
काठमाडौं, १२ मंसिर — शहरी विकास मन्त्री अर्जुननरसिंह केसीले नुवाकोटमा प्रहरीबाट लिएको सलामीको सामाजिक सञ्जालमा विरोध भएको छ । मन्त्री भएपछि पहिलो पटक गृहजिल्ला नुवाकोट पुग्दा मन्त्री केसीले प्रहरीबाट सलामी लिएका थिए । ‘स्यालुटेसन’का लागि बनाइएको ‘उच्चआशन’ अगाडि पानीको घडा समेत राखिएको छ ।

‘केसीले लिएको सलामी राजाको जस्तै’ भन्दै सामाजिक सञ्जालमाा विरोध भएको हो । केसीका निजी सचिव निरञ्जन थापाले भने नुवाकोट प्रहरीले केसी मन्त्री भएपछि पहिलो पटक घरमा जाँदा सलामी दिएको बताए ।
‘सरकारी नियमअनुसार प्रहरी आफैंले सलामी दिएको हो,’ उनले भने, ‘मन्त्रीज्यूले त दिएको सलामी ग्रहण मात्रै गर्नुभएको हो ।’ थापाले मन्त्रीलाई दिइएको सलामी ठिक थियो या थिएन भनेर आफूहरूले प्रतिक्रिया दिन नमिल्ने बताए ।
शुक्रवार नुवाकोट गएका मन्त्री केसीलाई उनकै नुवाकोटस्थित निजी निवासमा सलामी दिइएको थियो । केसीको काठमाडौंको सामाखुशीमा समेत घर रहेको छ । नुवाकोटका प्रहरी प्रमुख एसपी देबबहादुर बोहोराले आफूहरूले संगठनको नियम अनुसार सलामी दिएको बताए । ‘हामीले नियम अनुसार सलामी दिएका हौं,’ उनले भने, ‘दिन हुन्छ या हुँदैन, हाम्रो हेडक्वार्टरमा कुरा गर्नुहोला ।’

