
कञ्चनपुर -भीमदत्त–२ उल्टाखामकी निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा तत्कालीन प्रहरी प्रमुखसहितले प्रमाण मेटाउन लागेको स्थानीयले आशंका गरेका छन् ।
घटनास्थलमा शवसँगै भेटिएको निर्मलाको सुरुवाल प्रहरीले नै धोएर निचोरेको, घटनास्थलको सुरक्षा नगरेको, निर्मला पढ्न गएको बम परिवारको आँगनको अम्बाको रूख काटिएको र घरभित्र रंगरोगन गरिएको विषय शंकास्पद रहेको उनीहरू बताउँछन् ।
‘शव भेटिएकै समयदेखि प्रहरीले प्रमाण मेटाउने काम गरेको छ, नत्र त्यो सुरुवाल धोएर किन निचोर्यो ?’ एक स्थानीयले भने, ‘प्रहरीले घटनास्थलको सुरक्षामा पनि खासै चासो दिएन ।’ प्रहरीले निर्मलाको सुरुवाल धोएर निचोरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । अाजकाे कान्तिपुर दैनिकमा खबर छापिएकाे छ ।
‘अम्बाको रूख अहिले नै किन काटियो, निर्मलाले रूखमा चढेर अम्बा टिपेको कुरा पनि आएको छ,’ अर्का स्थानीय रतन ओझाले भने । निर्मलाकी आमा दुर्गादेवी पनि यिनै विषयलाई जोडेर बम दिदीबहिनीमाथि शंका व्यक्त गरिरहेकी छन् । छोरी खोज्न जाँदा उनीहरूले देखाएको व्यवहार र क्रियाकलापले पनि घटना त्यही घरभित्र भएको हुन सक्ने उनको बुझाइ छ । ‘प्रहरीले सुरुदेखि नै अनुसन्धानमा लापरबाही गरिरहेको थियो,’ उनले भनिन्, ‘तर त्यहाँ प्रमाण मेटाउने खेल भइरहेको रहेछ ।’