
काठमाडौं — अमेरिकामा नयाँ किसिमको विमान बनेको छ । यो विमान धावनमार्गमा नगुडिकनै सीधै उड्न सक्छ ।
यसलाई अवतरणका लागि एयरस्ट्रीप वा रनवे आवश्यक छैन । ६ सीट भएको यो विमान आधी घन्टामा ३५० किलोमिटर पर पुग्न सक्छ ।
अमेरिकाको ट्रान्सेन्ड एयर कम्पनीले यो विशेष विमान बनाएको हो । सन् २०२४ बाट यो विमान सञ्चालनमा आउनेछ । यसलाई अमेरिकाका ४२ वटा राज्यमा शुरू गर्न सकिन्छ । त्यसपछि संसारभरि यो परियोजना शुरू गरिनेछ ।
अहिलेसम्म विमानका १५ वटा प्रोटोटाइप बनेका छन् ।
ट्रान्सेन्ड एयरका सीईओ पिटर स्मिटका अनुसार, सुरक्षा मापदण्डमा खरो उत्रिनका लागि केही समय आवश्यक छ । त्यसैले यसलाई सन् २०२४ बाट मात्र सञ्चालनमा ल्याइनेछ ।
सबै कुरा योजनामुताबिक भएमा न्युयोर्कबाट बोस्टनबीचको दूरी ३५० किलोमिटर ३६ मिनेटमा पूरा हुनेछ ।
स्मिटले यो विमान नदी, ताल वा समुद्रमा बनाइएका मञ्चमा पनि उत्रनसक्ने बताएका छन् । यसका लागि धेरै पैसा खर्च गरिरहनु नपर्ने उनी बताउँछन् ।
विमानमा प्राइभेट जेटजस्तो मज्जा आउने उनी बताउँछन् । तीनसय पचास किलोमिटरको भाडा अहिलेलाई २८३ डलर राखिएको छ ।
यो विमान सानो हुनाले यसमा एयर होस्टेस हुने छैनन् । फाइभ स्टार सुविधा नभएपनि धेरै व्यवस्था रहने स्मिटको भनाइ छ । विमानस्थल बनाइरहनुनपर्ने भएकाले यो विमान किफायती भएको उनी बताउँछन् ।
एजेन्सी