०३ असार २०८३, बुधबार

दिउँसोमा नचल्दा अन्त्य होला टिप्परको दादागिरी ? प्रहरीलाई नै मुख छाड्छन् चालक [भिडियोसहित]

असार २९, २०७५
दिउँसोमा नचल्दा अन्त्य होला टिप्परको दादागिरी ? प्रहरीलाई नै मुख छाड्छन् चालक [भिडियोसहित]

काठमाडौं – काठमाडौंको जडिबुटी चोकमा मंगलबार दिउँसो टिप्परको ठक्करबाट १८ वर्षीय रोयल सुवेदीको मृत्यु भयो । यो चोकमा असार महिना मात्र टिप्परले तीन जनाको ज्यान लिइसकेको छ ।

टिप्पर आतंकले देशभरीमा दैनिकजसो औसत २ जनाको ज्यान जाने गरेको बताइन्छ । सानो उमेरका चालकले सवारी साधान चलाउनु पनि दुर्घटनाको प्रमुख कारण भएको बताउँछन् जडिबुटी चोकमा ड्यूटीमा खटिएका ट्राफिक प्रहरी कृष्णप्रसाद चापागाईंं ।

‘बाइकहरू पनि जथाभावी चलाउँछन्, लाइसेन्स पाएपछि सबैथोक पाएजस्तो गर्छन्, टिप्परको पनि उस्तै पारा छ, सानो उमेरका चालक हुन्छन्, उनीहरूमा आफ्नो ज्यानको माया पनि हुँदैन र अरुको पनि ।’

कतिपय टिप्पर चालकले त कागजपत्र पनि नबोक्ने र उल्टै आफूहरूलाई धम्क्याउने गरेको उनको भनाइ छ ।

जडिबुटी चोकमा दिउँसो १२/०१ बजेको समयमा एकमिनेट उभिने हो भने कम्तिमा ८ देखि १० वटा टिपरहरू गुडेको देख्न पाइन्छ ।

हामी आधाघण्टा त्यहाँ बस्दा ट्राफिकसँग चालकको पाखुरा जुधाइ र झगडा पनि देखियो । ट्राफिक नियम नमान्दै लेन अनुशासन मिच्नेहरू पनि भेटिए ।

अझै एउटा पिकअप भ्यानका चालकले त ट्राफिक प्रहरीलाई अपशब्द बोल्दै गाली समेत गरे ।

कम होला त दादागिरी ?

सरकारले अब बिहान र दिउँसोको समयमा राजधानीमा टिप्पर चलाउन नदिने निर्णय गरेको छ । गृहमन्त्रालयको निर्णयअनुसार साउन १ गतेदेखि राति ८ बजेबाट बिहान ५ बजेसम्म राजधानीमा टिप्पर चलाउन पाइने छ ।

टिप्परका कारण दुर्घटना बढिरहेका बेला गृहले यस्तो निर्णय गरेको हो । दिउँसोमा टिप्पर चलाउन रोक लगाएसँगै राजधानीमा यसका कारण हुने दुर्घटनामा कमी आउने विश्वास गरिएको छ ।

भिडियो :

salt training

कमेन्ट गर्नुहोस्