२२ असार २०८३, सोमबार

मुख्य समाचार : निलम्बित एसपी विष्ट सधैं विवादित, सुत्केरीले एक बर्षसम्म बेतलबी बिदा पाउने

मुख्य समाचार : निलम्बित एसपी विष्ट सधैं विवादित, सुत्केरीले एक बर्षसम्म बेतलबी बिदा पाउने

काठमाडौं– कञ्चनपुरको भीमदत्तनगरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा तत्कालीन प्रहरी अधिकारी र घटनामा संलग्न भनिएका अन्य २ जनाको डीएनए परीक्षण शुरू भएको छ । प्रहरीका अनुसार कञ्चनपुर प्रहरीका तत्कालीन प्रमुख निलम्बित प्रहरी उपरीक्षक (एसपी) डिल्ली विष्ट, उनका छोरा किरण विष्ट र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका दाइ (कांग्रेस नेता भूपेन्द्र विष्ट)का छोरा आयुष विष्टको रगतको नमूना संकलन गरिएको छ । 

कञ्चनपुरमा रहेका एसपीका छोरा किरण र मेयर विष्टका भतिजा आयुषको रगतको नमूना बुधवार महाकाली अञ्चल अस्पतालमा संकलन गरिएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शैलेश थापा क्षेत्रीले जानकारी दिए । यस्तै मेयर विष्टको नमूना बिहीवार काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा संकलन भएको हो । निलम्बित एसपी विष्टको रगतको नमूना त्रिवि शिक्षण अस्पतालको फरेन्सिक डिपार्टमेन्टका प्रमुख डा. हरिहर वस्ती नेतृत्वको टोलीले संकलन गरेको हो । 

निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा शंकास्पद भूमिकामा देखिएका एसपी विष्ट र स्थानीयले संदिग्ध व्यक्ति भनेका एसपी विष्टका छोरा किरण र मेयरका भतिजा आयुषको डीएनए परीक्षण दुईवटा निकायले गर्ने भएका छन् । तीनैजनाको डीएनए परीक्षण प्रहरीको विधिविज्ञान प्रयोगशाला र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले गर्नेछ । 

प्रहरीले तीन जनाको डीएनए परीक्षण रिपोर्ट आउन २ हप्ताको समय लाग्ने बताएको छ । प्रहरीका प्रवक्ता एसएपी शैलेश थापा क्षेत्रीका अनुसार तीन जनाकै रगतको नमूना संकलन गरेर परीक्षण शुरू भएको २ हप्तासम्ममा रिपोर्ट आउन सक्ने छ ।

विष्ट सधैं विवादित 
निलम्बित एसपी डिल्लीराज विष्ट दुई बर्ष दार्चुलामा डीएसपीको रुपमा बसेको रेकर्ड जिल्ला प्रहरी कार्यालयमा छ । विष्ट ०६४ पुस ३० देखि ०६६ मंसीर २८ सम्म दार्चुलामा प्रमुख भएर कार्यालय चलाएका थिए । 
उक्त अवधिमा जिल्ला प्रहरी कार्यालयमै कार्यरत महिला प्रहरीलाई दुव्र्यवहार गरेको आरोप लगाएर स्थानीयले जिप्रका घेराउ र आन्दोलन भए पछि जिल्ला बाहिर तानिएको स्थानीय बताउँछन् । विष्ट जिल्लामा प्रहरी प्रमुख भएको बेला दुहु गाउँपालिका ३ को ब्रहमदेव प्रहरी चौकीमा प्रहरी हिरासतमा एक जनाको मृत्यु भएको थियो । 

‘महिला मामिलामा उनमा कमजोरी थियो’ एक जना स्थानीयले भने, ‘यहाँ बस्दा उनको व्यवहार र कामकारबाही निष्पक्ष नै थियो स्थानीय भएकाले पनि हुन सक्छ ।’, कान्तिपुरमा खबर छ ।

निर्मलाका बाआमाको चित्कारः हामीलाई पनि गोली ठोक सरकार !
कञ्चनपुरकी बालिका निर्मला पन्तका हत्यारा सार्वजनिक गर्न माग गर्दै अधिकारकर्मीको टोलीसहित काठमाडौं आइपुगेका मृतकका बुवा–आमाले रुँदै सरकारसँग न्यायको याचना गरेका छन् । बलात्कारपछि हत्या गरिएकी निर्मलालाई न्याय माग गर्दै कञ्चपुरका केही अधिकारकर्मीसहित काठमाडौं आइपुगेका पन्त दम्पतीले बिहीवार रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा रुँदै न्याय दिलाउन नसके आफूलाई पनि गोली हानेर मार्न सरकारलाई आग्रह गरे । 

