०५ असार २०८३, शुक्रबार

धनगढीको छात्रावासमा इजरायलबाट आर्थिक सहयोग

धनगढीको छात्रावासमा इजरायलबाट आर्थिक सहयोग

धनगढी – वैदेशिक रोजगारीमा रहेकी १ महिलाले धनगढीस्थित आमाको माया छात्रावासमा बस्ने बालकलाई आर्थिक सहयोग प्रदान गरेकी छन् ।

वैदेशिक रोजगारीका सिलसिलामा इजरायलमा रहेकी दिया चापागाईंले छात्रवासमा बस्ने बालकलाई आर्थिक सहयोग प्रदान गरेकी हुन् । नेपालको पर्वत जिल्लामा घर भएकी चापागाईंले आफ्ना २ छोरी नबिना र नमूनाको सम्झनामा १४ हजार ५१ रुपैयाँ सहयोग गरेकी हुन् । 

स्थानीय पत्रकार दीपक ओलीमार्फत् उपलब्ध गराएको सो रकम शनिबार एक कार्यक्रमबीच ७ नम्बर प्रदेशसभा सांसद तथा नेपाली कांग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलले आमाको माया छात्रावास सञ्चालक समितिका अध्यक्ष बेदकुमार चौधरीलाई हस्तान्तरण गरेका छन् । 

सांसद रावलले वैदेशिक भूमिमा रहेर पनि चापागाईंले छात्रावासका बच्चाको लालनपालनका लागि आर्थिक सहयोग उपलब्ध गराएर ठूलो काम गरेको बताए । ‘चापागाईंले असहाय, टुहुरा तथा गरीब घरपरिवारका बच्चा बस्ने आमाको माया छात्रावासमा बस्ने बच्चाहरुलाई आर्थिक सहयोग गरेर उदाहरणीय काम गरेको र उनीबाट अरुले पनि सिक्नुपर्छ,’ सांसद रावलले भने । 

सहयोग रकम बुझ्दै छात्रबास सञ्चालक समितिका अध्यक्ष बेदकुमार चौधरीले सात समुन्द्रपारी रहेकी चापागाईंले यसअघि पनि आर्थिक सहयोग उपलब्ध गराएको बताउँदै सहयोगी मनकी चापागाईंको सहयोगले छात्रावासका बच्चाको लालनपालनमा ठूलो राहत पुगेको बताए ।

२६ जना बच्चा रहेको छात्रावासमा असहाय, टुहुरा र घरको अवस्था एकदमै कमजोर रहेका बालक बस्दै आएका छन् । छात्रावास मुठ्ठीदानबाट सञ्चालन हुँदै आएको र छात्रवासमा रहेका बालकलाई विभिन्न स्कूलसँग समन्वय गरेर निःशुल्क पढाउने गरेको छात्रवास सञ्चालक समितिका उपाध्यक्ष शारदा शाहले बताइन् । 

मातृभूमिका लागि पर्वत सेवा समाज इजरायलकी अध्यक्ष समेत रहेकी चापागाईंले यसअघि पनि यो छात्रावासका बच्चालाई आर्थिक सहयोग उपलब्ध गराएकी थिइन् । 

salt training

कमेन्ट गर्नुहोस्