
बुटवल – शनिवार बिहान नवलपुरको कावासोतीमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
बिहान साढे २ बजे कावासोताी–१६ डण्डामा ट्रकले बसलाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ भने ३२ जना घाईते भएका छन् ।
नेपालगञ्जबाट काठमाडौंका लागि छुटेको ना७ख ५६२९ नम्बरको बसलाई विपरीत दिशाबाट गएको ना६ख ७७१९ नम्बरको ट्रकले ठक्कर दिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए ।
दुर्घटनामा परी बस चालक बाँके कोहलपुर नगरपालिका–४ बस्ने २३ वर्षका सुरज विक र कपिलवस्तु बाणगंगा गाउँपालिका–२ बस्ने २४ वर्षका लक्ष्मी थारुको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये ११ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
घाइते भएकामध्ये ११ जनालाई उपचारका लागि चितवनको भरतपुर पठाइएको छ भने ५ जनाको मध्यबिन्दु सामुदायिक अस्पताल डण्डा र १६ जनाको कालिगण्डकी अस्पताल कावासोतीमा उपचार भइरहेको छ । अहिले सवारी एकतर्फी रुपमा सञ्चालन भइरहेको छ ।