पत्रकार सम्मेलनमा भक्कानिँदै मृतक निर्मलाका बुवा यज्ञराज पन्तले छोरीको हत्या भएको घटनाबारे सुनाउँदै भने, ‘सरकार कि हत्यारा सार्वजनिक गर कि हामीलाई पनि गोली हानेर मारी दे !’ छोरीको साइकल भेटिएपछि निर्मलाकी साथीकी दिदी बबिता बमले साइकल भेटिएको भए लास पनि त्यतै होला भनेर भनेको प्रसङ्ग सुनाउँदै गर्दा उनी सम्हालिन सकेनन् । 

यज्ञराजको भक्कानोसँगै पत्रकार सम्मेलनमा उपस्थित सबैका आँखा ओभानो रहेनन् । रुमालले आँशु पुछ्दै उनले थपे, ‘उसलाई कसरी थाहा भयो ? त्यति प्रमाण मिल्दामिल्दै पनि सरकारले उल्टै त्यसलाई संरक्षण गरिरहेको छ । कि हामीलाई न्याय चाहियो कि हामीलाई पनि मारी देऊ ।’  उनले घटनाका सम्बन्धमा प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्तिप्रति समेत असन्तुष्टि व्यक्त गर्दै भने, ‘प्रधानमन्त्री ज्यूले बोल्नुभएको एउटा कुरा पनि सही छैन,’ उनले भने, ‘मलाई न्याय दिलाउनुपर्यो जसरी भएपनि ।’

पत्रकार सम्मेलनमा निर्मलाकी आमा दुर्गादेवी पन्तले आफूलाई जसरी पनि न्याय दिन राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधामन्त्री केपी शर्मा शर्मा ओलीलाई आग्रह गरिन् । न्याय दिन नसक्ने भए ‘हामी सक्दैनौं’ भनेर आफूलाई पनि गोली ठोकिदिन उनको आग्रह छ । निर्मलाका आमाबुवासँगै आएका स्थानीय अधिकारकर्मीले न्याय नपाई कञ्चनपुर नफर्किने बताए ।

स्वास्थ्य क्षेत्र बन्द नगर्न सर्वोच्चको आदेश
सर्वोच्च अदाततले स्वास्थ्य सेवा बन्द हड्तालजस्ता कार्य नगर्न नेपाल चिकित्सक सङ्घको नाममा आदेश जारी गरेको छ । न्यायाधीश दीपकराज जोशीको एकल इजलासले स्वास्थ्य सेवाजस्तो आधारभूत क्षेत्रमा बन्द हडताल नगर्ने सङ्घको नाममा आदेश जारी गरेको हो । 

आदेशमा भनिएको छ, “सङ्घको भदौ २६ गतेदेखि स्वास्थ्य सेवा बन्द गर्ने भनिएको निर्णय अर्को आदेश नभएसम्म तत्काल कार्यान्वयन नगर्ने नगराउनु ।” उपभोक्ता हित संरक्षण मञ्चका तर्फबाट अधिवक्ता विष्णुप्रसाद तिमिल्सनाले स्वास्थ्य क्षेत्रजस्तो आधारभूत क्षेत्रमा बन्द हड्ताल गर्न नहुने भन्दै रिट निवेदन दायर गरेका थिए ।

सुत्केरीले एक बर्षसम्म बेतलबी बिदा पाउने
सुत्केरी महिलाले एक वर्षसम्म बेतलबी बिदा पाउने भएका छन् । संसदको स्वास्थ्य शिक्षा समितिले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको दफावार छलफलपछि प्रसूति बिदा अपुग भए चिकित्सकको सिफारिसमा बढीमा एक वर्षसम्म बेतलबी बिदा पाउने व्यवस्था गरेको हो ।

समितिले सरकारले ल्याएको विधेयक परिमार्जनसहित सर्वसम्मतिबाट अनुमोदन गरी बिहीबारको संसद् बैठकमा प्रतिवेदन पेस गरेको छ । सुत्केरी हुनुअघि वा पछि कम्तीमा अन्ठानब्बे दिनसम्मको तलबसहितको प्रसूति बिदा पाउने अधिकारसमेत विधेयकमा छ ।, कान्तिपुरमा खबर छ ।

