१४ असार २०८३, आइतबार

मुख्य समाचार : सरकार-सर्वोच्चबीच बढ्न सक्छ द्वन्द्व, ११ उद्योगको खानेपानीमा कोलिफर्म रहेको पुष्टि

मुख्य समाचार : सरकार-सर्वोच्चबीच बढ्न सक्छ द्वन्द्व, ११ उद्योगको खानेपानीमा कोलिफर्म रहेको पुष्टि

काठमाडौं– संसदीय सुनुवाई समितिको शुक्रबारको बैठकले प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशीको नाम अनुमोदन नगरेपछि यसको चर्चा सवत्र भएको छ । अब के हुन्छ भन्ने चासो पनि बढेको छ । सबै पत्रपत्रिकाले पनि यो विषयलाई प्राथमिकताका साथ छापेका छन् । 

फैसला विवादास्पद र शैक्षिक प्रमाणपत्र शंकास्पद रहेका दीपकराज जोशीलाई संसदीय सुनुवाइ समितिले भावी प्रधानन्यायाधीशका रूपमा अस्वीकृत गरेको छ । संसदीय सुनुवाइ समितिले इतिहासमै पहिलोपटक प्रधानन्यायाधीशका लागि प्रस्तावित व्यक्तिलाई अस्वीकृत गरेको छ । 

सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीशसमेत रहेका दीपकराज जोशीको नाम समितिले एक हप्ताको रस्साकस्सीपछि शुक्रबार अस्वीकृत गरेको हो । यसले न्याय क्षेत्रमा मात्र होइन, राजनीतिक वृत्तमा पनि तरंग ल्याएको छ । जोशीका फैसला विवादास्पद र शैक्षिक प्रमाणपत्र शंकास्पद देखिएको सुनुवाइ समितिको ठहर छ । 

उनको नाम अस्वीकृत गर्ने क्रममा सत्तारुढ र विपक्षी दलहरू विभाजित भए । समितिमा सत्तारुढ दलका सांसदको संख्या दुईतिहाइ थियो । अब सुनुवाइ समितिले जोशीको नाम अस्वीकृत गरिएको जानकारी संवैधानिक परिषद्लाई गराउनेछ । त्यसपछि परिषद्ले अर्को नाम सुनुवाइका लागि संसद्मा पठाउनेछ । 

सरकार–सर्वोच्च बढ्न सक्छ द्वन्द्व– संसदीय सुनुवाइ समितिले अस्वीकृत गरे पनि अर्को व्यवस्था नभएसम्म जोशी नै कानुनतः कामु प्रधानन्यायाधीश रहनेछन् । उनले नै सर्वोच्चका दैनिक पेसी तोक्नेछन् । सार्वजनिक सरोकारको विषयका रूपमा संसदीय सुनुवाइ समितिविरुद्ध पनि सर्वोच्चमा मुद्दा पर्न सक्छ । 

यस्तो वेला जोशी हाबी हुन सक्छन् । त्यस्तै, सरकारका कामकारबाहीबारे पर्ने मुद्दामा पनि कामु प्रधानन्यायाधीशका हैसियतमा जोशीले प्रभाव पार्न सक्छन् । जसले न्यायपालिकाको संसद् र सरकारसँग द्वन्द्व बढ्न सक्छ ।

राजीनामा दिन्नँ, पेसी मै तोक्छुः जोशी– संसदीय सुनुवाइको दुईतिहाइबाट अस्वीकृत भएपछि दीपकराज जोशीले कामु प्रधानन्यायाधीशकै हैसियतमा काम गर्ने बताए । प्रधानन्यायाधीशमा अस्वीकृत भइसक्नुभयो अब के गर्नुहुन्छ भन्ने नयाँ पत्रिकाको प्रश्नमा उनले संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘अस्वीकृत भएर के भो र ? न्यायालयमै बसेर काम गर्छु । कामु प्रधानन्यायाधीश मै हुँ, मैले पेसी नतोके कसले तोक्छ ? संविधानको व्यवस्थाअनुसार पनि वरिष्ठ न्यायाधीशले नै पेसी तोक्छ ।’ प्रधानन्यायाधीशमा संसदीय सुनुवाइ समितिबाट अस्वीकृत भए पनि न्यायाधीशका रूपमा कार्यरत रहने वा राजीनामा दिने विषयमा उनले बोल्न चाहेनन् । ‘यो विषयमा अहिले बोल्दिनँ,’ उनले भने ।, नयाँ पत्रिकामा खबर छ ।

