
काठमाडौं– नेकपाका वरिष्ठ नेता माधव नेपालले आफ्नै पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको कार्यशैलीलाई लिएर बिहीबार संसद् र शुक्रबार स्थायी समिति सदस्यको भेलामार्फत अभिव्यक्त गरेको असन्तुष्टिले सत्तारूढ दलभित्र हलचल पैदा भएको छ । हलचलले संयुक्त राष्ट्रसंघको महासभामा भाग लिने क्रममा न्युयोर्कमा रहेका प्रधानमन्त्री ओलीलाई समेत छोएको छ ।
‘कतिपय नेताले बोलेको सुनियो, लौ न देश डुब्नै लाग्यो, कोही त आऊ बचाऊ भनेर,’ पत्रकार सूर्य थापासँगको टीभी अन्तर्वार्तामा ओलीले नेपालको अभिव्यक्तिप्रति लक्षित गर्दै भनेका छन्, ‘म नहुनेबित्तिकै कसैलाई अलिकति शून्यता भयो, छटपटी भयो । म फर्केर गइहाल्छु, सबै ठीक भइहाल्छ ।’ नेपालले सात महिना बित्दा पनि सरकारको प्रभावकारिता नदेखिएको र पार्टी एकलौटी चलाएको विषयलाई लिएर ‘देश डुब्न लागिसक्यो माझी बचाइदेऊ न...’ भन्ने गीत बिहीबार संसद्मा गाएका थिए ।
सतहमा उनको अभिव्यक्ति सरकार र पार्टी सञ्चालनमा ओलीको कार्यशैलीप्रति लक्षित छ । नेकपाकै कतिपय नेताले भने उनको अभिव्यक्तिलाई सरकार असफल बनाउने योजनाका रूपमा लिएका छन् । गृहमन्त्री रामबहादुर थापाले शनिबार तम्घासमा यस्तै संकेत गर्दै भने, ‘सरकारलाई घेराबन्दी गर्ने र गिराउनेसम्मको षड्यन्त्र भइरहेको छ।’ संसद्मा नेपालले कञ्चनपुरकी किशोरी निर्मला पन्तको हत्यारा पत्ता नलागेको र रौतहटलगायत ठाउँमा किशोरीमाथि एसिड प्रहार भएको घटना उप्काउँदै गृहमन्त्री खोइ भन्ने प्रश्न गरेका थिए ।
नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भने नेपालको असन्तुष्टिलाई सरकार ढाल्ने ‘षड्यन्त्र’ मान्न नहुने बताए । ‘आलोचना सरकारलाई सफल बनाउनकै लागि गर्ने हो,’ उनले भने, ‘विकल्प खोज्ने कुरा अहिले कल्पना गर्न सकिन्न । सरकारको आलोचनालाई लिएर अरू कुरा सोच्न पनि मिल्दैन ।’ कान्तिपुर दैनिकमा खबर छ ।
स्वरोजगारका लागि सात शीर्षकमा सहुलियत कर्जा
सरकारले स्वरोजगार बढाउने र आर्थिक समृद्धिको आधार तयार पार्ने लक्ष्यका साथ विभिन्न सात शीर्षकमा सहुलियत कर्जा प्रदान गर्ने भएको छ । अर्थ मन्त्रालयले हालै स्वीकृत गरेको सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५ अनुसार लक्षित ऋणीलाई व्याज अनुदान दिने र स्वरोजगार बनाउने लक्ष्य राखिएको छ ।
मन्त्रिपरिषद्ले गत भदौ २१ गते शैक्षिक कर्जासम्बन्धी कार्यविधि पारित गरेको थियो । पारित कार्यविधि यही असोज ६ गते अर्थ मन्त्रालयले सार्वजनिक गरेको थियो । सरकारले व्यावसायिक कृषि तथा पशुपक्षी कर्जा रु पाँच करोडसम्म प्रदान गर्ने छ । यस्तै कार्यविधिअनुसार शिक्षित युवा स्वरोजगार कर्जा रु सात लाखसम्म तथा विदेशबाट फर्केका युवालाई रु १० लाखसम्म कर्जा प्रदान गर्ने भएको छ ।
यस्तै महिलालाई आर्थिकरुपमा सबल बनाउनका लागि महिला उद्यमशील कर्जाबापत रु १५ लाख, दलित समुदाय व्यवसाय विकास कर्जा रु १० लाख, उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा रु पाँच लाख, भूकम्पपीडितको निजी आवास निर्माण कर्जा रु तीन लाखसम्म प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ ।
सरकारले अनुदानस्वरुप प्रदान गरिने व्याज, कर्जा, सुरक्षण शुल्क तथा बीमा प्रिमियम रकम उपलब्ध गराउने प्रयोजनका लागि राष्ट्र बैंकमा एक खाता खोल्नेछ । उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा लिन माध्यामिक शिक्षा वा सोसरह उत्तीर्ण गरी २५ वर्ष उमेर ननाघेको नेपाली नागरिलाई कर्जा प्रवाह गरिने कार्यविधिमा उल्लेख छ ।
एसपी विष्टसहित ३ जनाको डीएनए रिपोर्ट तयार
