काठमाडौं — अमेरिकी रक्षामन्त्री जिम म्याट्टिसले राष्ट्रपति डोनल्ड ट्रम्पसँग सम्बन्ध खराब भएका कारण उनको पदावधिका कम दिन मात्र रहेको हल्ला निराधार रहेको बुधवार बताएका छन् ।
प्रसिद्ध खोजी पत्रकार बब वूडवर्डको नयाँ किताबमा ट्रम्प र म्याट्टिसबीचको सम्बन्धको चर्चा गरिएको छ ।
पुस्तकमा अन्य दाबीका अलावा वूडवर्डले ट्रम्पका निर्णयहरूमा म्याट्टिसले प्रश्न उठाएको र उनको दिमाग १० वर्षको बच्चाको जस्तो भएको बताए ।
यसैबीच बहालवाला तथा पूवै अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै न्युयोर्क टाइम्सले शनिवार एउटा खबर प्रकाशित गरेर म्याट्टिसको भविष्य अनिश्चित रहेको लेखेको थियो ।
म्याट्टिसले वूडवर्डसँग कुराकानी नगरेको र ट्रम्पलाई बच्चा जस्तो भएको कहिल्यै नभनको प्रस्ट पारे । उनले भने, ‘म यी कुराहरूलाई कहिल्यै पनि गम्भीरतापूर्वक लिन्नँ । कुनै पनि मानिसले हेडलाइन कल्पना गर्न सक्छ । म पद छोड्ने
विषयमा सोचिरहेको छैन, मलाई पेन्टागनमा बस्न मन पर्छ । म यहाँबाटै सेवानिवृत्त हुने सोचमा छु ।’
वूडवर्डको पुस्तकलाई ट्रम्पले मनगढन्ते भनी टिप्पणी गरिसकेका छन् ।
एजेन्सी