
काठमाडौं–निर्मला पन्तको हत्याबारे छानबिन गर्न बनेको समितिले मंगलबार गृहमन्त्रीलाई प्रतिवेदन बुझाएको छ ।
कञ्चनपुरमा गत साउन १० गते बलात्कारपछि हत्या भएकी १३ वर्षीया किशोरी पन्तको हत्याबारे छानबिन गर्न बनेको हरिप्रसाद मैनालीको संयोजकत्वको टोलीले गृहमन्त्री रामबहादुर थापालाई प्रतिवेदन बुझाएको हो ।
यद्यपी प्रतिवेदनमका के उल्लेख छ भन्नेबारे आधिकारिक जानकारी गराइएको छैन । समितिका अधिकारीले गुपचुप रुपमा बुझाएको बुझाएको प्रतिवेदनमा अनुसन्धानमा खटिएको प्रहरीको भूमिका शङ्कास्पद देखिएको उल्लेख गरिएको स्रोतले जनाएको छ ।
गृह मन्त्रालयले भदौ ७ गते मैनालीको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो ।
समितिले यसअघि भदौ ३० गते गृहमन्त्रीसमक्ष प्रारम्भिक प्रतिवेदन बुझाएको थियो । प्रारम्भिक प्रतिवेदनमा प्रहरीको भूमिका कमजोर रहेको भेटिएपछि गृह मन्त्रालयले अनुसन्धानमा खटिएका प्रहरीलाई निलम्बन गरेको थियो ।
समितिले प्रतिवेदनमा घटनाको वस्तुस्थिति, स्थानीयवासीको भनाइ, प्रहरी अनुसन्धानमा भएका कमीकमजोरीलाई समावेश गरेको बताइएको छ ।
प्रतिवेदन बुझ्दै गृहमन्त्री थापाले प्रतिवेदनको कार्यान्वयन गरी दोषीलाई कारवाहीको दायरामा ल्याउने स्पष्ट पारेका छन् ।
मृतकको परिवारलाई रु २१ लाख क्षतिपूर्ति
नुवाकोटको ककनी गाउँपालिका–१ कागती गाउँमा टिपरको ठक्करबाट मृत्यु भएकाको परिवारलाई रु २१ लाख क्षतिपूर्ति दिने सहमति भएपछि तीनपीप्ले–सिसडोल सडक खुलेको छ ।
सोमबार साँझ वा ३ ख ३७३० नम्बरको टिपरको ठक्करबाट कागतीगाउँका ६० वर्षीय शेरबहादुर बलामीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए ।
स्थानीयवासीले उचित क्षतिपूर्तिको माग गर्दै सडक अवरोध गरेकामा टिपरधनीले दिने क्षतिपूर्ति रकममा सहमति भएपछि सडक खुलेको ककनी– १ का वडाध्यक्ष चन्द्रबहादुर बलामीले बताए ।
सडक खुलाउने क्रममा स्थानीयवासी र प्रहरीबीच झडप हुँदा भीडलाई तितरवितर बनाउन प्रहरीले तीन राउण्ड हवाई फायरसमेत गरेको वडाध्यक्ष बलामीले जानकारी दिए ।
प्रकाण्ड रिहा
काठमाडौं –नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ सर्वोच्च अदालतको आदेशमा रिहा भएका छन् ।
जिल्ला प्रहरी कार्यालय उदयपुरको हिरासतमा रहेका प्रकाण्डलाई बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले मंगलबार रिहा गर्न आदेश दिएको हो ।
सर्वोच्च अदालतका न्यायाधीश अनिल सिन्हा र टंक मोक्तानको इजलाशले प्रकाण्डलाई रिहा गर्न आदेश दिएको जनाइएको छ ।
राजस्व संकलनमा उल्लेख्य वृद्धि
चालू आर्थिक वर्षको शुरूवातमा राजस्व संकलन ह्वात्तै बढेको छ । आर्थिक वर्ष २०७५–०७६ को पहिलो २ महिनामा राजस्व संकलनमा २३ प्रतिशतले वृद्धि भएको देखिएको छ ।
महालेखा नियन्त्रकको कार्यालयका अनुसार चालू आर्थिक वर्षको २ महिना ६ दिनको अवधिमा १ खर्ब २८ अर्ब २३ करोड ४२ लाख राजस्व संकलन भएको छ । जसमध्ये संघीय सरकारको राजस्व संकलन ७६ अर्ब ५९ करोड ६० लाख पुगेको छ भने प्रादेशिक सरकारले ५१ अर्ब ६३ करोड ४२ लाख राजस्व संकलन गरेको छ ।
