
काठमाडौं– गएको ३ जेठ काठमाडौंको राष्ट्रिय सभागृहमा एमालेसँग पार्टी एकीकरण गर्ने क्रममा तत्कालीन माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भनेका थिए– ‘हाइड्रोजन र अक्सिजन मिलेर पानी बन्यौं, अब छुट्याउन मिल्दैन, अब अर्कै कम्पोनेन्ट बनेका छौं । विभाजनको पीडा बोकेर आएको कम्युनिस्ट आन्दोलनले आज छलाङ मारेको छ ।’
पार्टी एकीकरण समारोहमा प्रधानमन्त्री एवं तत्कालीन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भनेका थिए– ‘हामी मिसिएको होइन, अन्तरघुलन भएका छौं, हिन्द महासागरमा गएर कहाँको पानी भनेर छुट्याउन सकिन्छ र ?’
एकीकरणले हौसिएका ओलीले थपे– ‘अघिसम्म हामीले एमाले, माओवादी भन्यौँ, अघिसम्म प्रचण्ड अर्को पार्टीको नेता, मैले भनेँ तपाईंको माओवादी केन्द्र सिद्धियो, प्रचण्डले भन्नुभयो तपाईंको एमाले पनि सिद्धियो । मैले त्यही जवाफ सुन्नका लागि भनेको थिएँ ।’
प्रमुख सत्तारुढ नेकपाका क्याप्टेनद्वयले एकता र अन्तरघुलन भएको दाबी गरेपनि प्रदेशको इन्चार्ज र अध्यक्षको टुंगो लगाउन चार महिना समय लाग्यो । चार महिना लगाएर प्रदेश इन्चार्जको टुंगो लागेपनि त्यसले नेकपामा प्रचण्डले दाबी गरेजस्तो ‘हाइड्रोजन र अक्सिजन’ मिलेको छैन, बरु नयाँ खटपट र उकुसमुकुश शुरु भएको छ । प्रदेश कमिटिको नेतृत्व दावी गरेका कयौं नेताहरुले जिम्मेवारी पाएनन् भने, पाएका पनि सन्तुष्ट छैनन् ।
प्रदेश इन्चार्ज र अध्यक्ष तोक्दा सन्तुलन नमिलाइएको प्रति नेकपामा बरिष्ठ नेता माधवकुमार नेपाल लगायतको समूह असन्तुष्ट छ । ‘पार्टी भित्र अधिनायकवादको अभ्यास हुँदैछ, तर बोल्ने अबस्था छैन’ नेकपाका एक असन्तुष्ट नेता भन्छन् । पार्टी एकता विरोधीको भिल्ला लाग्ने भयले उनीहरु बोल्न मान्दैनन् ।
बढ्दो असन्तुष्टी
पार्टी एकताका लागि शुरुमा अध्यक्ष केपी ओलीलाई पूरै समर्थन गरेका बरिष्ठ नेता नेपाल पछिल्लो दिनमा असन्तुष्ट देखिएका छन् । कतिपयले आगामी महाधिवेशनमा अध्यक्ष बनाउने ओलीको आश्वासनका कारण नेता नेपाल ओलीसँग लोली मिलाउन पुगेको बताउँने गरेका थिए । तर नेकपाको अध्यक्षपछिको वरियतामा रहेका नेपालसँग नै पार्टीका महत्वपूर्ण विषयमा छलफल हुन छोडेपछि उनी पनि आफ्नो पुरानो गुटलाई फेरि विस्तार गर्ने तर्फ लागेका छन् ।
पार्टी एकता प्रकृया र त्यसपछि ओलीप्रति नेपाल यति लचक बनेका थिए कि नेपाल निकटस्तहरुले आफ्नो समूहको अभिभावक नै नभएको गुनासो गरेका थिए । त्यसपछि उक्त समूहका कतिपय झलनाथ समूह या अन्य नेतालाई अगाडि सारेर पार्टीभित्र दुईलाइन संघर्षको तयारी गरेका थिए ।
तर पार्टी भित्र ओली समूहको एकाधिकार र सरकार संचालनको कार्यशैलीबारे नेपाल समूह खुलेर बोल्न थालेका छन् । मन्त्रीका कामबाट रुष्ट नेपालले सरकारको विषयमा संसदमै बोल्ने बताएका थिए । काठमाडौं बौद्ध सडक अनुगमनका लागि मन्त्रीलाई लिएर निस्केका नेताले काम नभएपछि सरकारप्रति असन्तुष्ट देखिएका नेता नेपालले संसदमै आफ्नो कुरा राख्ने बताएका थिए ।
