
काठमाडौं — अमेरिकाको ओहायोमा एक बालकका लागि क्रिसमस यो वर्ष छिट्टै आयो ।
दुई वर्षीय बालक ब्रोडी एलनलाई दुर्लभ किसिमको मस्तिष्क क्यान्सर भएको छ र उपचारले छोइरहेको छैन । पाँच हप्ताअघि चिकित्सकहरूले उनको परिवारलाई उनी अब दुई महिना मात्र बाँच्छन् भनेका थिए ।
यस्तो हृदयविदारक समाचार पाएपछि ब्रोडीको परिवारले उनलाई सुखद स्मरणहरू दिलाउने प्रयास गरेको छ । उनीहरूले यस वर्षको क्रिसमस छिट्टै मनाएर बालकलाई अन्तिमचोटि बिदाको आनन्द अनुभव गराउन खोजेको छ ।
बालकका परिवारका सदस्यहरू छिमेकीकहाँ पुगे अनि सामाजिक सञ्जालमा क्रिसमसको मर्म फैलाउन आग्रह गरे ।
बालकका लागि टोल नै अघि आयो र आफ्नो सडकलाई प्रकाश र सजावटले विन्टर वन्डरल्यान्ड बनायो । ब्रोडीले इटालियन रेस्टुराँमा सान्टालाई पनि भेटे ।
परिवारका अनुसार ब्रोडीले संसारका कुनाकुनाबाट कार्ड र उपहार पाएका छन् ।
एजेन्सी