
काठमाडौं –चिकित्सा क्षेत्रमा व्याप्त विकृति अन्त्यको माग गर्दै आमरण अनशनमा बसिरहेका त्रिवि शिक्षण अस्पतालका डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथि छलफल शुरु भएको छ ।
नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारी प्रस्तावक र अनिता देवकोटा समर्थक रहेको प्रस्तावमाथि राष्ट्रियसभामा मंगलवार छलफल भइरहेको हो ।
प्रस्ताव पेश गर्दै सांसद अधिकारीले माथेमा आयोगको प्रतिवेदनलाई नकारेर चिकित्सा शिक्षा विधेयक ल्याउनुको कारण माग गरे । ‘यहाँ पढ्न नपाएर विदेशमा जाने भए भन्ने कुरा तर्क होइन, कुतर्क हो । यहाँ क्षमता नभएर विदेशमा जाने हुन् । विदेशमा गएर पढेर आएकाले पनि यहाँ आएर मेडिकल काउन्सिलको जाँच पास गर्न नसकेर बेहाल छ,’ अधिकारीले भने ।
यसअघि प्रतिनिधिसभामा मंगलवार जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथि छलफल भएको थियो ।