१९ असार २०८३, शुक्रबार

‘जनसरकारका प्रधानमन्त्री’ निधि : मरणोेपरान्त राष्ट्र गौरव सम्मान

भदौ ३०, २०७५
‘जनसरकारका प्रधानमन्त्री’ निधि : मरणोेपरान्त राष्ट्र गौरव सम्मान

जनकपुरधाम – महात्मा गान्धीको विचारबाट प्रेरित स्व. महेन्द्रनारायण निधिलाई नेपाल सरकारले ‘राष्ट्र गौरव’ सम्मानबाट सम्मानित गरेको छ । २०७५ साल भदौ १९ गते राष्ट्रपति विद्यादेवी भण्डारीले स्व. निधिलाई मरणोपरान्त विभूषणले सम्मानित गर्दा उनका छोरा नेपाली कांग्रेसका उपसभापति तथा पूर्वउपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले पदक र विभूषण पत्र ग्रहण गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले हस्ताक्षर गरेको विभूषण पत्रमा लेखिएको छ, ‘महेन्द्रनारायण निधि (मरणोपरान्त) राजनीतिज्ञलाई नेपाल राष्ट्र र नेपाली जनताको हित एवं प्रतिष्ठालाई शिखरमा पुर्‍याउनुभएको उल्लेखनीय योगदानको उच्च मूल्यांकन एवं पुनः स्मृति गर्दै सम्मान स्वरूप राष्ट्र गौरवबाट विभूषित गरिएको छ । नेपालको श्रीवृद्धि र गौरव बढाउन उहाँद्वारा भएको सत्य कार्यबाट नेपाली समाजलाई सदैव प्रेरणा प्राप्त हुनेछ ।’

गान्धीवादी दर्शनका प्रचारक निधिको योगदानबारे भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीले समेत जनकपुर आएर उनको स्मरण गरेका थिए । राष्ट्रपतिको हैसियतमा २०७३ कात्तिक १९ गते जनकपुर आउँदा आयोजित नागरिक अभिनन्दन समारोहलाई सम्बोधन गर्दै निधिबारे मुखर्जीले भनेका थिए, ‘म बाल्यकालदेखि जब विद्यालयमा पढ्ने गर्थे । तबदेखि स्व. महेन्द्रनारायण निधिको कार्यक्रमदेखि पूरा अवगत थिएँ । उहाँ मात्र एउटा महान् नेपाली नेता थिएनन्, बल्की आफ्नो जीवन र राजनीतिक दर्शनमा अत्यन्तै निष्ठावान र गान्धीवादी पनि थिए । यस अवसरमा म उहाँलाई गान्धीवादी र गान्धीदर्शनको प्रचारमा उनको महत्त्वपूर्ण योगदानलाई स्मरण गर्दै उहाँको सिद्धीलाई सादर नमन गर्दछु ।’

को हुन् महेन्द्रनारायण निधि ?

धनुषाको नगराइनमा जन्मिएका निधि नेपालको प्रजातान्त्र प्राप्तिमा योगदान पु¥याउने एक महान् प्रजातान्त्रिक योद्धा थिए । महात्मा गान्धीको विचार र क्रान्तिबाट प्रभावित भएका निधि नेपाली कांग्रेसका संस्थापक नेता थिए ।

विक्रम सम्वत् २००३ सालदेखि नेपाल राष्ट्रिय कांग्रेसबाट राजनीतिको शुभारम्भ गरेका निधिले विक्रम सम्वत् २००६ सालमा नेपाली कांग्रेसको सदस्यता लिएका थिए । भारतको बिहारको जयनगरमा सामान्य शिक्षा प्राप्त गरेका निधिले जहानियाँ राणा शासन विरुद्धको जनक्रान्तिमा सक्रिय भूमिका निर्वाह गरेका थिए ।

२००७ सालको क्रान्तिका बेला पार्टीले उनलाई जनकपुर, महोत्तरी र सर्लाही क्षेत्रको ‘जनसरकारको प्रधानमन्त्री’ पदमा नियुक्त गरेको थियो । राणाकालमा स्थानीय युवकलाई संगठित गर्न उनले कीर्तिनिया मण्डली सञ्चालन गरेर गाउँगाउँमा रामलीला तथा भजन कीर्तनका माध्यमले स्थानीय युवकलाई राणा शासन विरुद्धको क्रान्तिमा ओरालेका थिए । 

