
काठमाडौँ- बियोण्ड बेइजिङ कमिटीले देशका विभिन्न तीन जिल्लामा ६०० महिलालाई यौनिक तथा प्रजनन स्वास्थ्यसम्बन्धी शिक्षा उपलब्ध गराएको छ । उक्त कमिटीको २३ औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा ललितपुर, मकवानपुर र मोरङमा सञ्चालन गरिएको सामुदायिक सचेतना कार्यक्रममा उनीहरुलाई प्रजनन अधिकारसम्बन्धी शिक्षा दिइएको जानकारी दिइएको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले महिला अधिकार तथा महिला सशक्तीकरणका लागि नेपाल पक्ष राष्ट्र भएर गरेका अन्तर्राष्ट्रिय महासन्धिलाई कार्यान्वयन गराउन आवश्यक पर्ने नीति नियम ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले देशमा जनताको सङ्घर्षका कारण सङ्घीय लोकतान्त्रिक शासन व्यवस्था कायम भइसकेको भए पनि पितृसत्तात्मक सोचले गर्दा महिला वर्गको आर्थिक रुपान्तरणमा हुन नसकेको बताउनुभयो ।
दुई दशकदेखि स्थानीय तह नभएका कारण समाजमा विकृति र अराजकता बढेको बताउँदै उहाँले भन्नुभयो, “महिला हिंसा, बलात्कारका समस्या दिनहुँ समाचारमा आइरहेको छ, त्यस्ता अपराधीलाई कडा दण्डको व्यवस्था गरिन्छ । यस्ता घटना न्यूनीकरणका लागि स्थानीय सरकार बढी उत्तरदायी हुनुपर्छ, केन्द्रीय सरकारले आवश्यक सहयोग गर्छ ।”
कमिटीका अध्यक्ष शान्तालक्ष्मी श्रेष्ठ, उपाध्यक्ष सुशीला श्रेष्ठलगायतले ग्रामीण भेगका महिलालाई व्यावसायिक सीपका माध्यमबाट सामाजिक न्याय र सहभागितामूलक प्रतिनिधित्वका लागि संस्था क्रियाशील रहेको जानकारी दिनुभयो ।