०३ असार २०८३, बुधबार

चरेसको थालमा मार्सी भात खाने कसरी गरिब ?

चरेसको थालमा मार्सी भात खाने कसरी गरिब ?

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशका जनता गरिब नभई उनीहरूको मानसिकतालाई योजनावद्द तरिकाले गरिब बनाइएको बताएका छन् ।

वीरेन्द्रनगरमा जनता टेलिभिजनको सोमबार प्रदेश कार्यालय उद्घाटन कार्यक्रममा उनले भने, ‘विभिन्न समयमा कर्णालीमा आएका एनजीओ तथा आइएनजीओहरूले चाउचाउ खान सिकाए, कुहिएको चामल खान सिकाए र यहाँका जनतालाई गरिब भन्दै फोटो खिचेर डलर कमाए । अनि यहाँका जनताको दिमाखमा गरिबी भन्ने शब्द घुसाए ।’ 

आफैंले उत्पादन गरेर खाद्यान्न तथा लगाउने लुगाहरू उत्पादन गर्ने कर्णालीवासी गरिब नभएको बताउँदै उनले भने, ‘चरेश (काँसा)को थालमा मार्सी चामलको भात खाने, गाउँमै कपास खेति गरेर ठिटुवाको कपडा बनाएर लगाउने, आलु फापर र कोदो अनि सिमी खाने हाम्रो पुर्खा कसरी गरिब भयो ?’

मुख्यमन्त्री शाहीले कर्णालीको खोला होस या नाला, डाँडा होस या पाखा जतापनि आलु उत्पादन गर्न सकिने धारणा राखे । ‘पाती नउम्रिने मरुभूमि भएका देशहरू धनि भनिदै आइएको छ । विदेशबाट आयात गरेर ल्याइएका कपडा लगाउने, भारत तथा अन्य देशबाट आयात गरिएको खाद्यान्न खानेहरूलाई धनि भनिएको छ ।’ मुख्यमन्त्री शाहीले भने, ‘तर आफैंले उत्पादन गरेको आलु, फापर, कोदो खानेहरुलाई गरिब भनेर यहाँका विज्ञहरुले चिनाउने प्रयास गरेका छन् । के विदेशबाट सामान आयात गरेर, भएभरका पैसा विदेश पठाएर मात्र धनि बन्न सकिन्छ ?’ 

मुख्यमन्त्री शाहीले कर्णालीमा रहेको अपार जलसम्पदा मिनरल वाटर भन्दा सफा रहेको बताए । ‘शहरमा हुनेहरूले खाने मिनरल वाटर हाम्रो कर्णालीमा रहेका गाईभैंसी तथा खच्चरहरूले खाने गरेका छन् ।’ उनले भने, ‘मिनरल वाटर खानेहरु धनि हुन्छ भने हामी कसरी गरिब भयौं, यो मलाई अच्चम लागेको छ ।’

उनले केहि विज्ञहरूका कारण कर्णालीमा श्रम गर्ने बानीको विनास भएको बताए । ‘अर्गानिक उत्पादन गर्ने र त्यसबाट पर्याप्त मुनाफा कमाउने आधार हुँदाहुँदै युवालाई परनिर्भर बनाउन थालिएको छ । तर अब कर्णाली प्रदेश सरकार यो वर्ष युवाहरुका सपना सुन्न चाहन्छ, ती सपनाहरुलाई अर्को वर्षबाट कार्यान्वयन गर्न चाहन्छ । म अनुरोध गर्छु कर्णालीवासी युवालाई तपाईहरुका सपना सरकारलाई सुनाउनुहोस, कर्णालीका शुभेच्छुकहरु सपनालाई कसरी विपनामा रुपान्तरण गर्न सकिन्छ सुझाव दिनुहोस ।’ मुख्यमन्त्री शाहीले भने ।

उनले अहिलेपनि केहि विज्ञहरुले ल्यापटप र प्रोजेक्टर झोलामा राखेर ह्वाईट वोर्डमा सुन्तला फलाउने गरेको बताए । ‘हामीकहाँ आउने विज्ञहरुले मैले भूगोलमा नै गएर यो फलाएँ, यसरी फलाएँ भनेर कोही आउँदैनन् ।’ उनले भने, ‘ल्यापटपमा सुन्तला फलाएर समृद्धि आउँदैन । अब कर्णालीलाई त्यस्ता विज्ञ होइनन, जो विज्ञ काम गरेर देखाउँछ उसैलाई हामीले मान्ने छौं ।’

कर्णाली प्रदेशलाई विकट भन्दै आएको प्रति आफ्नो गम्भिर असहमति रहेको मुख्यमन्त्री शाहीले बताए । ‘उहिले कर्णालीका मान्छेले सुन बेच्ने गर्थे, यो भूमिलाई सुवर्ण भूमिको रुपमा चिनिने गरेको इतिहास छ ।’ उनले भने, ‘पाँच पाण्डवहरु बसेको ठाउँ, छायानाथ जस्ता भगवान बस्ने ठाउँ कसरी विकट हुन्छ ? कसरी नर्क हुन्छ ? के देवताहरु, के भगवानहरु नर्कमा बस्छन ?’ मुख्यमन्त्री शाहीले कर्णाली प्रदेश नर्क नभएर स्वर्ग भएको बताए । उनले सवर्गको अनुभूति हुने प्रदेश, भगवानहरूको वासस्थान भएको कर्णाली विकट नभएको बताए ।

उनले अहिले कर्णाली यो अवस्थामा पुग्नुको प्रमुख कारण नै सपना देख्ने तर कार्यान्वयन नगर्ने परिपाटीका कारण भएको बताए । उनले चुनौतिको सामना गरेर अघि बढन सकेमात्र समग्र कर्णालीको उज्जवल भविष्य रहेको बताए । 

कार्यक्रमलाई सम्वोधन गर्दै आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले कर्णालीलाई कसरी बनाउने भन्ने साझा मुद्दा भएको बताए । उनले सबै मिलेर अघि बढे मात्रै कर्णालीलाई रुपान्तरण गर्न सकिने धारणा राखे ।
प्रदेशसभा सदस्य दिनबन्धु पोखरेलले कर्णालकिो विकास र समृद्धिका लागि प्रदेश सभामा कोही पनि सत्तापक्ष र विपक्ष नभएको बताए । वीरेन्द्रनगरमा जनता टेलिभिजनले आज सोमबार देखि प्रदेश कार्यालय सञ्चालनमा ल्याएको छ । उक्त कार्यालयको उद्घाटन मुख्यमन्त्री शाहीले गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्