साङ्गठनिक एकीकरणको प्रस्ताव तयार गर्ने जिम्मा अध्यक्षद्वयलाई
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले साङ्गठिनक एकीकरणको प्रस्ताव तयार गर्ने जिम्मेवारी अध्यक्षद्वयलाई दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साङ्गठनिक एकीकरणसम्बन्धी प्रस्ताव अब बस्ने सचिवालय बैठकमा पेश गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बुधबार र बिहीबार बसेको सचिवालय बैठक एकीकरणसम्बन्धी विषयमा टुङ्गोमा पुग्न नसकेकाले मापदण्ड बनाउने जिम्मेवारी अध्यक्षद्वयलाई दिएको हो । अध्यक्षद्वयले प्रस्तुत गर्ने प्रस्तावलाई स्थायी समितिको बैठकमा प्रस्तावका रुपमा लैजाने उनले बताए । श्रेष्ठले भने, “अध्यक्षद्वयले सचिवालय बैठकमा प्रस्तुत गर्ने प्रस्तावलाई स्थायी समितिमा पेश गरिनेछ, उक्त प्रस्ताव स्थायी कमिटीले स्वीकृत गरेसँगै साङ्गठनिक एकीकरणको प्रक्रिया अघि बढ्नेछ ।” शुक्रबार बिहान दुई अध्यक्षबीच एकीकरणका विषयमा थप छलफल हुने उनले जानकारी दिए ।

प्रहरी इञ्चार्ज घुससहित पक्राउ
महोत्तरीको इलाका प्रहरी कार्यालय रामगोपालपुरका प्रहरी इञ्चाज रामबाबु यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले रु पाँच हजार घुससहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार रामगोपालपुर इप्रका इञ्चार्ज प्रहरी नायब निरीक्षक रामबाबु यादवलाई बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले पक्राउ गरेको हो । तस्करीका लागि भारतबाट लाइन मिलाइदिने भन्दै सेवाग्राहीसँग घुस लिइरहेकै अवस्थामा यादव रङ्गेहात पक्राउ गरेका हुन् । 

बालबालिका प्रभावित
देशभर गत वर्ष ५८३ वटा घटनामा एक हजार २७३ जना बालबालिका प्रभावित भएका छन् । केन्द्रीय बालकल्याण समितिले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा आर्थिक वर्ष २०७४/७५ मा सञ्चारमाध्यममा आएका घटनाका आधारमा यो तथ्याङ्क सार्वजनिक गरेको हो । 

बालबालिका विरुद्धका यी घटनामा सरकारको ध्यानाकर्षण भएको समितिका अध्यक्ष बबिना श्रेष्ठले जानकारी दिइन् । यी घटना कम गर्दै जान विभिन्न खालका प्रयास हुने समितिले बताएको छ । ‘सुखी नेपाली, समृद्ध नेपालः बालअधिकार सबैको सरोकार’ नाराका साथ शुक्रबार राष्ट्रिय बाल दिवस–२०७५ मनाइँदैछ । 

सीमा विवाद हुनु हुँदैनः प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारतका बीच सिमानामा विवाद हुन नहुने बताउनुभएको छ । नेपाल–भारत अन्तर्राष्ट्रिय सीमासम्बन्धी बैठकलाई बिहीबार सिंहदरबारमा सम्बोधन गर्दै उहाँले सिमानामा देखिएका विवाद समाधान हुनै नसक्ने प्रकारका नभएकाले विवाद गर्न नपर्ने बताउनुभयो ।

“कहीँकतै समस्या देखियो भने दुई पक्षबीचको छलफल, विगतका प्रमाण, विज्ञका सुझाव लिनुहोस्”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “तपाईंहरुले संकलन गरेका सुझाव सरकारलाई बुझाउनुहोस् र सरकारको रायका आधारमा निर्णय गर्नुहोस् ।” नेपाल–भारत सम्बन्ध अहिले नयाँ उचाइबाट अघि बढेकाले त्यही कोणबाट भारतसँग परामर्श गर्नुपर्ने उहाँको भनाइ थियो । “हामी झगडाको पक्षमा होइन, दुई देशको मित्रताको पक्षमा छौँ”– प्रधानमन्त्री ओलीले भन्नुभयो । 

संसदीय छानबिन समिति गठन गर्न माग
प्रतिनिधिसभाको बैठकमा सांसदहरूले बलात्कारका घटना देशभर वृद्धि भइरहेकाले त्यस्ता घटना रोक्न संसदीय छानबिन गर्न माग गरेका छन् । बलात्कार र हत्या हिंसा गर्नेलाई कडाभन्दा कडा कारवाहीको दायरामा ल्याउन उनीहरूले सरकारको ध्यानाकर्षण गराउँदै यसका लागि प्रहरी सङ्गठनभित्र नयाँ शाखा स्थापना गर्न सुझाव दिए ।

