१० साउन २०८३, आइतबार

डाक्टरको बदमासी : महिनाभरिको हाजिर गरेर गायब, तलब झ्वाम !

साउन २६, २०७५
डाक्टरको बदमासी : महिनाभरिको हाजिर गरेर गायब, तलब झ्वाम !

सुर्खेत – जाजरकोटमा कार्यरत १ डाक्टर मनोमानी ढंगबाट अस्पतालमा महिनाभरिको हाजिर गरेर गायब भएको पाइएको छ ।

जाजरकोट जिल्ला अस्पतालमा कार्यरत स्त्री रोग विशेषज्ञ पूर्णिमा राईले महिना पूरा नभइ हाजिर गरेर कार्यालय बाहिर रहेको खुलासा भएको छ । मासिक २ लाख ७७ हजार २ सय ५० रुपैयाँ तलब दिने गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सम्झौता भएअनुसार उनले जेठ र असारको ५ लाख ५४ हजार ५ सय रुपैयाँ भुक्तानी लिइसकेको जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटले जनाएको छ ।

डा. राई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट विशेषज्ञ सेवा दिन जेठदेखि काजमा जाजरकोट जिल्ला अस्पतालमा खटिएकी हुन् । उनले अगाडि नै हाजिर गरेर जिल्ला छाडेपछि प्रसूति सेवा लगायत स्त्रीरोग सम्बन्धी विशेषज्ञ सेवा ठप्प छन् । २ वर्षअघि नै १५ शैयाबाट ५० शैयामा स्तरोन्नति गरिएको जाजरकोट अस्पतालमा ९ जना विशेषज्ञ चिकित्सकको दरबन्दी भएपनि हालसम्म विशेषज्ञ सेवा शुरू हुन सकेको छैन ।

डाक्टरको मनोमानीपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतले कागजपत्र लिएर अनुसन्धान अगाडि बढाएको छ । अख्तियारका शाखा अधिकृत सुरेश विसी सहितको अनुसन्धान टोली शुक्रवार जाजरकोटस्थित जिल्ला अस्पताल पुगेर डा. पूर्णिमा राईले गरेको साउन महिनाको हाजिरी प्रतिसहित अन्य कागजात नियन्त्रणमा लिएको कार्यालयका प्रवक्ता मेघनाथ सापकोटाले लोकान्तरलाई बताए ।

उनले भने, ‘डा. पूर्णिमा राईको बारेमा पत्रिकामा आएको थियो, त्यसअनुसार उहाँले साउनको १८ गतेदेखि साउनको ३१ गतेसम्म पूरै हाजिर गर्नुभएछ ।’ उनले  डा. पूर्णिमाकोे बारेमा अनुसन्धान प्रक्रिया जारी रहेको बताए । उनका अनुसार अब आयोगमा उजुरी दर्ता भएसँगै अनुसन्धान अधिकृत तोकेर सम्बन्धित विषयमा अनुसन्धान गरिने छ ।

‘उहाँले अगाडि नै हाजिर गर्नु गल्ती गर्नुभयो, अब वाँकी अनुसन्धान गर्दै जाँदा खुल्छ,’ प्रवक्ता सापकोटाले भने, ‘यहाँबाट अनुसन्धानको टोली जाँदा उहाँ त्यहाँ हुनुहुन्थेन, स्वास्थ्यका स्टाफले समेत त्यस बारेमा आफूलाई केही थाहा नभएको बताएका छन् हामीसँग ।’

स्त्रीरोग विशेषज्ञ डा. राईलाई कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय जाजरकोटले समेत सिफारिस गरिसकेको छ । जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खतिवडाको नेतृत्वमा जाजरकोट अस्पतालमा गरिएको छड्के अनुगमनका क्रममा कार्यालय प्रमुखलाई जानकारी नै नदिइ हाजिरी पुस्तिकामा साउनभरिको हाजिर गरेर नेपालगन्ज गएको पाइएको छ ।

जाजरकोटका प्रमुख जिल्ला अधिकारी ललितबहादुर बस्नेतले डा. राईले अनुशासनहीन काम गरेको भन्दै स्वास्थ्य सेवा ऐनअनुसार आवश्यक कारवाहीका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, स्वास्थ्य सेवा निर्देशनालय सुर्खेत र कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय लगायतका निकायमा लिखित पत्राचार गरिएको बताए ।

salt training

कमेन्ट गर्नुहोस्