
काठमाडौं – एनआईसी एसिया बैंक लिमिटेडका ग्राहकले नर्भिक इन्टरनेसनल हस्पिटल एण्ड मेडिकल कलेजमा उपचार गर्दा १० प्रतिशत छुट पाउने भएका छन् ।
एनआईसी एसिया बैंक लिमिटेड र नर्भिक इन्टरनेसनल हस्पिटल एण्ड मेडिकल कलेज थापाथलीबीच बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट तथा क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहक वर्गलाई नर्भिक इन्टरनेसनल हस्पिटलमा उपचार गराउँदा हस्पिटलको विभिन्न सेवा सुविधामा १० प्रतिशतसम्म छुट प्रदान गर्ने सम्झौता भएको छ ।
सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका चिफ मार्केटिङ्ग अफिसर जयेन्द्र रावल र हस्पिटलको तर्फबाट नर्भिक इन्टरनेसनल हस्पिटलका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले हस्ताक्षर गरेका बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा सूचना अधिकारी सुधिरनाथ पाण्डेले बताए ।
सर्वसाधारणले गरेको भरोसाले गर्दा मुलुकभर २ सय ३७ शाखा, २ सय ३० एटीएम, १४ वटा एक्सटेन्सन काउन्टर र १७ वटा शाखारहित बैंकिङ्ग इकाइमार्फत् सेवा प्रदान गरेर मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।
बैंकको वासलातको आकार १ सय ८१ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ भने निक्षेप करीब १ सय ५३ अर्ब रुपैयाँ पुगेर निजी क्षेत्रबाट स्थापित बैंकमध्ये नेपालको सबैभन्दा ठूलो बैंक बनेको छ । कर्जातिर करीब १ सय २४ अर्ब रुपैयाँसहित निजी क्षेत्रका बैंकमध्ये दोस्रो ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ ।
बैंकमा ग्राहकको संख्या करीब १२ लाख १९ हजार रहेको छ । संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई बैंकले पालना गर्दै आएको सूचना अधिकारी पाण्डेले बताए ।
