१४ असार २०८३, आइतबार

दश मिनेटको दूरीमा दुई विद्यालय, दुई गाउँको पानी बाराबार

कात्तिक २०, २०७४
दश मिनेटको दूरीमा दुई विद्यालय, दुई गाउँको पानी बाराबार
  • शुरबहादुर सिंह
जुम्ला, ३० मङ्सिर - सुन्दा अचम्म लाग्छ सक्छ, यहाँको एक गाविसका १० मिनेटको दूरीमा रहेका दुईवटा विद्यालयबीच पानी बाराबारको अवस्था छ ।
यसरी पानी बारबारको अवस्थामा रहेका दुई विद्यालयमा मालिकाठाँटा गाविस जुम्लामा अवस्थित सूर्योदय निमावि, राँसा र ज्योति मावि, राँसा मालापानी हुन् । दुवै विद्यालयबीच सम्बन्धमा फाटो आएको अहिले डेढ वर्ष भयो । ज्योति माविमा शिक्षक नियुक्ति गर्ने सवालमा आएको विवाद चुलिएर जाँदा यो अवस्थामा आइपुगेको सूर्योदय निमावि राँसागाउँको विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष धनबहादुर रावतले जानकारी दिए ।
ज्योति मावि, राँसा र मालापानी गाउँको बीचमा छ तर पनि एक विद्यालयका विद्यार्थी अर्को विद्यालयमा जाँदैनन् र अभिभावकले पनि जाँन दिँदैनन्, न त आफूहरु नै जान्छन् । विद्यालयमा जाने–आउने हिसाबमा बालबालिकालाई गाह्रो छैन, तर राँसा र मालापानी दुवै गाउँले हरेक काममा योगदान बराबर दिँदा पनि सेवासुविधाका हिसाबले मालापानीले बढी उपभोग गर्ने लगायतका थुप्रै कारणले शैक्षिक तथा सामाजिक मामलामा दुई गाउँबीचको सम्बन्धमा दूरी टाढा भएको पूर्वअध्यक्ष रावत बताउँछन् ।
उनका अनुसार १० मिनेटको दूरीमा ज्योति मावि छ, तर मावि तहको शिक्षा लिन राँसागाउँका विद्यार्थी त्यहाँ पढ्न जाँदैनन् । उनीहरु दुई घन्टाको बाटो हिँडेर मालिकाठाँटाकै देउराली उच्च मावि, जुम्लाकोट गाउँमा पढ्न जाने गरेको उनको भनाइ छ । हाल मालिकाठाँटाको ७ र ८ नं वडाका एकसय १२ घरधुरी रहेको राँसागाउँको सूर्योदय निमाविमा दुई सय ८२ विद्यार्थी अध्ययनरत रहेको जनाइएको छ ।
ज्योति मावि, राँसा मालापानीका प्रधानाध्यापक दलबहादुर बुढाले शिक्षक नियुक्तिको विवादले उग्रता लिएका कारण हालसम्म यो समस्या कायमै रहेको स्वीकार गरे । त्यसमा सामाजिक र वनको विषयले पनि दुवै गाउँका समुदायबीच थप सम्बन्धमा चिसोपन ल्याएको उनको भनाइ छ । सामूहिक रुपमा एक गाउँका मान्छे अर्को गाउँको बिहे, भोजभतेर लगायतका कार्य तथा अन्य सामाजिक काममा पनि सामेल नहुने गरेको प्रधानाध्यापक बुढाले दुखेसो गरे ।
उनका अनुसार ६२ घरधुरी रहेको ५ र ६ नं वडाको मालापानी गाउँका एकसय ५० विद्यार्थी अध्ययनरत छन् । २०७२ साल वैशाख महिनामा यो विद्यालयले माविको अनुमति पाएको उनले बताए । दुई गाउँका समुदायको आपसी विवादले अहिले खास सूर्योदय निमाविका बालबालिकालाई मावि तहमा पढ्न समस्या हुँदै आएको छ । यो सम्बन्ध जोड्नका लागि जिल्लामा ६ महिनाअघि जिल्ला शिक्षा अधिकारी कुलबहादुर फडेरा सम्बन्धित विद्यालयमा पुग्नुभएको थियो । तर पनि दुई समुदायबीच मेल हुन सकेन ।
विवाद चुलिएर जिल्लामा आउँदा पनि यो समस्या मिल्न नसकेपछि अवस्था ज्यूँका त्यूँ रहेको पूर्वप्रधानपञ्च वीरबल बुढाले बताए । उहाँका अनुसार ‘साँढेको जुधाइ बाच्छाको मिचाइ’ भईरहेको छ र मध्यस्थकर्ताको भूमिकाले पनि काम गर्न सकेन ।
हावापानी, भूगोल, सामाजिक, सांस्कृतिक रहनसहन एउटै भएका दुवै गाउँको विवाद समाधानको विषयमा भने कुरै उठ्न नसकेको स्थानीयवासी बताउँछन् । रासस

salt training

कमेन्ट गर्नुहोस्