काठमाडौं – अघिल्लो सीजनमा सर्वाधिक गोल गरेर गोल्डेन बूट जितेका बार्सिलोनाका सुपरस्टार खेलाडी मेस्सीले यो सीजनमा पनि उत्कृष्ट खेल देखाइरहेका छन् ।
सीजनमा अहिलेसम्म उनले सबै प्रतियोगितामा गरी ११ म्याच खेलेकोमा ११ वटै गोल गरेका छन् । ला लिगाका ८ खेलमा ६ गोल र च्याम्पियन्स लीगका २ खेलमा ५ गोल उनले गरिसकेका छन् ।
गोल संख्याले मात्र कुनै खेलाडीलाई महान् बनाउँदैन । उक्त खेलाडीले टीमलाई गोल गर्ने अवसर कत्तिको दिलाउँछ भन्ने कुराले पनि उसको महानतालाई निर्धारण गर्छ ।
गोल असिस्टको मामिलामा पनि मेस्सी अग्रपंक्तिमा छन् । उनले सीजनका ११ खेलमा कुल ५ असिस्ट गरेका छन् ।
मेस्सीको खेलको आँकडा हेर्दा उनले प्रत्येक १ सय ११ मिनेटमा एक गोल गरेका छन् भने प्रत्येक १६६ मिनेटमा गोल असिस्ट गरेका छन् ।
आइतवार भ्यालेन्सियाविरुद्धको खेलमा पनि गोल गरेका मेस्सीले ला लिगकाका अहिलेसम्मका ८ खेलमा कुल ६६५ मिनेट खेलेका छन् । उनले मैदानमा बिताएका प्रत्येक ९० मिनेटमा ०.८१ को औसतमा गोल गरेको देखिन्छ । उनको यो आक्रामक खेलले उनलाई यस सीजनको ला लिगामा कम्तीमा तीन म्याच खेलेका २६० खेलाडीमध्ये पाँचौं स्थानमा राखेको छ ।
ला लिगाको यस सीजनमा कुल ६ गोल गरेर उनी तेस्रो स्थानमा रहेका छन् भने बार्सिलोनाका तर्फबाट धेरै गोल गर्ने खेलाडीको सूचीमा पहिलो स्थानमा छन् । ला लिगामा धेरै गोल गर्ने सूचीमा उनीभन्दा अगाडि जिरोनाका क्रिस्थियन स्टुआनी (८) र सेभियाका आन्द्रे सिल्भा (७) छन् ।
फूटीस्ट्याट्स डट् ओआरजीबाट