
काठमाडौं, ९ फागुन– रोजगारीका लागि जापान पठाउने भन्दै ठगी गरेको अभियोगमा कन्सल्टेन्सी सञ्चालक पक्राउ परेका छन् ।
एग्रिकल्चरल रिसर्च भिषामा जापानमा रोजगारीका लागि पठाउने भन्दै रकम लिई ठगी गर्ने काठमाडौं बसुन्धारास्थित चण्डिका इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सीका संचालक देवराज तमाङलाई प्रहरीले पक्राउ गरेको छ ।
काभ्रेपलाञ्चोक सस्र्युखर्क गाविस–७ का ३१ वर्षीय देवराज तामाङलाई महानगरीय अपराध महाशाखाले फागुन ६ गते काठमाडौं बसुन्धराबाट पक्राउ गरेको छ ।
तामाङले उक्त कन्सल्टेन्सीबाट आकर्षक तलवको सुविधा भएको कुक भिषामा जापान पठाइदिने, यसबापत १४ लाख ५० हजार रुपैयाँ लाग्छ भन्दै खोटाङ बाहुनीडाँडा गाविस–९ की छपन सरी राईबाट पेश्की स्वरुप २ लाख ५ हजार तथा धादिङ जीवनपुरका हिरालाल ठकुरी, गोकुल रेग्मी, लक्ष्मण रेग्मी, रमेश सेढाई, बलराम गजुरेल, धादिङ छत्रेदेउरालीका शम्भुप्रसाद लोहनी, काठमाडौं सितापाईलाका सुदन भट्टराई समेत ७ जनालाई जनही ९ लाख ५० हजार लाग्ने भनी ८ लाख ४० हजार गरी जम्मा १० लाख ४५ हजार रुपैयाँ लिएर विदेश नपठाई सम्पर्क विहीन भएका थिए ।
ठगीएका व्यक्तिहरुले महाशाखामा निवेदन दिएसँगै महाशाखाको विशेष टोलीले तामाङलाई पक्राउ गरेको हो । साथै तामाङले निज छपनसरी राईको नाममा होटल ट्रेनिङ प्राप्त गरेको र होटलमा काम समेत गरेको अनुभव भएको नक्कली कागजात बनाई मेडिकल लगायतका प्रकृया गरी विश्वासमा पारेको खुल्न आएको छ ।
तामाङलाई ठगी मुद्दामा आवश्यक कारवाहीको लागि महाशाखाले आइतबार महानगरीय प्रहरी परिसर काठमाडौं पठाएको छ ।