साउन र भदौको अवधिमा मात्रै १ खर्ब १९ अर्ब २५ करोड ६२ लाख ९५ हजार राजस्व संकलन भएको महालेखा नियन्त्रकको कार्यालयले जानकारी दिएको छ ।
गत आर्थिक वर्षको साउन र भदौमा ९१ अर्ब ९९ करोड २६ लाख ६५ हजार राजस्व संकलन भएकोमा चालू आर्थिक वर्षको पहिलो २ महिनामा १ खर्ब १९ अर्ब २५ करोड ६२ लाख ९५ हजार राजस्व संकलन भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।
पहिलो २ महिनाको मात्रै तुलना गर्दा गत आर्थिक वर्ष २ महिनाको तुलनामा २७ अर्ब २६ करोड ३६ लाख २९ हजार बढी राजस्व संकलन भएको देखिन्छ ।
स्थायी राजधानी गोदावरी बनाउन सुझाव
प्रदेश नं ७ को स्थायी राजधानी रहने स्थान र नामाङ्कनका लागि प्रदेशसभामा गठित विशेष सुझाव समितिले प्रदेशको स्थायी राजधानी कैलालीको गोदावरी नगरपालिका, तेघरी र प्रदेशको नाम ‘सुदूरपश्चिम प्रदेश’ राख्न उपयुक्त हुने सुझाव दिएको छ ।
सोहश्राद्ध शुरु
प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु हुने सोह्रश्राद्ध अर्थात पितृ पक्ष शुरु भएको छ ।
पितृ पक्षको पहिलो दिन मंगलबार प्रतिपदा तिथि श्राद्ध गरियो । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्र तिथिमा दिवंगत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो । चाडपर्व यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुअघि पितृलाई श्रद्धाभक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्परानुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । यस समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ ।
तेजाब छर्किएकी महिला गम्भीर
तेजाब छर्किएर धारिलो हतियार प्रहारबाट गम्भीर घाइते एक युवतीको भरतपुर अस्पतालमा शल्यक्रिया गरिएको छ । कावासोती नगरपालिका–१६ डण्डा बजारकी २७ वर्षीया वसन्ती परियारलाई छिमेकी युवकले सोमबार साँझ तेजाब छर्किएर धारितो हतियार प्रहार गरेका थिए । अस्पतालका वरिष्ठ सर्जन डा सुरेश प्रधानका अनुसार राति चार घण्टा लगाएर परियारको शल्यक्रिया गरिएको हो ।
प्रधानका अनुसार परियारको पेटमा हतियारले काटेर आन्द्रा बाहिर निस्किएको थियो । छातीमा करङ छेडिएको थियो । दुवैतिरको गाला र टाउकोमा गम्भीर चोट लागेको छ । चिकित्सक समूहले पेट, छाती, दुवै गाला र टाउकोमा शल्यक्रिया गरेको छ । परियारको अनुहार घाँटी, छाती र दुवै हातमा तेजाबले पोलेको छ । प्रधानका अनुसार एउटा आँखामा गम्भीर असर देखिन्छ भने अर्को सामान्य अवस्थामा छ ।
भेटवार्ता
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मंगलबार संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भारतीय समकक्षी सुषमा स्वराजसँग भेटवार्ता गरे ।
