
काठमाडौं– सरकारी कोटामा जापान पठाइ दिन्छु भन्दै विभिन्न व्यक्तिलाई ठगी गर्ने पक्राउ परेका छन् । जापानमा सरकारी कोटामा कृषि सम्बन्धी कामको लागि पठाइ दिन्छु भनी ठगी गरेको अभियोगमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१३ बस्ने ३३ वर्षीय सबिन प्रकाश दनुवारलाई प्रहरीले पक्राउ गरेको हो ।
दनुवारले विमान सेक्यूरिटी एण्ड सर्भिस प्रालिको अध्यक्ष र सञ्चालक हुँ भनी प्रतिव्यक्ति ७ लाखदेखि १२ लाखसम्म उठाइ २८ जनाभन्दाबढी व्यक्तिहरूबाट १ करोड ३१ लाख ५० हजार रूपैयाँ ठगी गरेको खुल्न आएपछि प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएको प्रहरी टोलीले दनुवारलाई काठमाडौं बसुन्धराबाट पक्राउ गरेको हो ।
दनुवारलाई थप अनुसन्धानको लागि जिल्ला अदालत काठमाडौंमा सोमबार बुझाइएको छ । सोही मुद्दामा पीडितहरूको उजुरीको आधारमा नुवाकोट दुप्चेश्वर–७ की हाल जोरपाटी चामुण्डा वस्ने ३३ वर्षीया सरिता गुरूङ र उदयपुर त्रियुगा नगरपालिका–९ घर भइ हाल काठमाडौं नेपालटार बस्ने २३ वर्षीय लालमणि दनुवारलाई २०७४ माघ ८ र ९ गते प्रहरीले पक्राउ गरेको थियो ।
अनुसन्धान पश्चात ठगी मुद्दामा काठमाडौं जिल्ला अदालतमा पेश गरिएकोमा अदालतको २०७४ माघ २९ गतेको आदेशले १० लाख धरौटी माग भएकोमा सरिता गुरूङले तिर्न नसकी कारागार चलान भएकी थिइन् र लालमणी दनुवार २०७५ जेठ १५ गते १० लाख धरौटी राखी तारेखमा छुटेका थिए । अभियुक्त सविन प्रकाश दनुवार उक्त मिति देखिनै फरार रहेका थिए ।