
डोल्पा–नेकपाका नेता वामदेव गौतमलाई सांसद बनाउने तयारी गरिएको चर्चाका बीच डोल्पाबाट निर्वाचित सांसद एवं पर्यटन राज्यमन्त्री धनबहादुर बुढाले आफ्ना मतदातासँग छलफल गरेका छन् ।
वामदेव गौतमलाई प्रतिनिधिसभा सदस्य निर्वाचित गराउनका लागि आफू राजीनामा दिन तयार रहेको बुढाले बताएका छन् ।
राज्यमन्त्रीसमेत रहेका बुढा नेता गौतमलाई सांसद बनाउनका लागि आफ्ना मतदातासँगको छलफलका लागि जिल्ला दौडाहमा निस्किएका छन् ।
सांसद बुढाले राजीनामा दिएपछि डोल्पामा उपनिर्वाचन हुनेछ । जसमा नेकपाले गौतमलाई उम्मेदवार बनाउने छ । यसका लागि नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड पनि सकारात्मक रहेका छन् ।
नेता गौतमलाई डोल्पाबाट उम्मेदवार बनाउँदाको परिणाम बारे छलफल गर्न डोल्पाबाट निर्वाचित सांसद धनबहादुर बुढा यतिखेर डोल्पाका नेकपाका नेता कार्यकर्ता र मतादातासँगको छलफलमा व्यस्त बनेका छन् ।
डोल्पाबाट दुईपटक विजयी भएका बुढाले उपनिर्वाचन हुँदाको माहोल बुझ्न नेकपाका नेता कार्यकर्तासँग छलफल गरिरहेका हुन् ।
जिल्लाका आठवटै स्थानीय तहका जनताको राय सल्लाह र प्रतिक्रियापछि मात्र राजीनामा दिने मन्त्री बुढाले तयारी गरेका छन् । मंगलबार बुढाले तल्लो डोल्पाका मुड्केचुला, जगदुल्ला गाउँपालिका र त्रिपुरासुन्दरी नगरपालिकाका स्थानीयसँग छलफल गरेका छन् ।
उनले आज उपल्लो डोल्पाका छार्काताङसोङ, डोल्पा बुद्ध, से–फोक्सुन्डो, काइके गाउँपालिका र ठूलीभेरी नगरपालिकाका मतदाता, पार्टी कार्यकतासँग छलफल गर्दैछन् ।
मन्त्री बुढाले जनताको सुझावलाई आफूले शिरोधार्य गर्ने भन्दै सुझाव लिइसकेपछि उपयुक्त निर्णय पुग्ने बताउँदै डोल्पाली जनताको सकारात्मक प्रतिक्रिया आउँने विश्वास व्यक्त गरे ।
नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकतामा भूमिका खेलेको भन्दै गौतमलाई सांसद बनाएर प्रतिनिधिसभामा ल्याउन तत्कालिन एमाले र माओवादी पक्षधर नेताहरु सकारात्मक छन् ।
कतिपयले उनको संसद यात्राको तयारीलाई नेकपाको भावी नेतृत्वसँग पनि जोडेर हेर्ने गरेका छन् ।
अपमान गर्न खोजेको होइन
स्थानीय मतदातासँगको छलफलमा राज्यमन्त्री बुढाले आफूले डोल्पाली मतदाताको जममतलाई अपमान गर्न नखोजेको बताए । आफू डोल्पाको विकासलाई थप गतिशील बनाउने पक्षमा रहेको भन्दै बुढाले त्यसका लागि राजीनामा दिएर गौतमलाई जिताउनु पर्ने तर्क गरेका थिए ।
उपनिर्वाचन भएको खण्डमा नेता गौतमले दुई तिहाइ मतसहित जीत हात पार्नेमा आफू ढुक्क भएको बताए । राष्ट्रिय, अन्तर्राष्ट्रिय छवी बनाएका गौतमलाई डोल्पाले पाउनु खुसीको विषय भएको भन्दै बुढाले स्थानीय मतदातालाई डोल्पाको विकासमा थप टेवा पुग्ने बताएका थिए ।