मन्त्रिपरिषद्का निर्णय
सरकारले खाद्य तथा पोषण सुरक्षा परियोजना कार्यान्वयनका निम्ति विश्व बैंकबाट प्राप्त हुने २२.७ मिलियन अमेरिकी डलर स्वीकार गर्ने र त्यस निम्ति अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका प्रमुखको संयोजकत्वमा वार्ताटोली गठन गर्ने निर्णय गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले एशियाली विकास बैंकबाट पूर्वपश्चिम राजमार्ग सुधारका निम्ति प्राप्त हुने १८० मिलियन सहुलियतपूर्ण ऋणका लागि पनि वार्ताटोली गठन गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए ।

उखु किसानलाई गत जेठ १५ गतेदेखि नै लागू हुनेगरी प्रतिक्विन्टल ६० रुपैयाँ अनुदान दिने निर्णय बैठकले गरेको छ । केन्द्रीय कानून पुस्तकालयलाई उपयुक्त स्थानमा स्थानान्तरण गर्ने, स्थानीय निर्वाचनका क्रममा बाजुरामा ज्यान गुमाएका हंस रावतकी श्रीमतीलाई सहयोगस्वरुप रु १० लाख उपलब्ध गराउने निर्णय गर्नुका साथै बैठकले दुई जना सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकलाई सरुवा गरेको छ । 

पहिलो पटक प्रस्तावित प्रधानन्यायाधीशको नाम अस्वीकृत 
नेपालको इतिहासमा पहिलो पटक प्रस्तावित प्रधानन्यायाधीशको नाम  दुई तिहाइले अस्वीकृत भएको छ । संसदीय सुनुवाइ विशेष समितिको बैठकले मतदानमार्फत प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको नाम अस्वीकृत गरेको हो । 

कूल १५ मतमध्ये जोशीको विपक्षमा १० मत परेपछि उनीको नाम अस्वीकृत भएको हो । नेपाली काँँग्रेसका चार सांसदले मतदान प्रक्रियामा भाग लिएनन् । समितिका सभापतिले पक्ष वा विपक्षमा बराबर मत भएमा निर्णायक मतका रूपमा मात्र मतदान गर्ने व्यवस्था छ । मतदान गर्नेमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद नौ जना र संघीय समाजवादी फोरमका सांसद एक जनाले जोशीको विपक्षमा मतदान गरे ।

मन्त्रीले लिए शपथ
राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त दुई मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ  । राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार आयोजित विशेष समारोहमा कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री भानुभक्त ढकाल र भूमि व्यवस्थापन, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले पद तथा गोपनीयताको शपथ लिनु भएको हो ।

यसैगरी राष्ट्रपति भण्डारीको उपस्थितिमा प्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा सुरेन्द्रकुमार यादवलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो । अब मन्त्रिपरिषद्मा प्रधानमन्त्री  तथा मन्त्रिपरिषद्को कार्यालयसहित २२ मन्त्रालय, २२ मन्त्री (प्रधानमन्त्री र उपप्रधानमन्त्रीसहित) र तीन राज्यमन्त्री भएका छन् । मन्त्रिमण्डलमा नेकपा र सङ्घीय समाजवादी फोरम नेपाल सहभागी छन् जसमा चार जना महिला छन् । 
 
संवैधानिक परिषद्बाट योग्यता परीक्षण गरी सिफारिश भएको काँग्रेसको स्पष्टोक्ति 
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको नाम अस्वीकृति गर्नुपर्ने कारण र आधारसँग असहमति रहेको जनाउँदै संसदीय सुनुवाइ विशेष समितिको बैठक बहिष्कार गरेको जनाएको छ । समितिमा रहेका काँग्रेस सांसद ज्ञानेन्द्रबहादुर कार्की, जीतेन्द्रनारायण देव, भीमसेनदास प्रधान र पुष्पा भुसालले नियुक्ति अस्वीकृत गर्नुपर्ने रायसँग असहमति रहेको जनाउँदै बैठक बहिष्कार गरेका थिए । 

समितिको शुक्रबारको बैठकले प्रधानन्यायाधीशमा प्रस्तावित जोशीलाई अस्वीकृत गरेको थियो । काँग्रेस सांसदले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै संवैधानिक परिषद्ले कानूनमा उल्लेख भएको योग्यता परीक्षण गरेर मात्र सिफारिश गरेको तर्क गर्दै सो योग्यता पुगेको कुरालाई विनाकारण र आधार संसदीय सुनुवाइ समितिले अन्यथा भन्न नसक्ने उल्लेख गरेका छन् ।

