
काठमाडौं–त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले आन्तरिक टर्मिनल शनिबार २२ घण्टा सञ्चालनमा ल्याएको छ । चाडपर्व र पर्यटकीय सिजन शुरु भएपछि बढ्ने यात्रुको चापलाई व्यवस्थापन गर्न विमानस्थलल सञ्चालनको समय बढाइएको हो ।
विमानस्थलले आन्तरिक टर्मिनल शनिबार बिहान ५ बजेदेखि नै खुला गरेको छ । सरकारले गत जेठ ७ गतेदेखि अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको समयमा २ घण्टा ३० मिनेट थप्दै २१ घण्टा अर्थात बिहान ६ देखि राति ३ बजेसम्म पुर्याएको थियो । योसँगै आजबाट बिमानस्थल २२ घण्टा सञ्चालनमा रहनेछ ।
यात्रुको चापलाई व्यवस्थापन गर्न विमानस्थलले ६७ वर्षको इतिहासमा पहिलोपटक आन्तरिक सेवालाई ५ बजेदेखि शुरु गरेको विमानस्थलले जनाएको छ । सुरक्षा जाँच, टिकट, यात्रु बोर्डिङ, पाइलटहरूले वायुयान चेकजाँच गर्दागर्दै आन्तरिक उडान साढे ५ बजेदेखि शुरु हुनेछन् । यसअघि बिहान ६ बजे विमानस्थल खुला हुन्थ्यो तर उडान साढे ६ बजेको हाराहारीबाट मात्रै शुुरु हुन्थे ।