११ साउन २०८३, सोमबार

नेकपाको चियापानको तयारी पूरा, विप्लवदेखि सीके राउतसम्मलाई निम्तो

कात्तिक ८, २०७५
नेकपाको चियापानको तयारी पूरा, विप्लवदेखि सीके राउतसम्मलाई निम्तो

काठमाडौं–पार्टी एकतापछि पहिलो पटक शनिबार हुन लागेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को चियापान कार्यक्रमको सबै तयारी करिब पूरा भएको छ । नेकपाका नेता कृष्णगोपाल श्रेष्ठका अनुसार तयारीका बारेमा बुधबार पार्टीका महासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य योगेश भट्टराई सहितका केही नेताहरुले चियापान हुने स्थान भृकुटीमण्डपको निरीक्षण समेत गरेका छन् ।

विजयादशमी, दीपावली, नेपाल सम्बत तथा छठको अवसरमा आयोजना हुन लागेको चियापान कार्यक्रमका लागि करिब ५० हजार जनालाई निमन्त्रणा वितरण गरिएको नेता श्रेष्ठले बताए । उनकाअनुसार कात्तिक १० गते मध्याह्न १२ देखि ५ बजेसम्म चियापानको कार्यक्रम तय भएको छ । 

३ बजेसम्म पार्टी नेता, कार्यकता तथा सर्वसाधारणका लागि र ३ बजेदेखि ५ बजेसम्म नेपालस्थित कूटनीतिक नियोगका प्रमुख, राजनीतिक दलका शीर्ष नेताहरु, संवैधानिक अङ्गका प्रमुखलगायतलाई आमन्त्रण गरिएको श्रेष्ठले बताए । तीनसय बढी स्वयम्सेवक परिचालन गरिने चियापान कार्यक्रमको सबै तयारी पूरा भएको नेता श्रेष्ठले जानकारी दिए । 

चियापानमा करिब ४० हजारको सहभागिता रहने पार्टीको विश्वास छ । चियापानमा राष्ट्रपति, उपराष्ट्रपतिसहित पूर्व प्रधानमन्त्रीहरुलाई समेत आमन्त्रण गरिएको छ । यस्तै शनिबार हुने चियापान कार्यक्रममा नेत्रविक्रम चन्ददेखि सीके राउतसम्मलाई निम्तो दिएको छ ।

नेकपा स्थायी कमिटीका सदस्य देवेन्द्र पौडेलले नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवदेखि छुट्टै मधेस देश निर्माणको आन्दोलन गरिरहेका स्वतन्त्र मधेस गठबन्धनका नेता सीके राउतलाई निम्तो गरिएको बताए । तर, पार्टीले आयोजना गरेको चियापानमा नागरिकको हैसियतमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई निम्ता दिईएको छैन । यद्यपि, शाही कालका मन्त्री एवं नेताहरुलाई भने निम्ता दिइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्