
अच्युत शाली घिमिरे
विश्वासमा जीवन धारण
गर्दछौं हामी,
विश्वासहरु
कहिले ईश्वर
कहिले आत्मा ,कहिले स्वर्ग
त कहिले धर्मका
नाममा प्रतित भईरहेछन् हामी माझ!
त्यसकै एउटा मूर्त रुप हो
हामीले मान्ने बडा दशैं
मान्यजनबाट थाप्ने टिका
अनि चैतन्ययुक्त महापुरुष हुन
व्यक्त हुने आशीर्वाद।
धेरै बर्ष पहिले
म सानो हुदां
हजुरबुवाले मेरो निधारमा
दहीमा मुछेका राता अक्षेता टास्दै
"आयुर् द्रोणसुते श्रियो दशरथे शत्रुक्षयो राघवे
एश्वर्य नहुषे गतिश्च पवने मानश्च दुर्योधने ......।"
भन्दै आशिष दिनुहुन्थ्यो
म मन्त्रमुग्ध हुदैं
अनन्ततामा हराउथें!
र दिदीलाई
"जयन्ती मंगला काली भद्रकाली कपालिनी
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोअ्स्तुते......।"
भन्दै फेरि आशिष दिनुहुन्थ्यो!
त्यो त्यही समय हो
जतिबेला
शरद ऋतु अनेक रंग रंगका
दृश्य चित्र पस्किएर
कुशलता प्रदर्शन गरिरहन्थ्यो,
जतिबेला नातागोता छरछिमेकका सम्बन्धहरु गाढा र रसिला हुन्थे,
जतिबेला आफ्ना व्यस्त काम बाट छुट्टिएर मानिसहरु हर्षले मुस्कुराउथे,
अनि
दशैंका ति सम्पूर्ण चित्तहरु, संगतिहरु,अभिप्रायहरु
म मा
प्रादुर्भाव भइराख्थे
संसारको दिव्य शक्ति भएर,
स्वर्ग चुलिदैं चुलिदैं
गरेको कल्पनाको ज्योति भएर।
समाज परिवर्तन हुदैं गयो
स्वदेशप्रेम संकुचित भएर विदेशीए मनहरु,
पश्चिमा सभ्यताका नाममा
खाली हुदैं गए निधारहरु
गुञ्जन छाडे आशिष र
लोप हुदै गयो उ बेलाको जस्तो दशैं!
फोटो खिच्नकै लागि खेलिन थाले रोटेपिङहरु
फेसबुकमा राख्न कै लागि लगाइन थाले टिका जमरा,
भलाद्मी हुन कै लागि बखानिए धर्म,संस्कृति र परम्पराका व्याख्याहरु!
तर याद राख
आज पनि
दशैंमा कति खेर परदेशी गाँउ फर्केला र
दुःख पीडा सुनाउला भनि
पर्खिबसेको छ
तिमी सानो हुदां लुकामारी खेल्ने
चौतारीको बुढो पिपलको रुख।।
जुनियर इन्टर्न, चिकित्सा शास्त्र अध्ययन संस्थान(IOM)