
काभ्रे–सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले कुनैपनि अपराधी पानीमुनि लुकेपनि उम्कन नसक्ने बताएका छन् ।
काभ्रेपलाञ्चाकको पनौती नगरपालिका–५ चौकोटस्थित लक्ष्मी महिला सहकारीको आज २० औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले भने, “कुनैपनि अपराधी पानीमुनि लुकेपनि उम्कन सक्दैन, उसलाई कुनै क्षमा पनि हुँदैन ।” उनले नेपाली समाजका केही पुरुष र महिलाका कारण पनि समाज विकृत बन्दै अपराधिक घटना घटेको बताए ।
मन्त्री बाँस्कोटाले सूचना–प्रविधिको विकाससँगै विकृत रुपमा आएको अश्लील साइटले आपराधिक घटनामा बढोत्तरी भएको बताए ।
समाजका सबै सभ्य नागरिक भए कुनैपनि अपराधिक घटना नहुने भएकाले प्रत्येक नागरिक स्वाभिमानपूर्वक आफ्ना गतिविधि गर्नुपर्ने बताए । उनले भने, “एउटा मात्रै नागरिक खराब भए समाजिक जीवनशैली बिग्रन्छ, त्यसैले पनि नागरिक चरित्रवान् बन्नु जरुरी छ ।” मन्त्री बाँस्कोटाले मुलुकका अझैपनि ६९ गाउँपालिका टेलिफोनविहीन रहेकाले एक वर्षभित्र ती क्षेत्रमा सञ्चार सेवा पु¥याउनुपर्ने आफ्नो जिम्मेवारी भएको बबताए ।