निर्मला पन्तको बलात्कारपछि भएको हत्याकाण्डमा संलग्न रहेको आरोप लागेका तत्कालिन एसपी डिल्लीराज विष्टसहित ३ जनाको डीएनए परीक्षणको रिपोर्ट तयार भएको छ । डीएनए रिपोर्ट शुक्रबार आफूकहाँ आइपुगेको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका एसपी कुवेर कठायतले जानकारी दिए ।
यद्यपी सो रिपोर्टमा के छ भन्ने खोलिसकेपछि थाहा हुने बताउँदै आइतबार सोबारे सबैको रोहबरमा खोलिने बताए । प्रहरी प्रधान कार्यालयको निर्देशनमा भदौ २८ मा निलम्बित एसपी बिष्ट, उनका छोरा किरण बिष्ट र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुश बिष्टको डीएनए परीक्षण गरिएको थियो ।
कर्मचारी समायोजनमा आलटाल
कर्मचारी समायोजनमा भएको आलटालले स्थानीय र प्रदेशको प्रशासनिक संरचनाले अझै गति लिन सकेको छैन । कर्मचारी समायोजन नहुँदाको सबैभन्दा बढी असर स्थानीय तह र प्रदेशको प्रशासनिक कार्यमा परेको छ ।
संविधानबमोजिम प्रदेश र स्थानीय तहले जनप्रतिनिधि पाए पनि सोहीअनुरुप प्रशासनिक संरचना चलायमान हुनसकेको छैन । चलायनमान हुन नसक्नुमा मुख्य कारण कर्मचारीको अभाव रहेको छ । साविकका स्थानीय निकायबाहेक गाविसबाट गाउँपालिका र नगरपालिका बनेको सयौं स्थानीय तहले अझै पनि पूर्णरुपमा गति लिन सकिरहेको छैन ।
कर्मचारी समायोजनमा ढिलाइ हुँदा सुगम स्थानीय तहमा फाजिलमा समेत कर्मचारी कार्यरत छन् । दुर्गम स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृत नहुँदा सेवाग्राहीका दैनिक कामसमेत प्रवाहित भएका गुनासा हरेक दिन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा आउने गरेका छन् ।, नेपाल समाचारपत्रमा खबर छ ।
‘चिकित्सा शिक्षा विधेयक संसदीय प्रक्रियामा छ’
सरकारले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका चिकित्सक प्रा डा गोविन्द केसीसँग गरेको सहमतिका आधारमा चिकित्सा शिक्षा विधेयक संसद्मा प्रस्ततु गरिएको र छलफलका क्रममा रहेको जनाएको छ । चिकित्सा शिक्षाका क्षेत्रमा विद्यमान विकृति, विसङ्गति तथा कमीकमजोरीलाई अन्त्य गर्न सरकार क्रियाशील रहेको र गम्भीरताका साथ काम गरिरहेको भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मन्त्री गिरिराजमणि पोखरेललाई लक्षित गरी सार्वजनिक गरिएको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
सदनभित्र विधेयक दर्ता भइसकेको सन्दर्भमा डा केसीसँग भएको सहमति कार्यान्वय गर्ने प्रमुख थलो जननिर्वाचित संस्था नै रहेको तथ्य नभुल्नसमेत मन्त्रालयले आग्रह गरेको छ । विधेयक संशोधनको प्रक्रिया जारी रहेको र थप छलफल शिक्षा तथा स्वास्थ्य समितिमा भइरहेको छ ।
माटोको ढिस्कोले पुरिएर तीन जनाको मृत्यु
माटोको ढिस्कोले पुरिएर शनिबार दाङमा एउटै घरका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती गाउँपालिका– ४ मौरीघाटका ३० वर्षीया श्यामकुमारी चौधरी, ३५ वर्षीया मीनाकुमारी चौधरी र चार वर्षीया रेजिना चौधरीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए । मीना श्यामकुमारीकी भाउजु तथा रेजिना मीनाकी भतिजी हुन् । घर पोत्नका लागि माटो ल्याउन गएका तीनैजनाको घटनास्थलमै मृत्यु भएको हो ।
आर्मी र एनआटीले बराबरी खेले
शहीद स्मारक ‘ए’ डिभिजन लिगको शनिबार भएको उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लब र न्यूरोड टिम (एनआरटी)ले बराबरी खेलेका छन् । सातदोबाटोस्थित अखिल नेपाल फूटबल सङ्घ (एन्फा) मैदानमा आर्मी र एनआरटीले २–२ गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् । बराबरीसँगै दुवै टोलीले समान एक÷एक अङ्क बाँडेका छन् । लिगअन्तर्गत आइतबार सङ्कटा क्लब र सरस्वती युथ क्लबबीच खेल हुनेछ ।