विक्रम सम्वत् २००८ देखि २०१० सालसम्म तत्कालीन महोत्तरी जिल्ला (जसमा हालको धनुषा, महोत्तरी र सर्लाही ३ वटा जिल्ला सम्मिलित थिए) को कांग्रेस सभापति बनेका थिए ।
२०१० देखि २०१५ सालसम्म पार्टीको संसदीय सचिवको रूपमा काम गरेका निधि २०१५ सालको आमनिर्वाचनमा तत्कालीन महोत्तरी जिल्लाको क्षेत्र नम्बर ४३  बाट प्रतिनिधि सभामा पहिलो पटक निर्वाचित भएर प्रतिनिधि सभामा पुग्न सफल भएका थिए ।

विक्रम सम्वत् २०१५ सालमा पहिलो पटक सम्पन्न भएको जननिर्वाचित संसदमा निर्वाचित भएर गएका निधि उपसभामुख पनि बन्न सफल भएका थिए । तर, २०१७ सालमा राजा महेन्द्रबाट प्रजातन्त्रमाथि प्रतिबन्ध लगाइएपछि निधिले भारतमा ३ वर्षसम्म निर्वासित जीवन बिताउनुपरेको थियो ।

प्रजातान्त्रिक आन्दोलनका क्रममा पटक–पटक गिरफ्तार निधिले करीब १० वर्ष जेल जीवन, ३ वर्ष भारतमा निर्वासित जीवन बिताएका थिए । २०१८ साल, २०२६ साल, २०२९ सालमा उनी जेल परेका थिए ।

अहिंसाका पक्षधर रहेका निधिले सुवर्ण सम्शेर र विश्वेश्वरप्रसाद कोइरालाले गरेको २०१८ र २०३१ सालको सशस्त्र संघर्षको खुलेरै विरोध गरेका थिए । विक्रम सम्वत् २०४६ सालको जनआन्दोलन पनि उनले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । प्रजातन्त्रको पुनस्र्थापनापछि २०४७ बैशाख ६ गते बनेको अन्तरिम सरकारमा उनी मन्त्री बनेका थिए । ११ सदस्यीय अन्तरिम सरकारमा कांग्रेसको तर्फबाट निधिले जलस्रोत र स्थानीय विकास मन्त्रालय सम्हालेका थिए ।

२०४८ सालमा निर्वाचित सरकार बनेपछि फेरि उनी पार्टीको काममा सक्रिय भएका थिए । आन्दोलनपछिको पहिलो संसदीय निर्वाचनमा उनी आफ्नै गृहजिल्ला धनुषाको तत्कालीन निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए ।

त्यसपछि २०५१ सालमा उनी नेपाली कांग्रेसको केन्द्रीय महामन्त्री बन्न सफल भएका थिए । कांग्रेसभित्र नेताले चुनाव नलड्ने सहमति भए अनुसार २०५१ सालको मध्यावधि निर्वाचनदेखि चुनावी राजनीतिबाट अलग्गिएका निधिले समाज सेवा गर्ने उद्देश्यले बृहत्तर जनकपुर क्षेत्र परिषद्को अध्यक्ष बनेर काम गरेका थिए ।

जनकपुरधाम क्षेत्रको धार्मिक, सांस्कृतिक तथा पुरातात्विक महत्त्वका सम्पदाको संरक्षण, सम्बद्र्धन तथा पर्यटकीय महत्त्व बढाउने उद्देश्यले २०५३ सालमा स्थापना गरिएको ‘बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्’को संस्थापक अध्यक्षका रूपमा निधिले काम गरेका थिए । 

आफ्नो जीवनको अन्तिमतिर उनले राजनीतिक जीवनबाट स्वेच्छिक अवकाश लिएका थिए । कांग्रेसभित्र शुरूदेखि नै गुट–उपगुट रहेको भएपनि उनी कुनै पनि गुटमा लागेनन् । कहिले कृष्णप्रसाद भट्टराईको निर्णयप्रति असहमति जनाउने, कहिले गिरिजाप्रसाद कोइरालाको कटु आलोचना गर्ने निधि कुनै गुट वा खेमामा नलागेका कारण पनि निधिलाई कांग्रेसमा गणेशमान सिंह जस्तै ‘सर्वमान्य’ नेताका रूपमा हेर्ने गरिन्थ्यो । 