घुससहित मालपोत प्रमुख पक्राउ
तेह्रथुमको आठराई गाउँपालिकाको केन्द्र सक्रान्तिबजारमा रहेको मालपोत कार्यालयका निमित्त प्रमुख शंकरप्रसाद दाहाल रु २५ हजार घुससहित पक्राउ परेका छन् । उनलाई अख्तियारको टोलीले शुक्रबार दिउँसो सेवाग्राहीबाट घुस लिँदै गर्दा पक्राउ गरेको हो । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालयबाट आएको प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डे नेतृत्वको टोलीले दाहाललाई उनकै कार्यकक्षबाट घुस रकमसहित नियन्त्रणमा लिएको हो । 

यो नारा जुलुस गर्ने समय होइन–प्रधानमन्त्री 
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीले अबको समय नारा जुलुसमा नबिताएर विकास निर्माणका काममा लाग्नुपर्ने बताउनुभएको छ । गण्डकी प्रदेशका सांसदसँग सिंहदरबारमा अन्तक्र्रिया गर्दै उहाँले संविधानले केही नयाँ राजनीतिक संरचनाको व्यवस्था गरेकाले त्यसको व्यवस्थापन गर्नुपर्दा केही समस्या भएको बताउनुभयो । 

“प्रदेशको संरचना हाम्रा लागि बिल्कुलै नयाँ हो”,  प्रधानमन्त्री ओलीले भन्नुभयो– “यो नयाँ अभ्यासमा अभ्यस्त हुन हामीलाई केही समय लाग्छ ।” प्रधानमन्त्री ओलीले गण्डकी प्रदेशको समग्र विकासका लागि केन्द्र सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

अन्तक्र्रियामा अधिकांश सांसदले कोरलाबाट त्रिवेणी–सुस्ता जोड्ने सडकका विषयमा उठाएको प्रश्नमा प्रधानमन्त्री ओलीले सो सडक हाल निर्माणाधीन अवस्थामा रहेकाले सरकारले आवश्यक रकम उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

खानेपानीमा कोलिफर्म
विराटनगरका ११ उद्योगहरुले उत्पादन गरेको खानेपानीमा दिसामा पाइने कोलिफर्म रहेको पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयको नेतृत्वमा साउन पहिलो साता विराटनगरमा सञ्चालित २० वटा पानी उद्योगहरुको अनुगमन गरिएको थियो ।

सामाजिक विकास मन्त्रालयले नमूना संकलन गरेको पानी खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले परीक्षण गरेको थियो । कोलिफर्मको जिवाणु भेटिएका उद्योगलाई प्रदेश सरकारले कारबाहीको प्रक्रिया अघि बढाएको छ । ती उद्योगविरुद्ध मुद्दा दर्ता गरिसकिएको जनाइएको छ ।

नेदरल्यान्ड्समाथि नेपालको १ रनको रोमाञ्चक जित
दोस्रो ओडीआईमा नेपालले नेदरल्यान्ड्सलाई १ रनले हराएको छ । यसअघिको पहिलो एकदिवसीय खेलमा  नेदरल्यान्ड्ससँग पराजित बनेको नेपालले शुक्रबार बदला लिन सफल भएको छ । 

२ सय १७ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स अन्तिम बलमा  ११५ रन बनाउँदै अलआउट हुन पुग्यो । नेदरल्याड्सविरुद्ध १ रनको रोमान्चक जीत हात पार्ने क्रममा सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए । यस्तै ललित भण्डारीले २ विकेट लिँदा सोमपाल कामी, कप्तान पारस खड्का, बसन्त रेग्मी र दिपेन्द्र सिंह ऐरीले समान एक–एक विकेट लिए ।
 
यसअघि टस जितेर पहिले ब्याटिग गरेको नेपालले ४८ ओभर ५ बलमा अलआउट हुँदै २ सय १६ रन जोडेको थियो । कप्तान पारस खड्का र सोमपाल कामीको अर्धशतकीय पारीको मद्दतमा नेपालले मध्यम स्कोर खडा गरेको हो ।

अझै अनौठो संयोग त के भयो भने पारसजस्तै सोमपालले पनि अर्थशतक पूरा गर्न छक्का प्रहार गरेको बल हराएपछि अर्को बल ल्याएर खेल सुचारु गरिएको थियो । पहिलो इनिङ भर ३ पटक बल हरायो । 

सोमपालभन्दा अघि पारसले २ पटक छक्का प्रहार गरेको बल हराएको थियो । खेल नेपालले जितेसँगै  सिरिज बराबरीमा टुंगिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्