संविधानमा उल्लेख गरिए पनि व्यवहारमा त्यस्तो नभएको जनप्रतिनिधिको अनुभव रहेको छ ।
विशेषतः ऐन, कानुन निर्माण, कर्मचारी समायोजन र अनुदान वितरणमा खासै समन्वय नभएको उनीहरुको गुनासो छ । देशभरका विभिन्न स्थानीय तहका प्रमुख र उपप्रमुखले यःतो गुनासो गर्दै आएको सन्दर्भमा सोमबार भएको ललितपुर महानगरपालिकाको दोस्रो नगरसभा पनि यस्तै गुनासो संघ र प्रदेशका सभा सदस्यलाई सुनाइएको थियो ।
‘कार्यपालिकाले एक वर्षको कार्यकाल पूरा गरे पनि अपेक्षाअनुरुप काम गर्न सकेन’ ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले नगरसभामा भन्नुभयो । महानगरपालिकालाई समृृद्ध बनाउन चाहे पनि काम गर्न अनेक चुनौती छन् । स्थानीय सरकारले कानून बनाउँदा संघीय र प्रदेश कानुनसँग नबाझिने गरी बनाउनुपर्ने संवैधानिक प्रावधान रहेको छ ।, नेपाल समाचारपत्रमा खबर छ ।
श्रमिकको न्यूनतम पारिश्रमिक १३ हजार निर्धारण
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नयाँ आर्थिक वर्षदेखि लागू हुनेगरी श्रमिकको न्यूनतम पारिश्रमिक १३ हजार ४५० निर्धारण गरेको छ । रोजगारदाता र श्रमिकका प्रतिनिधिबीच भएको त्रिपक्षीय छलफलबाट सम्पूर्ण रोजगार प्रदायक क्षेत्रमा कार्यरत श्रमिकको पारिश्रमिक निर्धारण गरिएको हो ।
मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा श्रममन्त्री गोकर्ण विष्टले भने, “विगतका समयमा बढाइएको पारिश्रमिकको दरभन्दा यो बढी हो, यसलाई हामीले अहिलेसम्मकै उच्चतम वृद्धिदरका रूपमा लिन सक्छौंँ ।”
कुनै पनि कम्पनीले तोकिएको न्यूनतम पारिश्रमिकभन्दा कम दिएमा सो कम्पनीलाई कडाइका साथ कारवाही गरिने मन्त्रालयका सचिव यज्ञेश्वर दाहालले बताए ।
१२ जनाको नाम स्वीकृत
प्रतिनिधिसभाले संसदीय सुनुवाई विशेष समितिमा रहने १२ जना प्रतिनिधिसभा सदस्यको नाम स्वीकृत गरेको छ । सोमबारको बैठकमा सभामुख कृष्णबहादुर महराले प्रस्तुत गरेको १२ जनाको नाम संसदले स्वीकृत गरेको हो ।
समितिमा प्रतिनिधिसभाबाट अमृता थापा, निरुदेवी पाल, पार्वत गुरुङ, पुष्पा भुसाल, पूर्णाकुमारी सुवेदी, भीमसेनदास प्रधान, योगेश भट्टराई, राजेन्द्र श्रेष्ठ, लक्ष्मणलाल कर्ण, शिवकुमार मण्डल केवट, सुरेन्द्र पाण्डे र ज्ञानेन्द्रबहादुर कार्की रहेका छन् ।
मुस्ताङ दुर्घटनामा मृत्यु भएकाका प्रति परिवालाई ५ लाख राहत
मुस्ताङमा भएको टिपर दुर्घटनामा परि मृत्यु भएका २० जना श्रमिकका परिवारलाई सरकारले प्रतिव्यक्ति ५ लाख रुपैयाँ राहात दिने भएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा गृहमन्त्री रामबहादुर थापाले उक्त घटनाबारे जानकारी दिँदै मृतकका परिवारलाई ५ लाख रुपैयाँ दिने जानकारी गराएका हुन् ।
