
काठमाडौं– राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको दोस्रो वाइड बडी ए ३३०–२०० सिरिजको ‘मकालु’ विमानले थाइल्याण्डको बैंककबाट व्यावसायिक उडान शुरु गरेको छ । ‘नाइन एन एएलजेट’ कलसाइनको मकालु विमानले शुक्रबारदेखि बैंकक नियमित उडान शुरु गरेको निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले जानकारी दिए ।
विदेशी विमानचालक (पाइलट) ‘क्याप्टेन’ र नेपाली विमान सहचालक ‘कोपाइलट’ ले मकालु उडाएका हुन् । दुवै वाइड बडीका लागि पाइलटको व्यवस्था भइसकेको तथा थप पाइलट व्यवस्थापनको प्रक्रियामा रहेको महाप्रबन्धक कंसारकारको भनाइ छ ।
निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठका अनुसार मकालुले पुरानै उडान तालीकाअनुसार सातामा तीन दिन बैंकक उडान भर्नेछ । यात्रुको चाप र पाइलटको पूर्णतापछि बैंककमा थप उडान तथा अन्य गन्तव्यमा विस्तार गरिनेछ ।
गत साउन १० गते काठमाडौँ अवतरण गरेको मकालुले साउन ३१ गते नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) बाट वायुयान उडान सञ्चालन अनुमतिपत्र (एओसी) पाएको थियो । निगमको पहिलो वाइड बडी ए ३३०–२०० ‘नाइन एन एएलवाइ’ कलसाइनको ‘अन्नपूर्ण’ गत असार १६ गते नेपाल भित्रिएको थियो । अन्नपूर्णले गत साउन १६ गतेबाट कतारको दोहा व्यावसायिक उडान शुरु गरेको थियो ।