काठमाडौं — भारतको गुजरात राज्यको अहमदाबादमा बस्ने अपांगता भएका दम्पतीले आफ्नो छोराविरुद्ध मुद्दा दर्ता गराउँदै आफ्नो भरणपोषणका लागि आर्थिक सहायता मागेका छन् ।
गुजरात राज्य कानूनी सेवा प्राधिकरणको एक परामर्श सत्रका बेलामा ६४ वर्षीय लीलाभाइ र उनकी पत्नीले निवेदन दिँदै छोरो धर्मेशबाट भरणपोषणका लागि आर्थिक सहायताको माग राखेका छन् ।
दम्पतीका अनुसार, लगातार ब्रेनवाश गरिएकाले छोरो साधु भएको छ र परिवारबाट टाढा बस्न थालेको छ । अपांग दम्पतीलाई वृद्धावस्थाका कारण धेरै समस्या भएको छ ।
लीलाभाइ सरकारी कर्मचारीबाट सेवानिवृत्त भएका हुन् र। उनकी पत्नी भीखीबेन उनैसँग बस्छिन् । लीलाभाइले आफ्नो २७ वर्षीय छोरा धर्मेशलाई ३२ लाख रुपैयाँ खर्च गरेर नेसनल इन्स्टिच्युट अफ फर्मासुटिकल एजुकेसन एन्ड रिसर्चबाट मास्टर्स इन फार्मेसीको कोर्स गराएको बताए ।
उक्त कोर्स सकेपछि धर्मेशले एक प्रतिष्ठित कम्पनीमा जागिर पनि पाए ।
तर लगातार ब्रेनवाश भएपछि धर्मेश साधु बने र परिवारबाट टाढिन थाले । उनलाई गृहस्थ जीवनमा फर्काउनका लागि धेरै कोशिश गरिएको भएपनि धर्मेशले मानेनन् ।
परिवारको कुनै अन्य आयस्रोत नभएकाले सबैको भरणपोषणमा समस्या आएको छ । लीलाभाइका अनुसार, ठूलो छोरो धर्मेश जोगी भएपछि सानो छोरो पनि मानसिक स्थिति ठीक नहुनाले जागिर खाएर परिवारको देखरेख गर्न सक्ने स्थितिमा छैन ।
लीलाभाइको निवेदनमा सुनुवाइ गर्दै गुजरात राज्य कानूनी सेवा प्राधिकरणका अधिकारीहरूले मातापिताको भरणपोषणको प्रबन्ध मिलाउनका लागि धर्मेशलाई निर्देशन दिएका छन् ।
अधिकारीहरूका अनुसार, लीलाभाइ धर्मेशको शिक्षामा खर्च गरिएको ३२ लाख रुपैयाँ फिर्ता चाहन्छन् । तर शिक्षामा खर्च गरेको भएपनि मातापिताले छोरोबाट भरणपोषणका लागि पैसाको आश गर्ने अधिकार राख्दैनन् अनि धर्मेश
साधु भएर बसेको धार्मिक संस्थालाई पनि बाध्य बनाउन मिल्दैन भन्ने अधिकारीहरूको तर्क छ ।
एजेन्सी