१३ असार २०८३, शनिबार

विद्यार्थी नेता हुँदा पूर्वमन्त्री बालकृष्ण खाँणलाई हराएका ‘अब्बल’ हेडसर

असोज १३, २०७५
विद्यार्थी नेता हुँदा पूर्वमन्त्री बालकृष्ण खाँणलाई हराएका ‘अब्बल’ हेडसर

बुटवल– बुटवल उपमहानगरपालिका–१० मा रहेको कालिका मानवज्ञान मावि ५ नम्बर प्रदेशकै धेरै विद्यार्थी पढ्ने सामुदायिक विद्यालय हो । यहाँ ५ हजार ८ सय ११ जना विद्यार्थी अध्ययनरत छन् ।

कालिका मानवज्ञानमा प्रत्येक वर्ष संस्थागत छाडेर भर्नाका लागि मात्रै झण्डै २ हजारभन्दा बढी विद्यार्थीको तछाडमछाड गर्छन् । संस्थागत विद्यालयको शिक्षाले आकर्षित गरेका अभिभावकलाई सरकारी विद्यालयमा तान्नु भनेको निकै कठिन काम हो ।

महंगो शुल्क लिने विद्यालय आसपासका बुटवलका संस्थागत स्कूलमा भन्दा राम्रो गुणस्तरको शिक्षा निःशुल्क पाइने भएपछि विद्यालयमा विद्यार्थीको चाप साविक कालिका (हाल कालिका मानवज्ञान) माविमा परेको हो । २०३७ सालमा कालिकाबाटै एसएलसी उत्तीर्ण गरेका घनश्याम पाठक कालिकाका प्रधानाध्यापक हुन् । उनले २०६५ सालदेखि विद्यालयको नेतृत्व सम्हालेका हुन् ।

विद्यालयमा पाठक प्रधानाध्यापक भएपछि शैक्षिक उन्नतिमा फड्को मार्न थालेको हो । विद्यालय २०७१ सालदेखि एसएलसीमा परीक्षामा लगातार सबैभन्दा बढी विद्यार्थी उत्तीर्ण गराई उत्तीर्ण गराई सामुदायिक विद्यालयतर्फ नेपालकै उत्कृष्ट विद्यालय बन्दै आएको छ । ५ वर्षसम्म १५ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन  नसकेर कारवाहीमा परेको विद्यालय पाठकले नेतृत्व सम्हालेपछि सरकारले अहिले विद्यालयलाई नमूना विद्यालयका रूपमा घोषणा गरेको छ ।

सरकारी विद्यालयको राष्ट्रिय नतिजा ३२ प्रतिशत रहेका कालिकालाई लगातार ९२ प्रतिशत भन्दा बढी विद्यार्थी उत्तीर्ण गराएर नमूना विद्यालय बनाउने जस पाठकलाई जान्छ ।

को हुन् कालिका मानवज्ञानका प्रअ पाठक ?

२०१७ साउन ६ गते बाग्लुङको गलकोट–९ चरौदीमा जन्मिएका पाठकले २०३५ सालमा कालिका माविबाटै एसएलसी द्वितीय श्रेणीमा उत्तीर्ण गरे । त्यसपछि १ वर्ष बाग्लुङ गलकोटकै जनहित निम्न माविमा अध्यापन गरे । त्यसपछि २०३७ सालमा बुटवल बहुमुखी क्याम्पसमा एजुकेसनमा भर्ना भए । क्याम्पस अध्ययन गर्दा उनी अखिलको तर्फबाट सभापतिको उम्मेदवार बने ।

नेविसंघको तर्फबाट हालका कांग्रेसका नेता तथा पूर्वमन्त्री बालकृष्ण खाँणलाई उनले भारी मतले पराजित गरे । त्यसपछि बीए पढ्न उनी २०४० सालमा पृथ्वीनारायण क्याम्पस पोखरा गए । बीए तर्फको अध्ययन पोखराबाट पूरा गरेपछि २०४५ मा उनी त्रिभुवन विश्वविद्यालय काठमाडौंमा अर्थशास्त्र र जोग्राफीमा प्रथम श्रेणीमा उत्तीर्ण गरे ।

अध्ययन पूरा गरेपछि पाठक पुन बाग्लुङ नै फर्केर २०४७ देखि ०५५ बाग्लुङ गलकोटकै पृथ्वी माविमा प्रधानाध्यापक भएर नेतृत्व सम्हाले । उनी प्रअ भएपछि पृथ्वी माविमा कमजोर नतिजा सुधारिँदै गयो । ५ वर्षको अन्तरालमा विद्यालय जिल्लाकै उत्कृष्ट विद्यालय बन्यो । 

त्यसपछि सरूवा भएर उनी २०५५ सालमा कालिका मावि बुटवल झरे । कालिकामा उनी सहायक अध्यापक भएर आएका थिए । उनी विद्यालय आउँदा विद्यालय ५ पटकसम्म कारवाहीमा परेको थियो । उनी कालिकामा आएपछि विद्यालयलाई अब यस्तै अवस्थामा राख्न हुँदैन भने मनमा अठोट लिए । नतिजा सुधार्नुपर्छ भनेर सबै शिक्षक कर्मचारीहरूसँग सधैं घोतलिन्थे ।

उनी कालिकामा आउँदा प्रअ थिए पाठकलाई नै पढाएका कौषलराज बस्याल । बस्याल सेवानिवृत्त भएपछि पाठक प्रअ भए २०६५ सालमा । कालिकाको नेतृत्व सम्हालेपछि पाठकले अठोट गरे कालिकालाई अब फेलरहित विद्यालय बनाउँछु । त्योसँगै उनले आफूले पढेको डेक्स बेन्च र भवन होइन । नयाँ व्यवस्थापन र भौतिक पूर्वाधार हुनुपर्छ भनेर पनि जुटे ।

