३१ जेठ २०८३, आइतबार

‘निर्मलाका निम्ति न्याय’ माग्दै काठमाडौंमा भव्य प्रदर्शन

‘निर्मलाका निम्ति न्याय’ माग्दै काठमाडौंमा भव्य प्रदर्शन

काठमाडौं – कञ्चनपुरकी बालिका निर्मला पन्तका बलात्कारी–हत्यारालाई कारवाहीको माग गर्दै काठमाडौंमा प्रदर्शन गरिएको छ ।

निर्मलाका निम्ति न्याय नारा दिएर प्रदर्शनका लागि आह्वान गरिएको कार्यक्रममा उल्लेख्य सहभागिता देखिएको छ ।

काठमाडौंमा शनिवार दिउँसो १ बजे माइतीघरमा जनभेला हुन सामाजिक सञ्जालमा आह्वान गरिएको थियो । निर्मला पन्तका बलात्कारी–हत्यारालाई सार्वजनिक गर्न सरकारले नै ढिलासुस्ती गरिरहेको र अपराधी जोगाएको आरोप लागेपछि सर्वसाधारण सडकमा उत्रिएका छन् ।

काठमाडौंमा मात्र नभई शनिवार देशभर प्रदर्शन भइरहेको छ । प्रारम्भिक जानकारी अनुसार देशका विभिन्न २३ ठाउँमा निर्मलाका निम्ति न्याय माग्दै प्रदर्शन गरिएका छन् । प्रदर्शनमा बलात्कारी–हत्यारालाई कारवाही गर्न माग गरिएको छ । प्रदर्शन स्वतन्त्र र स्वस्फूर्त रुपमा भइरहेको छ ।

बालिका निर्मला पन्त हत्या प्रकरणको छानबिनमा प्रहरीले प्रमाण नष्ट गरेको, स्थानीय वासिन्दाको मागलाई लामो समयसम्म सरकारले ध्यान दिएर अपराधी जोगाउने भूमिका खेलेको भन्दै सर्वसाधारण आक्रोशित हुँदै गएका छन् । प्रहरीले निर्दाेष व्यक्तिलाई अपराध कबुल गराउन यातना समेत दिएको थियो ।

कञ्चनपुरको महेन्द्रनगरमा आन्दोलन चर्किएपछि सरकारले तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टलाई निलम्बन गरेको छ भने अन्य प्रहरी अधिकारीलाई फिर्ता गरेको छ ।

उच्चस्तरीय छानबिन समितिले घटनाको अनुसन्धान गरिरहेकै बेला समितिका सदस्य उपसचिव विरेन्द्र केसीले समितिमा बसेर न्याय दिन नसक्ने र शक्तिशाली अपराधीबाट हत्या हुनसक्ने भन्दै राजीनामा दिएपछि घटना थप रहश्यमय बनेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा टेलिभिजन अन्तर्वार्तामा अपराधीलाई पक्षपोषण हुने गरी अभिव्यक्ति दिएर झूटा बोलेको चर्चा समेत सामाजिक सञ्जालमा भइरहेको छ ।

तस्वीर-हिम विष्टको फेसबुकबाट
 

salt training

कमेन्ट गर्नुहोस्