काठमाडौं, ९ फागुन – सरकारले आगामी बैशाख ३१ गतेको लागि चुनावको मिति घोषणा गरेसँगै त्यसप्रति असन्तुष्ट मधेसी मोर्चाले पनि आन्दोलनको घोषणा गरेको छ ।
मोर्चालेमधेस बन्दसहितको दवावमूलक आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।

मधेसी मोर्चाका ७ नेताको हस्ताक्षर रहेको विज्ञप्तिमा फाल्गुण १० गते मधेशका हाट बजार र जिल्ला सदरमुकामहरुमा मसाल जुलुस निकाल्ने, फाल्गुण ११ गते मधेश बन्द गर्ने र फाल्गुण १२ देखी १५ दिन सम्म गाँउ, नगर तथा सदरमुकाममा चुनाव विरोधी कार्यक्रम गर्ने उल्लेख छ । सो पछि पनि आन्दोलनका थप कार्यक्रमहरु सार्वजनिक गरिदैं जाने विज्ञप्तिमा उल्लेख छ।
तर, मोर्चाले सरकारद्वारा संसदमा दर्ता गराईएको संविधान संशोधन विधेयकलाई आपसी सहमतिको आधारमा परिमार्जन सहित पारित गरिए भने चुनावमा सहभागि हुने संकेत गरेको छ ।
प्रेस–विज्ञप्ति
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा
मितिः–२०७३–११–९
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सम्मिलित संघीय गठबन्धनसँग २०७३ श्रावण १९ गते नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) बिच सम्पन्न ३ बुँदे सम्झौता विपरीत, मोर्चाद्वारा सरकारलाइ बारम्बार गर्दै आएको आग्रहलाई बेबास्ता गर्दै तथा नेपालको संविधान २०७२ लाई सर्वस्वीकार्य हुन नदिने मनसायका साथ आजको मन्त्री परिषदबाट स्थानीय निर्वाचनको मिति तोक्ने कार्य नेपाली जनताका लागि दुर्भाग्यपूर्ण हो । संविधानको धारा ५६ (५) विपरीत तथा संविधानको निर्दिष्ट सिद्धान्त, विशेष क्षेत्र, स्वायत्त क्षेत्र र संरक्षित क्षेत्रहरुको संख्या र सीमा निर्धारण नै नगरी अवैज्ञानिक, अधुरो र अपुरो प्रतिवेदनको आधारमा घोषणा गरिएको यो स्थानीय निर्वाचन कदापि मान्य हुन सक्दैन । त्यसरी नै मोर्चा साथ गरिएको ३ बुँदे सम्झौतामा उल्लेख भए बमोजिम मधेश र थरुहट आन्दोलनको क्रममा आन्दोलनकारीहरुमाथि लगाइएका झुठा मुद्दा फिर्ता, आन्दोलनका क्रममा शहादत प्राप्त गरेकाहरु मध्ये बाँकी रहेकाहरुलाई शहिद घोषणा लगायत सरकार आपैmद्वारा मंसिर १४ गते व्यवस्थापिका संसदमा दर्ता गराईएको संविधान संशोधन विधेयकलाई टुङ्गो नलगाई प्रस्तावित गरिएको स्थानीय निर्वाचनले यो संविधानलाई सर्वस्वीकार्य त बनाउँदैन नै, यसले देशमा झन द्वन्द र मुठभेड मात्र निम्त्याउँछ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा संसदमा दर्ता गराइएको यो संविधान संशोधन विधयेकलाई परिमार्जन सहित पारित नहुन्जेल हुने कुनै पनि निर्वाचनमा सहभागी त हुदैन हुदैन मधेशमा त्यस्ता निर्वाचन हुन पनि दिँदैन । अतः संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सरकारद्वारा संसदमा दर्ता गराईएको संविधान संशोधन विधेयकलाई आपसी सहमतिको आधारमा परिमार्जन सहित पारित नभए सम्म आन्दोलन गर्न हामी बाध्य छौँ । यसै आधारमा निम्न कार्यक्रमहरुको घोषणा गरिएको छ ।
आन्दोलनका कार्यक्रमहरुः
१. २०७३ फाल्गुण १० गते मधेशका हाट बजार र जिल्ला सदरमुकामहरुमा मसाल जुलुस ।
२. २०७३ फाल्गुण ११ गते मधेश बन्द ।
३. २०७३ फाल्गुण १२ देखी १५ दिन सम्म गाँउ, नगर तथा सदरमुकाममा भण्डाफोर ।
आन्दोलनका थप कार्यक्रमहरु पछि पुनः सार्वजनिक गरिदैं जानेछ ।
महन्थ ठाकुर
राजेन्द्र महतो
महेन्द्र यादव
राज किशोर यादव
राजेन्द्र श्रेष्ठ
शेखर सिंह
सुनिल रोहित