
बुटवल – बुटवलमा राष्ट्रिय वाणिज्य बैंकका दुई वटा शाखा छन् ।
एउटा राजमार्ग चौराहा र अर्को हस्पिटल लाइनमा । ती दुवै कार्यालय भाडाका घरमा सञ्चालित हुन् । तर, बैंकको आफ्नो भवन विगत १४ वर्षदेखि पार्टीका कब्जा गरी बसेका छन् ।
बुटवल पाल्पारोडस्थित रातो घरको नामले परिचित राष्ट्रिय वाणिज्य बैंक सुपरीवेक्षणको कार्यालय पछिल्लो समय विप्लव माओवादीले कब्जा गरी पार्टी कार्यालय बनाएको छ । यसअघि माओवादी, त्यसपछि मोहन वैद्य नेतृत्वको नेकपा माओवादी र पछिल्लो समय विप्लव नेतृत्वको नेकपाले आफ्नो पार्टी कार्यालयको रूपमा रजाइ गरिएको छ ।
करोडौं मूल्यको सरकारी पार्टी अफिसको रूपमा प्रयोग हुँदा समेत बैंकले आफ्नो भवन र जग्गा संरक्षण गर्न कुनै चासो देखाएको छैन । बुटवल पाल्पारोडमा रहेको करीब ११ कठ्ठा जमिनमध्ये २ कठ्ठा २ तले रातो भवन छ । नेकपा विप्लवका रूपन्देही सचिव अमर आरसीले भवन भएको आधा जग्गा आफूले नछाड्ने बताए ।
‘हामीले विगत १४ वर्षदेखि भवन र जग्गा संरक्षण गर्दै आएका छौं,’ सचिव आरसीले भने, ‘त्यहाँ भएका सबै जग्गा हामीले आगटदैनौं । आधा जग्गा हाम्रो पार्टीलाई दिनुपर्छ भनेर बैंकमा पत्र पनि पठाएका छौं । त्यहाँ हामीले सहित स्मृति भवन बनाउने सोचेका छौं ।’ पत्रको बैंकले कुनै प्रतिउत्तर दिएको छैन ।
आरसीले थपे, ‘जबर्जस्ती हटाउन खोजे राम्रो हुँदैन । हामीले संरक्षण गरेको पनि सम्झिनुपर्छ ।’ २०६१ सालसम्म घरमा राष्ट्रिय वाणिज्य बैंक सुपरीवेक्षणको कार्यालय रहेको थियो । तत्कालीन माओवादीले बम विस्फोट गराएर घरमा क्षति भएपछि बैंकको कार्यालय पोखरामा सर्यो । त्यसपछि भवन ३ वटा माओवादीले प्रयोग गर्दै आएका थिए ।
केही समय अगाडिसम्म माओवादी कार्यकर्ताको चहलपहल देखिने भवन आजभोलि सुनसान जस्तै छ । भवन अगाडि साइकल मर्मत गर्ने ठाउँ बनाइएको छ । भवनको स्वामित्व राष्ट्रिय वाणिज्य बैंक खस्यौलीको रहेको बताइएको छ ।
केही समय अगाडि राष्ट्रिय वाणिज्य वैंक केन्द्रीय कार्यालयले भवन खाली गराइदिने आग्रह गर्दै जिल्ला प्रशासन कार्यालयले पत्राचार गरेको थियो । तर, पत्रबारे जिल्ला प्रशासन कार्यालय मौन छ ।
आफ्ना जग्गामा आफ्नै भवन बनाउने सोंचमा रहेको वाणिज्य बैंक रहेको छ । बैंकका बुटवल खस्यौली शाखाका सहायक प्रबन्धक निर्मल सुवेदीले जानकारी दिए । उनले भने, ‘माओवादीले पार्टी कार्यालय बनाएपनि छिट्टै हामीहरूले उक्त ठाउँमा अहिलेको भवन भत्काएर बैंकको भवन बनाउँदै छौं ।’ २०६४ सालमा युवा संघको नेता प्रचण्ड थैवको हत्या भएपछि त्यसको विरोध उत्रिएको समूहले भवनमा आगजनी गरेका थिए । आगलागीपछि भवन खाली केही समयसम्म खाली भएको थियो ।
खाली हुँदा समेत संरक्षण गर्न बैंकले पहल नथालेपछि पुनः माओवादीले आफ्नो पार्टी कार्यालय बनाएको हो । पछिल्लो समय मुलुक संघीयतामा गइसकेपछि बुटवल ५ नम्बर प्रदेशको अस्थायी राजधानी भइसकेको छ । प्रदेशका आवश्यक भवनका लागि जग्गा खोजीमा रहेपनि जग्गाको संरक्षण गर्न प्रदेश सरकारले पनि मौन छ ।