२० असार २०८३, शनिबार

नमूना शहरमै खानेपानीको समस्या

नमूना शहरमै खानेपानीको समस्या

मुसिकोट- नेपालकै दश नमूना शहरमध्ये रुकुम पश्चिमको चौरजहारीमा खानेपानीको समस्या बढेको छ । तोकिएको समयमा भेरी नदीको पानी लिफ्टमार्फत चौरजहारीमा नपुर्याउँदा लामो समयदेखि खानेपानीकोे समस्या बढेको हो । 

नमूना शहरको रूपमा विकसित भइरहेको यस क्षेत्रमा गत वर्षको फागुनमा लिफ्टमार्फत भेरी नदीको पानी वितरण गर्ने भनिए पनि अहिलेसम्म पानी नपुर्याउँदा स्थानीयवासीले अटोरिक्सा र गाडीलाई पैसा तिरेर पानीको जोहो गर्नुपरेको स्थानीयवासी लिलावती रानाले बताउनुभयो ।

बजार क्षेत्रमा भएका पाइपलाइनका धाराबाट दिन बिराएर खानेपानी भर्नुपर्ने र पानी भर्नकै लागि तीन दिनदेखि पालो कुर्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ थियो । वर्षौदेखि खानेपानीको समस्याले पीडित चौरजहारीवासीलाई अहिलेको स्थानीय सरकारले समेत वास्ता नगरेको स्थानीय वीरबहादुर गिरीको गुनासो थियो । 

चौरजहारी नगरपालिका– १, २ र ३ का करीब १हजार २०० घरधूरीले यो समस्याका कारण हिउँदमा ठूली भेरी नदीको दूषित पानी पिउन बाध्य हुँदै आएका छन् । ती स्थानमा लिफ्टमार्फत ‘एक घर, एक धारा’ वितरण गर्ने भनिए पनि प्रविधिले साथ नदिएकाले लक्ष्यअनुसार काम गर्न नसकिएको नगरपालिकाले जनाएको छ । 

अब यहाँको खानेपानीको दीर्घकालीन समस्या समाधान गर्न रु २१ करोडको लागतमा टेण्डरमार्फत काम अघि बढाइएको नगर प्रमुख विशाल शर्माले बताउनुभयो । खानेपानीको समस्यासँगै सिँचाइको समेत अभाव हुँदा यहाँका खेतीयोग्य उर्वर जमीनसमेत बाँझै छन् । 

salt training

कमेन्ट गर्नुहोस्