संसदीय समितिको सभापति लगायत अन्य राजनीतिक नियुक्तिमा पनि आफ्नो समूहलाई वाइपास गर्न खोजिएको नेपाल समूहको दावी छ । झलनाथ खनालले त आफूलाई पार्टी एकता देखिनै बाइपास गर्न खोजिएको भन्दै असन्तुष्टि जनाइरहेका छन् ।
प्रदेश इन्चार्ज नियुक्तिको विधी र शैलीमा असन्तुष्टि
नौ सदस्सीय सचिवालयमा फरक मत राख्ने दुईजना नेता माधव नेपाल र नारायणकाजी मुलुक बाहिर रहेको समयमा इन्चार्ज र अध्यक्षको नियुक्ती गरिएको थियो । नियुक्ति गरिएका व्यक्ति मात्र होइन शैलीप्रति पनि नेपाल समूहको असन्तुष्टि छ । नेता नेपाल मंगलवार मात्र स्वदेश फर्केका छन्, र प्रधानन्त्री एवं नेकपा अध्यक्ष ओली स्वदेश फर्केपछि कुरा गर्ने उनीहरुको तयारी छ ।
‘नेकपाको विधान अनुसार सचिवालले निर्णय गर्न सक्दैन, स्थायी कमिटिमा प्रस्ताव लगेर केन्द्रीय समितिमा लगेपछि मात्र निर्णय गर्ने विधानको व्यबस्था मिचिएको छ’ असन्तुष्ट समूहका एक नेताले लोकान्तरसँग भने, ‘केन्द्रीय समितिबाट निर्णय भएपछि मात्र सचिवालले अन्तर पार्टी सर्कुलर पठाउनेमा व्यक्तिहरु हावी भए । पार्टी भित्रको लोकतन्त्र मर्र्यो, कमिटी प्रणाली अन्त्य गरेर अमुक नेताले पार्टीलाई कब्जा गरे ।’
केही नेतालाई दोहोरो जिम्मेवारी दिइएको र केहीलाई भूमिकाबिहीन बनाइएकोमा नेकपामा असन्तुष्टि चुलिएको छ । दुई पार्टी एकीकरण भएएर ४ सय ४१ सदस्सीय केन्द्रीय समिति बनेको छ । तर केन्द्रीय समितिको बैठक बस्न सकेको छैन ।
प्रदेश ४ मा पृथ्वी सुब्बा मुख्यमन्त्री छन्, पार्टी इन्चार्ज पनि उनैलाई दिइएको छ । प्रदेश ४ मा गोविन्द नेपालीलाई प्रदेशको सचिव बनाइएको छ, उनी मुख्यमन्त्रीको प्रमुख सल्लाहकारको पदमा छन् ।
प्रदेश २ मा सत्यनारायण मण्डल इन्चार्ज बनेका छन् । विगतमा एमालेको प्रदेश कमिटी इन्चार्ज रहेको समयमा पार्टीको अन्तरविरोध मिलाउन नसकेको भनेर आलोचित उनैलाई इन्चार्ज बनाइएकोमा असन्तुष्टि देखिएको छ ।
प्रदेश ५ मा पनि मुख्यमन्त्री शंकर पोखरेललाई नै जिम्मेवारी दिइएको छ । तर प्रदेश ६ को इन्चार्ज बनेर काम गरेका युवाराज ज्ञवाली बेरोजगार बनाइएका छन् । यस्तै कुराले नेकपाभित्र विबादको भूमरी बढ्दैछ ।
‘दुईवटा अध्यक्षको स्वेच्छाचारीको शिकारमा पार्टी प्यारालाइसिस भएजस्तो भएको छ’ नेपाल समूहका ती नेता भन्छन् । पार्टी नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै प्रवक्ता तोकिएका नारायणकाजी श्रेष्ठले प्रवक्ताको जिम्मेवारी अस्वीकार गरेको घोषणा गरेका थिए ।
‘पार्टी सुतेको छ, टाउको मात्र चलेको छ, गतिशिल हुन हात गोडा चल्नु पर्यो नि !’ अर्का एक नेता भन्छन् । ‘पार्टी आइसीयुमा राखेको बिरामी जस्तो भएको छ ।’
पार्टीका कमिटी नचल्दा स्थानीय सरकार मनोमानी ढंगले चलिरहेको नेताहरु बताउँछन् । ‘स्थानीय तहले कसरी काम गरेका छन् भन्नेवारे पार्टी बेखवर जस्तो छ, न सुझाव छ न मूल्याकन’ एक सांसद भन्छन् । ‘पार्टीप्रति जनतामा असन्तुन्टि छ, जनताबाट सकारात्मक उर्जा आए पो स्थानीय तहले काम गर्न सक्छन् ।’
