
सुर्खेत – कर्णालीको प्रदेश राजधानी वीरेन्द्रनगर नजिकै पर्ने भेरी सामुदायिक वन क्षेत्र दुर्गन्धित भएको छ ।
वीरेन्द्रनगर नगरपालिकाले २०७४ असोजबाट सामुदायिक वनमा फोहोर फाल्न छाडेको बताएपनि वन क्षेत्रमा फोहोरको डंगुर लाग्न कम भएको छैन । वीरेन्द्रनगर प्रवेशद्वार रहेको वन क्षेत्र फोहोरका कारण दुर्गन्धित भएपनि नगरपालिका मुकदर्शक बन्न पुगेको छ ।
नगरपालिकाले वीरेन्द्रनगर–१ को तारेभीरमा ल्यान्डफिल साइट बनाएपनि फोहोर जति सबै वनमै फाल्ने गरिएको हो । नगरपालिकाले तारेभीरमा ल्यान्डफिल साइट निर्माण गर्ने भनेर चालू आर्थिक वर्षमा ५० लाख रुपैयाँ रकम समेत विनियोजन गरेको छ ।
तर, नगरपालिकाले तारेभीरसम्म जाने कच्ची सडकको मर्मत सम्भार गर्न नसकेको स्थानीय सुदिप शाहीले बताए । ‘हरेक दिन फोहोर संकलन गर्न आउनुपर्ने नगरपालिकाका कर्मचारी ३–४ दिन बिराएर आउने गरेका छन्,’ उनले भने, ‘हामीले नगरपालिकालाई फोहोर संकलन गरेबापत शुल्क तिर्दा पनि फोहोर संकलकहरू दैनिक रुपमा आउने गरेका छैनन् ।’
वीरेन्द्रनगर–६ का स्थानीय रेशम बुढाले नगरपालिकासँग डोजर भएपनि बाटो बिग्रँदा बनाउन कञ्जुस्याइँ गरेको आरोप लगाए । ‘नगरसँग आफ्नै डोजर छ, अन्य साधन छन्,’ उनले भने, ‘ती डोजरलाई बाटो निर्माणमा किन प्रयोग गर्न सकिएन होला ?’
नगरपालिकाले नगर क्षेत्रको फोहोरलाई सही ढंगमा व्यवस्थापन गर्न सकेको छैन । वीरेन्द्रनगर–५ का स्थानीय रामबहादुर विकले फोहोर संकलन गर्ने गाडी नियमित रुपमा नआउँदा घरमै फोहोर थुपार्न बाध्य हुनुपरेको गुनासो गरे ।

‘नगरपालिकाले फोहोर संकलकलाई नियमित रुपमा नगर क्षेत्रमा पठाउन सकिरहेको छैन,’ उनले भने, ‘त्यसकारण घरमै फोहोर राख्नुपर्ने र फोहोरकै कारण रोगव्याधिको शिकार हुनुपर्ने अवस्था आएको छ ।’
वीरेन्द्रनगर नगरपालिकाका नगर उपप्रमुख मोहनमाया ढकालले पानी परेका कारण बाटो खराब भएको र ल्यान्डफिल साइटमा फोहोर फाल्न नसकिएको स्वीकार गरिन् । ‘बाटो खराब भएको हुँदा हामीले भेरी सामुदायिक वनमा नै फोहोर फाल्ने गरेका छौं,’ उनले भनिन्, ‘तर, हामी र वनबीच सम्झौता भई उक्त स्थानमा फोहोर फाल्न थालिएको हो ।’
विगत केही दिनदेखि पानी परेको कारण हरेक दिन नगरमा ट्याक्टरलाई फोहोर संकलन गर्न पठाउन नसकिएको उनले बताइन् । ‘पानी परेको कारण सबैको घरमा फोहोर संकलक दैनिक रुपमा पुग्न सकेनन्,’ उनले भनिन्, ‘तर, अबको १–२ दिनमा हामीले फोहोर संकलन कार्यलाई तीव्रता दिने छौं ।’