सिंहदरबार पश्चिम ढोकामाथि हरियाली छाएको व्यङ्ग्य गर्दै वैदेशिक रोजागारीलाई व्यवस्थित गर्न, निगगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण गर्न जमीन अधिग्रहण कार्य कहाँ पुग्यो ? भन्ने प्रश्न गरे । यसरी आफ्नो भनाइ राख्नेमा सांसद विन्दा पाण्डे, विमला विश्वकर्मा, विरोध खतिवडा, शेरबहादुर तामाङ, सरिताकुमारी गिरी, सरिता गिरी, सीतादेवी यादव, सुजाता कोइराला, सुजाता परियार, सञ्जयकुमार गौतम, ज्ञानकुमारी छन्त्याल, ज्ञानेन्द्रकुमार कार्कीलगायत थिए ।

आर्थिक गणनाको नतिजा : मुलुकभर नौ लाख औद्योगिक प्रतिष्ठान
प्रथम राष्ट्रिय आर्थिक गणना, २०७५ को प्रारम्भिक नतिजाले देशभर कूल नौ लाख २२ हजार ४४५ औद्योगिक प्रतिष्ठान रहेको नयाँ तथ्याङ्क सार्वजनिक भएको छ । केन्द्रीय तथ्याङ्क विभागले गरेको उक्त गणनमा ती प्रतिष्ठानमा ३४ लाख आठ हजार ७४६ जनशक्ति कार्यरत रहेको देखिएको छ ।

यसमध्ये २० लाख ४४ हजार ९८९ पुरुष र १३ लाख ६३ हजार ७५७ महिला छन् । सरदरमा एक उद्योगमा दुई पुरुष र एक महिला कार्यरत छन् । दर्ता भएको व्यावसायिक प्रतिष्ठानलाई गणनामा समावेश गरिएको छ । प्रदेशगतरूपमा प्रदेश नं ३ मा ३० दशमलब ०६ र कर्णाली प्रदेशमा ६ दशमलव शून्य प्रतिशत औद्योगिक प्रतिष्ठान छन् । 

जिल्लातर्फ तराईका जिल्लामा बढी र पहाडी जिल्लामा औद्योगिक प्रतिष्ठान कम छन् । सबैभन्दा धेरै काठमाडौँमा १४ प्रतिशत औद्योगिक प्रतिष्ठान छन् । काठमाडौँ महानगरपालिकामा ८ दशमलब शून्य ६ प्रतिशत यसको वितरण देखिन्छ भने सबभन्दा कम मनाङमा ४८७ प्रतिष्ठान छन् । काठमाडौँपछि झापा, रुपन्देही, मोरङ, सुनसरी, कास्की र चितवनमा तुलनात्मकरूपमा बढी औद्योगिक प्रतिष्ठान छन् ।

गत वैशाख १ गतेदेखि जेठ मसान्तसम्म राष्ट्रव्यापीरूपमा गणना गरिएको थियो । सबै व्यावसायिक क्षेत्र र प्रतिष्ठानका आर्थिक एकाई (वस्तु तथा उत्पादन) को विवरण गणनामा समावेश छ ।

उन्नाइस वर्षमुनिको एकदिवसीय क्रिकेट शृङ्खला
भारतमा जारी उन्नाइस वर्षमुनि (यु–१९)को एकदिवसीय क्रिकेट शृङ्खलाअन्तर्गत नेपाली युवा टोलीले आफ्नो दोस्रो खेल भारत ‘ए’ टोलीसँग खेल्दैछ । भारतीय क्रिकेट बोर्डको निमन्त्रणामा भएको उक्त एकदिवसीय शृङ्खलाअन्गर्ततको आफ्नो दोस्रो खेलमा नेपालले विजय लक्ष्यसाथ भारतको ‘ए’ टोलीसँग भोलि शुक्रबार प्रतिस्पर्धा गर्दैछ । 

खेल भारतको लखनउस्थित एकाना अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । बुधबार भएको पहिलो खेलमा नेपाल भारतको बी टोलीसँग ४० रनले पराजित भएको थियो । आगामी असोज १३ गतेदेखि बङ्गलादेशमा हुने यू–१९ एशिया कपको तयारीका रूपमा उक्त प्रतियोगितालाई हेरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्