पार्टी एकीकरणको समयमा प्रचण्डले यो पनि भनेका थिए, ‘विश्वमा ठूला क्रान्ति गरेका नेता पनि सत्तामा यति भ्रष्ट भए कि जनताले समातेर पिटीपिटी मार्नुपर्ने नेतामा परिणत भए, हामी संकल्प गरौँ, निरन्तर जनताको पक्षमा समर्पित हुने, जनतासँग नङ र मासुको सम्बन्ध भएको जस्तो ।’
पार्टी एकताको समयमा ओलीले पार्टीको सामूहिक नेतृत्वप्रति कतिपयले प्रश्न उठाएको भन्दै यसलाई जेट (विमान)सँग तुलना गरेका थिए । ‘कतिपयले भन्या छन्, दुईजना अध्यक्ष बनाएर के र्गया होला ?’ ओलीले भने, ‘टोम्पो चलाको हो र एकजना हुन ? जेटमा त दुईजना पाइलट हुन्छन् । टेम्पोजस्तो होइन, जेटमा दुईवटा क्याप्टेन हुन्छन् हामी ड्राइभर भए पनि गाडी चल्ने चक्काले हो ।’
नेकपा भित्र झांगिदै गरेको विबादको बिषयमा बुझ्न खोज्दा नेकपाका एक नेताले सोभियत संघ बिघठनको प्रसंगबाट कुरा टुंगाए । ‘त्यति बलियो सोभियत संग किन विघठन भयो ? विचार र बिधी भन्दापनि व्यक्ति हावी हुँदा । अनि संसारका शक्तिशाली बलिया पार्टी किन इतिहास भए ?’ उनले भने, ‘ताजा उदाहरण त माओवादीको पतनलाई हेर्न सकिन्छ, ०६४ सालमा कांग्रेस र एमाले जोड्दा पनि अग्लो माओवादीको के हाल भयो ?’
भुसको आगोमा नेकपा
सरकार, प्रदेश, स्थानीय तहमा गरेर नेकपा दुई तिहाइको अवस्थामा रहेको छ । देशमा स्थिर सरकार नभएका कारण देशमा विकास गर्न नसकिएको भन्दै पन्छदै आएका नेताहरु हरेक संरचनामा दुई तिहाइको अवस्थामा पनि कुनै देखिने काम नभएको भन्दै सन्तुष्ट हुन सकेका छैनन् । जनताले प्रत्यक्ष अनुभव गर्ने गरि कुनै काम हुन नसकेको भन्दै आम नेता कार्यकर्ता ओली सरकारप्रति नै आफ्ना भइहरु सार्वजनिक गर्न लागेका छन् ।
प्रधानमन्त्री केपी ओलीले प्रतिक्रियावादीहरुले सरकारमाथि आक्रमण गरेको भन्दै आफ्ना कार्यकर्तालाई ‘अरिंगाल’ जस्तै सरकार विरोधी विरुद्ध उत्रन आह्ननै गर्दा पनि नेकपाका कार्यकताहरु सुस्त रहे बरु उल्टै सरकारका काम कारवाही विरुद्ध उत्रिए ।
दुई पार्टीबीचको एकतापछि दुई अध्यक्ष र ९ सदस्यमा मात्र पार्टी केन्द्रीत हुँदा तल्ला कमिटीहरुमा सन्नाटा छाएको छ । जसका कारण कार्यकर्तामा उर्जा उत्पन्न हुन सकेको छैन भने आफ्ना पक्षधरलाई जिम्मेवारी दिन थालिएपछि नेकपाका नेताहरुबीच असन्तुष्टिको भुसको आगो नै सल्किएको छ । यसको समयमै सम्बोधन गर्न नसके नेकपा चाडैं खरानी हुन समय नलाग्ने नेकपाका एक केन्द्रीय नेताले बताए ।
जनवर्गीय संगठनहरुको एकताका लागि बनेका अधिकांश कार्यदलहरुे समयमा प्रतिवेदन बुझाउन सकेनन् र समितहरु भंग नै गर्नुपर्ने अवस्था आयो । जसका कारण तल्ला कमिटीका क्रियाशिल नेताहरु पनि पद नपाइने र जिम्मेवारी केही पनि नभएका कारण पार्टी अध्यक्षले भने जस्तो विरोधीका विरुद्ध एकतावद्ध भएका छैनन् बरु उनीहरु सरकारका सुस्त काम कारवाहीका कारण रक्षात्मक अवस्थामा पुगेका छन् ।