
काठमाडौं –कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि भएको हत्याकाण्डमा संलग्न रहेको आशंका गरिएका तत्कालिन एसपी डिल्लीराज विष्टसहित ३ जनाको डीएनए परीक्षणको रिपोर्ट आइतबार सार्वजनिक गर्ने तयारी गरिएको छ ।
पीडित परिवार, अधिकारकर्मीलगायतको रोहबरमा रिपोर्ट सार्वजनिक गर्न लागिएको हो ।
डीएनए रिपोर्ट आफूकहाँ आइपुगेको भन्दै जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका एसपी कुवेर कठायतले आज सबैको रोहबरमा रिपोर्ट खोलिने बताए ।
प्रहरी प्रधान कार्यालयको निर्देशनमा भदौ २८ मा निलम्बित एसपी बिष्ट, उनका छोरा किरण बिष्ट र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुश बिष्टको डीएनए परीक्षण गरिएको थियो ।
कञ्चनपुरका सरोकारवालाले उनीहरुतर्फ आशंकाको तिर सोझ्याएको अवस्थामा रिपोर्टबारे चौतर्फी चासो रहेको छ ।