
विराटनगर – लघुवित्त क्षेत्रमा नयाँ प्रविधिको रुपमा ‘ट्यावलेट बैकिङ’लाई नेरुडे लघुवित्तले सञ्चालनमा ल्याएको छ ।
यूके एडसँगको सहकार्यमा सञ्चालित सक्षम एक्सिस टु फाइनान्स परियोजनामार्फत् कार्यक्रम ल्याएको हो । देशका २९ जिल्लाका ७९ शाखा उपशाखा कार्यालय रहेको लघुवित्तले सुनसरीको धरान शाखा कार्यालयबाट पहिलो पटक ट्यावलेट बैकिङ कार्यक्रम शुरू गरेको हो । धरान उपमहानगरपालिका–१७ को रेलवे लाइनमा रहेको सप्तरङगी नेरुडे महिला केन्द्रमा भएको कार्यक्रममा संस्थाका प्रबन्ध सञ्चालक मणिकुमार अज्र्यालले यो प्रविधिबाट आफ्ना ग्राहक सदस्यलाई सेवा दिने बताए ।
ग्राहकलाई सहज र सजिलो तरिकाले सेवा उपलब्ध गर्न प्रविधि ल्याइएको हो । इन्टरनेट नभएका स्थानबाट पनि अफलाइनमार्फत् सेवा दिन सकिने छ । सूचना र प्रविधिको विकाससँगै नयाँ–नयाँ प्रविधिको प्रयोग गर्न जरुरी रहेको र कारोबारलाई पारदर्शी, जवाफदेही बनाई ग्राहक वर्गको विश्वास जित्न सकिने उनको धारणा छ ।
परियोजना अन्तर्गत ७ जिल्लाका १९ शाखामा कार्यक्रम सञ्चालन भइरहेको छ । ट्याबलेट बैकिङ सेवामार्फत् सबै सदस्यले कारोबार हुने बित्तिकै कारोबारको जानकारी र रसिद हात–हातमा पाउने धरान शाखाको प्रमुख सम्झना लामाले बताइन् । धरान–१७ की फुलमाया राईले खुशी व्यक्त गर्दै भनिन्, ‘बिजुलीको बिलजस्तै नेरुडेले पनि यस्तो रसिद दिन थालेकाले सजिलो भएको छ ।’