
काठमाडौं । खारेज भइसकेको सिन्डिकेटलाई पुनः ब्युँताएर लज्जास्पद काम गरेको भन्दै सांसदहरूले त्यसप्रति गम्भीर चासो व्यक्त गरेका छन् । कागजमा यातायात एकाधिकार तोडिए पनि व्यवहारमा एकाधिकारको पक्षमा थप मलजल पुग्ने काम गरेको भन्दै संघीय संसद्को विकास तथा प्रविधि समितिका सदस्यहरूले सरकारको चर्काे आलोचना गरेका हुन् ।
सांसद गौरीशंकर चौधरीले पाँच महिनाअघि नै अन्त्य भयो भनिएको यातायात एकाधिकारको वास्तविक रूप दसैंको अग्रिम टिकट बुकिङका बेला छर्लंग भएको टिप्पणी गरे ।
अर्का सांसद यज्ञराज सुनुवारले यातायात व्यवसायीले दसैंको अग्रिम टिकट खुला गर्ने विषयलाई एकाधिकारको लेनदेनका रूपमा प्रयोग गरेको आरोप लगाए ।
यसले आमजनतालाई दुःख दिएकाले यो व्यवस्था तत्काल हट्नुपर्ने उनको भनाइ छ ।
समितिका सभापतिसमेत रहेकी सांसद कल्याणी खड्काले कागजमा हटेको यातायात एकाधिकारले व्यवहारमा झनै दुःख दिएको बताइन् । यस्तो गम्भीर विषयमा सरकारले आफैं पछि पर्नेगरी निर्णय लिएकाले सम्बद्ध पक्षलाई बोलाएर छलफल गर्ने निर्णय उनले सुनाइन् । राजधानी दैनिकमा खबर छापिएकाे छ ।