लोमान्थाङ सडक निर्माणका क्रममा खाना खाएर टिपर चढेर काम गर्न जाँदै गर्दा दुर्घटना हुँदा २० जनाको घटनास्थलमै मृत्यु भएको थियो ।
छोरी जन्मे वार्षिक १० हजारका दरले २० वर्षसम्म भत्ता
कलैयाको प्रसौनी गाउँपालिकाले छोरी जन्मेको ३५ दिनभित्र जन्म दर्ता गरी प्रमाणपत्र लिए गाउँपालिकाले रु १० हजारका दरले २० वर्षसम्म सन्ततिका नाममा बैंकमा रकम जम्मा गरिदिने निर्णय गरेको छ ।
गाउँपालिकाको सोमबारको गाउँसभाले आगामी साउनदेखि ‘बेटी बचाऔँ, बेटी पढाऔँ’ र सुत्केरी महिलालाई भत्ता दिने कार्यक्रम लागु गर्ने तथा गर्भवतीका हकमा दुई पोका नुुन र रु एक हजारका दरले मासिक भत्तासमेत दिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष भोलाप्रसाद गुप्ताले जानकारी दिए ।
छोरीलाई शिक्षामा सहज पहुँचका लागि अभियानको थालनी गरिएको उपाध्यक्ष गीता साहले बताइन् । उमेर नपुगेका छोरीहरूलाई विवाह गर्ने चलनका कारण धेरैको अकालमै ज्यान जाने गरेको हुँदा अभिभावकलाई पनि गाउँपालिकाले कम्तीमा पनि २० वर्ष उमेर पुगेपछि विवाह गराउन सुझाव दिएको छ ।
प्रशोधन केन्द्रको अवस्था पेश गर्न निर्देशन
काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको सुन्दरीजल प्रशोधन केन्द्रमा शुद्धीकरण गरी उपत्यकामा वितरण हुने पानीको गुणस्तर के कस्तो हो भन्ने प्रतिवेदन पेश गर्न खानेपानी तथा सरसफाइ मन्त्रालयले लिमिटेडलाई निर्देशन दिएको छ ।
मन्त्रालयका वरिष्ठ डिभिजनल इञ्जिनीयर अनोज उपाध्यायले यही असार १७ गते लिमिटेडलाई पत्र लेखेर सुन्दरीजल प्रशोधन केन्द्रको अनुगमन गरी सात दिनभित्र वास्तविकताबारे पेश गर्न निर्देशन दिएका हुन् ।
मन्त्रालयको पत्र प्राप्त भएपछि लिमिटेडले खानेपानी सञ्चालन महाशाखा प्रमुख सतीशकुमार दत्तको संयोजकत्वमा अनुगमन समिति गठन गरेको छ । समितिले स्थलगत रूपमा सुन्दरीजल गई अध्ययन गरेर प्रतिवेदन पेश गर्ने तयारी गरेको छ ।
प्रतिवेदन लेखन अन्तिम चरणमा पुगेकाले मंगलबार पेश गरिने संयोजक दत्तले बताए ।
विश्वकपः सेमिफाइनलका खेल आजबाट शुरु
रुसमा जारी २१ औँ संस्करणको फिफा विश्वकप– २०१८ को सेमिफाइनल खेल मंगरबारदेखि शुरु हुुने भएको छ । यस पटकको विश्वकपको सेमिफाइनलमा युरोपका चार टोलीले प्रतिष्पर्धा गर्ने भएका छन् । यसैले विश्वकपको उपाधि पनि युरोपेली देशले नै भित्र्याउने निश्चित छ ।
सेमिफाइनलमा फ्रान्स, बेल्जियम, बेलायत र क्रोएसिया अन्तिम चारमा स्थान बनाउन सफल भएका हुन् । सेमिफाइनलमा मंगलबार फ्रान्सले बेल्जियमको सामना गर्दैछ । त्यस्तै बुधबार हुने दोस्रो सेमिफाइनल खेलमा एक पटकको विश्व विजेता बेलायतले क्रोसियाको सामना गर्दैछ ।