
काठमाडौं–हर रात सपनीमा ऐठन हुन्छ, सायद गाउँमा पहिरो गयो कि... गायक दीप श्रेष्ठको यो गीतले धेरैको मन छुन्छ ।
गाउँबाहिर बसेकालाई आफ्नो गाउँघरमा आइपरेको बाढीपहिरोको विपत्तिले टाढैबाट पनि तर्साइरहन्छ । तर डोटीको आदर्श गाउँपालिका, गिरीचौकावासीका लागि यो अपवाद हो ।
यहाँका बासिन्दा गाउँमा पहिरो जाँदा दुःखी हुँदैनन्। बरु अचम्मैसँग खुसी हुन्छन्।
आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ -गाउँ नजिकैको सिल्लभीरमा पहिरो जाँदा कुनै जनधन क्षति हुँदैन, बरु गाउँलेको आयस्तर बढ्छ।
यो भीरमा पहिरो जाँदा घरमा छाना छाउन प्रयोग हुने पत्थर खस्ने भएकाले गाउँले खुसी हुने गरेका हुन्।
खसेका पत्थरले छानो छाए पनि भयो अथवा बजार लगेर महँगो मूल्यमा बेचे पनि भयो। जे भए पनि पहिरो आयो कि गाउँमा रौनक छाइहाल्छ। पहिरो खस्नेबित्तिकै तँछाडमछाड सुरु भइहाल्छ— पत्थर बटुल्न।