उनी सधै विद्यालय बिहान ६ बजे पुग्न थाले । साँझ ८ बजेपछि मात्र घर फर्किन्छन् । उनी कडा र हक्की स्वभावका छन् । आफूले चाहेको कुरा पूरा गरेरै छाड्ने उनको स्वभाव छ । पढाइप्रति आलटाल गर्ने शिक्षकहरूप्रति उनी खरो भएर प्रस्तुत हुन्छन् । 

पाठक भन्छन्, ‘विद्यालयका प्रधानाध्यापक नियुक्ति गर्दा ज्येष्ठता अनुभवका आधारमा होइन । क्षमताका आधारमा हुनुपर्छ ।’ शिक्षकले इमान्दारीपूर्वक कक्षामा पढाइदिने हो भने मात्र पनि नेपालको शिक्षाको गुणस्तर सुधार आउन समय नलाग्ने पाठकको विश्वास छ । उनी भन्छन्, ‘कालिका मानवज्ञान माविको पढाइ राम्रो हुने, अरूको नहुनुपर्ने कारणै छैन । सबै स्कूलका शिक्षक उत्तिकै योग्य र तालिम प्राप्त छन् । उनीहरूले राम्रोसँग पढाइदिए पुग्छ ।’

२०५७ सालसम्म विद्यालय कारवाहीमा पर्यो । झण्डै १५ वर्षअघि यो विद्यालयको अवस्था दयनीय थियो । यहाँबाट २०५८ सालमा ३० प्रतिशत र मात्र पास भए त्यसपछि विद्यालयले क्रमशः नतिजा सुधार गर्दै लग्यो । बिस्तारै अभिभावक र विद्यार्थीको विश्वास जित्दै गएपछि काम गर्न सहज भयो । पछिल्ला दिनमा मेरा सहकर्मी शिक्षकले आफ्ना छोराछोरीलाई आफ्नै विद्यालयमा गर्वका साथ पढाउन थालेका छन् ।

कक्षाकोठामा आफूले इमान्दार साथ नपढाउने र मञ्चमा देशको शिक्षा नीति नै ठीक भएन भनेर भाषण गर्ने शिक्षक धेरै भएका कारण योग्यता परीक्षा पास गरेर आएका शिक्षक हुँदाहुँदै सामुदायिक विद्यालयको स्तर निकै खस्किएको पाठकले राम्ररी बुझेका छन् । अन्य विद्यालयमा व्यवस्थापन समितिको चुनावमा राजनीतिक पार्टीबीच प्रतिष्ठाको लडाइँ हुने गरेपनि कालिकामा त्यो देखिँदैन । अहिले कालिका माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होमबहादुर गलामी छन् । 

उनले सम्हालेको नेतृत्वलाई अभिभावक र विद्यार्थीले विश्वास जित्दै गएपछि काम गर्न सहज भयो । विद्यालय व्यवस्थापन र प्रशासन दुवै पक्ष गुणस्तर सुधार्नमा प्रतिबद्ध भएर लागेका कारण विद्यालयले प्रगति गर्दै गर्यो । अभिभावकबाट पाएको अटुट विश्वासलाई अवसरका रुपमा उपयोग गर्दै पाठकले आफ्नो कार्यकालको १७ वर्षमा कालिकालाई नेपालकै नमूना विद्यालय बनाएर देखाएका छन् ।

विद्यालयको पढाइ राम्रो भएपछि टाढा–टाढादेखिका विद्यार्थी आउन थाले ।  विद्यालयमा २ सेक्टर छन् । साविक कालिकामा अंग्रेजी नेपाली माध्यममा पढाइ हुन्छ । साविक मानवज्ञान माविमा अंग्रेजी माध्यमबाट मात्रै पढाइ हुन्छ । विद्यालयले टाढाका विद्यार्थी बोक्न आफ्नै ३ वटा स्कूल बस किनेको छ । गाडीका लागि भारतीय दूतावासकै सहयोग गरेको छ । विद्यालयको शैक्षिक र भौतिक उन्नतिमा फड्को मार्ने लक्ष्यमा प्रधानाध्यापक र व्यवस्थापन समितिको एकमत भएपछि सुधारका काम गर्न सजिलो भयो । 

विद्यालयले कर्मचारी तथा शिक्षक नियुक्ति गर्दा आफ्नाभन्दा पनि राम्रा र योग्य व्यक्ति छान्यो जसका कारण शैक्षिक गुणस्तर खस्किन पाएन । २०७४ सालको एसईई परीक्षामा विद्यालयबाट सहभागी विद्यार्थीमध्ये १ सय ८ जनाले ३ दशमलव ६५ जीपीए ल्याएर उत्तीर्ण भएका छन् । 

२०६५ सालमा मानविकी, शिक्षा र व्यवस्थापनका कक्षा सञ्चालन छन् । कक्षा ११ र १२ शुरू गरेको विद्यालयले विज्ञान संकाय पनि सञ्चालन गरेको छ । यसै विद्यालयको भगिनी संस्था हो, बुटवल कालिका कलेज । यहाँ स्नातक पढाइ हुन्छ । २०७० सालदेखि बीबीएस सञ्चालन गरेको कलेजले यसै वर्षदेखि बीसीएको कक्षा सञ्चालनको तयारी गरेको छ ।

विद्यालयमा २ सय १५ शिक्षक कर्मचारी छन् । पाठककी श्रीमती र १ छोरी दुर्घटनामा परेर मृत्यु भएको छ । उनका हाल २ छोरा छन् । दुवै छोराले कालिकाबाटै एसएलसी उत्तीर्ण गरेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्