
काठमाडौं।सरकारद्वारा गठित उच्चस्तरीय राजनीतिक वार्ता समितिले भूमिगत, अर्धभूमिगत, द्वन्द्वरत र असन्तुष्ट राजनीतिक दल तथा समूहसँग वार्ताको तयारी अघि बढाएको छ । समितिले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलगायत राजनीतिक दल तथा समूहलाई वार्तामा आउन आह्वान गर्न लागेको हो ।
सरकारद्वारा द्वन्द्वरत पक्षसँग वार्ता गर्न गठित उच्चस्तरीय राजनीतिक वार्ता समिति २०७५ ले सोमबार (आज) सार्वजनिक रूपमा द्वन्द्वरत पक्षलाई वार्ताका लागि आह्वान गर्न लागेको हो ।
समितिका संयोजक तथा पूर्वमन्त्री सोमप्रसाद पाण्डेले सोमबार सार्वजनिक रूपमा द्वन्द्वरत पक्षलाई वार्ताका लागि आह्वान गरेर वार्ता प्रक्रिया अघि बढाइने बताए ।
विभिन्न माग राखेर आन्दोलनरत तथा द्वन्द्वरत विभिन्न पक्षलाई वार्ताका लागि औपचारिक रूपमा आह्वान गर्नुअघि समितिले पूर्व शान्ति मन्त्रीहरू, सुरक्षा निकायका उच्च अधिकारीहरू तथा सञ्चारकर्मीलगायतसँग परामर्श गरेको थियो । संयोजक पाण्डेले नेपालले संविधानसभाबाट संविधान बनाई निर्वाचनसमेत सम्पन्न गरिसकेको स्थितिमा अझै पनि केही द्वन्द्वरत समूह बाँकी रहेकाले सबैलाई मूल प्रवाहमा ल्याउन आवश्यक भएकाले वार्ताका लागि आह्वान गर्न लागिएको बताए । राजधानी दैनिकमा खबर छापिएकाे छ ।