संयुक्त राष्ट्रसङ्घको महासभाको ७३औँ अधिवेशनमा भाग लिन दुवै मुलुकका परराष्ट्रमन्त्री यहाँ आइपुगेका हुन् । उक्त अवसरमा दुईपक्षीय हित तथा चासोका विषयमा छलफल भएको थियो । छलफलमा यसअघि दुवै मुलुकबीच भएका सम्झौताअनुसार सञ्चालन भएका विकास परियोजनालाई थप गति दिने सहमति भएको परराष्ट्र सचिव शङ्करदास वैगागीले जानकारी दिए ।
यसैबीच महासभामा भाग लिन आइपुगेका प्रधानमन्त्री केपी शर्मा ओली पनि विभिन्न भेटवार्तामा सक्रिय भएका छन् ।
शेखको कप्तानीमा टोलीको घोषणा
यू–१९ एशिया कप क्रिकेटका लागि १५ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको मङ्गलबार घोषणा गरिएको छ ।
बङ्गलादेशमा यही असोज १२ देखि असोज २१ गतेसम्म हुने उक्त प्रतियोगिताका लागि मोहमद आरिफ शेखको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरिएको राष्ट्रिय टोलीका व्यवस्थापक रमन सिवाकोटीले जानकारी दिए ।
टोलीमा कमलसिंह ऐरी (उपकप्तान), रोहितकुमार पौडेल, रवी साह, नन्दन यादव, रित गौतम, पवन सर्राफ, रवीन्द्रजङ्ग शाही, रशिद खान, भीम सार्की, अरुण ऐरी, तीर्थराज दास, सन्दीप जोरा, सागर ढकाल र सूर्य तामाङ रहेका छन् । टोलीको व्यवस्थापकमा शक्ति गौचन, मुख्य प्रशिक्षकमा विनोद दास तथा सहायक प्रशिक्षकमा मनोज कटुवाल रहेका छन् । नेपाली टोली बिहीबार ढाका प्रस्थान गर्नेछ ।
साफ च्याम्पियनसिपको खेलतालिका सार्वजनिक
दक्षिण एशियाली फुटबल महासङ्घको आयोजनामा भूटानमा हुने साफ १८ वर्षमुनि (यू–१८) महिला च्याम्पियनसिपको खेलतालिका सार्वजनिक भएको छ ।
यही असोज १२ गतेदेखि हुने उक्त च्याम्पियनसिपमा दक्षिण एशियाका विभिन्न ६ राष्ट्रको सहभागिता रहनेछ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । प्रतियोगितामा श्रीलङ्का भने सहभागी छैन ।
नेपाल भने समूह ‘बी’ मा परेको छ । नेपालको समूहमा बङ्गलादेश र पाकिस्तान छन् । त्यस्तै समूह ‘ए’मा आयोजक भूटानसहित, भारत र माल्दिभ्स छन् । नेपालले यही असोज १२ गते बङ्गलादेशसँग खेल्दै प्रतियोगिताको उद्घाटन गर्नेछ । त्यसैगरी नेपालले आफनो दोस्रो खेल १६ गते पाकिस्तानसँग खेल्नेछ । दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् ।
चीनद्वारा कडा विरोध
ताइवानलाई हतियार आपूर्ति गर्ने अमेरिकी सहमतिप्रति चीनले कडा असन्तुष्टि जनाएको छ ।
अमेरिकाले ताइवानलाई तीन अर्ब ३० करोड अमेरिकी डलर बराबरको हतियार आपूर्ति गर्ने सहमतिको चीनले कडा विरोध गरेको हो । चीनले अमेरिकी कदमप्रति वासिङ्टनको भद्र ध्यानाकर्षण गराएको छ ।
राष्ट्रसङ्घको ताइवानलाई हतियार बेच्ने सहमतिले अन्तर्राष्ट्रिय कानून र सम्बन्धबारे आधारभूत सिद्धान्तलाई व्यापक उल्लङ्घन गरेको छ, चीनको विदेशमन्त्रालयले मङ्गलबार जनाएको छ ।
अमेरिका र ताइवानबीच हतियारसम्बन्धमा भएको सहमतिले चीन–अमेरिकाबीच भएका तीनवटा संयुक्त वक्तव्यको विरुद्धमा छ, विदेशमन्त्रालयका प्रवक्ता गेङ सुवाङले सञ्चारकर्मीसँगको नियमित भेटका क्रममा बताए ।
यो एक चीन नीति चीनको सार्वभौम अधिकार र सुरक्षा चासोको बिषयसमेत रहेको प्रवक्ता गेङले बताए ।