गिरिजाप्रसाद कोइरालाको विमान अपहरण घटनाको समेत निधिले कांग्रेसमा खुलेरै विरोध गरेका थिए । नेपाली कांग्रेसका नेता प्रदिप गिरीले एउटा लेखमा निधिको एकांकी अडानका बारेमा प्रष्ट लेखेका छन्, ‘निधिले विमान अपहरण काण्डको एकतर्फी विरोध गरेका थिए भने अर्कोतर्फ पार्टीका कार्यकारी सभापति सुवर्णसम्शेरद्वारा प्रतिपादित भक्तिपूर्ण सहयोगको प्रस्ताव पनि स्वीकार्नुभएन ।’

वीपी कोइराला र सुवर्ण सम्शेरको तानातानबीच निधिजस्ता महत्त्वपूर्ण नेताहरू कतै लागेनन् । पार्टी प्रतिको एकनिष्ठ प्रतिबद्धता राख्ने निधिजस्ता नेताका कारण नै अप्ठ्यारा वर्षमा समेत पार्टीलाई छिन्नभिन्न हुनबाट जोगाए । जसको परिणाम स्वरूप २०४८ सालको आम निर्वाचनमा नेपाली कांग्रेस विजयी भयो ।

प्रधानमन्त्री बन्न सकेनन्

२०४७ सालको निर्वाचनमा नेपाली कांग्रेसले विजय प्राप्त गर्‍यो । तर, कृष्णप्रसाद भट्टराई चुनाव हारे । गणेशमान सिंहले चुनाव लडेकै थिएनन् । गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बने । तर, त्यतिबेला गणेशमान सिंहले निधिलाई प्रधानमन्त्री बनाउन चाहेका थिए । निधि प्रधानमन्त्री बन्न सकेनन् । त्यसैको परिणाम स्वरूप कोइराला र सिंहबीच द्वन्द्व चर्केको थियो । तैपनि भट्टराई र निधिले सिंह र कोइरालाबीच द्वन्द्व कम हुन सकेन र सिंहले पार्टी नै छोड्नुपर्‍यो ।

पार्टीमा बिग्रह बढ्दै जाँदा मध्यावधि चुनाव घोषणा भयो । निधि उम्मेदवार बनेनन् । त्यसपछि राजनीतिबाट निष्क्रिय बनेका निधि २०५६ सालको तेस्रो आमनिर्वाचन ताका राजनीतिबाट पूर्णसन्यास लिएको अवस्थामा उनको देहान्त भएको थियो ।

७६ वर्षको उमेरमा २०५६ बैशाख २१ गते हृदयघातका कारण उनको निधन भएको थियो । औपचारिक रूपमा प्राथमिक शिक्षा मात्र प्राप्त गरेका निधिले काराबासलाई नै पाठशालाको रूपमा उपयोग गरेर स्वअध्ययनबाट मातृभाषा मैथिली अतिरिक्त नेपाली, हिन्दी र अंग्रेजीमा समेत पकड बनाउन सफल भएका थिए ।

सूर्य उदय हुनुअघि नै जाग्ने, नित्य कर्म गर्ने, पत्नी प्रेमसागारी देवी र सहयोगी गणेश तिवारीसँग निजी निवास जनकपुरको मिल्स एरियाबाट  जनकपुरको रेल्वे स्टेसनसम्म मर्निङ वाक गर्ने उनको बानी थियो । दैनिक आधा घण्टा योग र आधा घण्टा भगवतीको पूजा गर्ने, दैनिक दुर्गा पाठ गर्ने उनको बानी थियो । विशुद्ध मैथिली खाना बढी मन पराउने निधिलाई दाल सबैभन्दा बढी रुच्ने गथ्र्याे । मिथिला भोजनको परम्परागत परिकार तिलकोरको तरुवा, बरी, करी, पापड सहितको परिकारसँगै माछा मासुसँग रहरीको दाल खान विशेष रुची राख्ने गर्थे उनी । मिथिलाको परम्परागत लोक गीत, लोक संगीतमा उनी बढी रम्ने गर्थे ।

salt training

कमेन्ट गर्नुहोस्