२८ असार २०८३, आइतबार

मोदीखोला जलविद्युत् आयोजनाले शुरू गर्‍यो पूर्ण क्षमतामा उत्पादन

कात्तिक १, २०७५
मोदीखोला जलविद्युत् आयोजनाले शुरू गर्‍यो पूर्ण क्षमतामा उत्पादन

पर्वत– लामो समयदेखि बिग्रिएका यन्त्र मर्मतपछि मोदी गाउँपालिकामा सञ्चालित मोदीखोला जलविद्युत् आयोजनाबाट क्षमतानुसारको विद्युत् उत्पादन शुरु भएको छ । 

कूल विद्युत् उत्पादन क्षमता १४.८ मेगावाट रहेको आयोजनाबाट अहिले दैनिक १४ दशमलव ८ मेगावाट नै विद्युत् उत्पादन भइरहेको केन्द्रले जनाएको छ । यसअघिका वर्षमा वर्षायाममा पनि बढीमा ११ मेगावाटसम्मको आसपासमा विद्युत् उत्पादन हुने गरेकामा यस वर्ष विद्युत्गृहमा प्रयोग भएको पुरानो कुलर हटाएर नयाँ कुलर परिवर्तन गर्ने, समय समयमा सरसफाइ गर्ने र नयाँ यन्त्र फेरेपछि उत्पादन पूर्ण क्षमतामा हुन थालेको जलविद्युत् आयोजना केन्द्रका प्रमुख शिवकुमार शाहले बताए । “हामीले यस वर्ष एउटा कुलर फेरेका छौँ, त्यसैले नै विद्युत् उत्पादन बढेको छ, उनले भने ।” 

कुनैकुनै बेला घटबढ हुने भए पनि अधिकांश समयमा क्षमतानुसार नै दिएको छ । अर्को वर्ष अर्को कुलर पनि फेर्ने योजना छ । यस पटक केन्द्रीय बोलपत्रानुसार झण्डै रु ३५ लाखको लगानीमा कुलरलगायत अन्य सामान फेरिएको केन्द्र प्रमुख शाहले जानकारी दिए । यसअघि कुलेखानी र मध्यमस्र्याङ्दी आयोजनामा गरेर १६ वर्ष काम गरेका शाह आफैँले विद्युत्गृहका सामान्य खालका मर्मत गर्दै आएका छन् ।

एक वर्ष अगाडि केन्द्र प्रमुख बनेर आएका शाहले मोदीखोला जलविद्युत् आयोजनामा आइपर्ने सामान्य मर्मत र सम्भारका लागि अन्य आयोजनाका प्राविधिक बोलाउनुपर्ने बाध्यता हटेको र समस्या आउनासाथ आफैँले नेतृत्व गरेर समाधान गर्ने गरेका कारण पनि विद्युत् उत्पादन घट्ने समस्या हट्दै गएको बताए ।

मोदीखोला जलविद्युत् आयोजनामा बर्खा याममा दुई वटै युनिटबाट तथा हिउँदमा एउटा मात्र युनिटबाट विद्युत् उत्पादन हुने गरेको छ । मोदीमा पानीको बहाव कम हुँदा झण्डै माघदेखि एउटा मात्र युनिट चल्न सक्ने पानीको क्षमता रहने कारण विद्युत् उत्पादन पनि घट्ने गरेको छ ।

शाहका अनुसार एउटा टर्बाइनबाट तीन मेगावाटभन्दा कम विद्युत् उत्पादन हुने अवस्था आएपछि दुवै टर्बाइनका लागि प्रयोग भएको पानी एउटा मात्र टर्बाइनमा खसालेर विद्युत् उत्पादन गरिएको छ । सन् २०००(विसं २०५७ तिर) मा निर्माण भएको यो आयोजना यस क्षेत्रकै पुरानो हो । यसपछि पर्वतमा १० मेगावाट क्षमताको तल्लो मोदीखोला ए सञ्चालनमा आएको छ भने २० मेगावाटको तल्लो मोदीखोलाको निर्माण अन्तिम चरणमा पुगेको छ । रासस/लक्ष्मीप्रसाद सापकोटा 

salt training

कमेन्ट गर्नुहोस्