१० साउन २०८३, आइतबार

शेयरधनीलाई धितोपत्र बोर्डको नयाँ व्यवस्था

कात्तिक ९, २०७५
शेयरधनीलाई धितोपत्र बोर्डको नयाँ व्यवस्था

काठमाडौँ- नेपाल धितोपत्र बोर्डले घरायसी तथा मृत्युपछिको धितोपत्रकोे नामसारीको जिम्मा केन्द्रीय निक्षेप प्रणालीलाई दिएको छ । 
बोर्डले निक्षेप सेवा (तेस्रो संशोधन) विनियमावलीको संशोधन गर्दै त्यस्तो व्यवस्था गरेको जनाएको छ । 

निक्षेप सेवा विनियमावली, २०६८ संशोधन गरी धितोपत्रको घरायसी तथा मृत्यु नामसारी प्रक्रिया सरल, सहज गरिएको हो । नयाँ व्यवस्थाबाट सूचीकृत धितोपत्रको घरायसी तथा मृत्यु नामसारी प्रक्रिया सरल, सहज तथा व्यापक भई लगानीकर्ता लाभान्वित हुने बोर्डको विश्वास छ । 

सूचीकृत धितोपत्रको घरायसी तथा मृत्यु नामसारी कार्यसमेत नेप्सेको सिफारिशमा सम्बन्धित सूचीकृत कम्पनीबाट हुने गरेको थियो । सिडिएस एण्ड क्लियरिङको स्थापना भएपश्चात् धितोपत्रको राफसाफ तथा नामसारी कार्य उक्त संस्थाबाट नै हुने गरेको तर घरायसी तथा मृत्यु नामसारी कार्य नेप्सेले नै गर्दै आइरहेको थियो । 

सिडिएसले धितोपत्रको राफसाफ तथा नामसारी कार्य स्वचालित प्रणालीमार्फत गरिरहेको एवं धितोपत्रको अभौतिकीकरण भएपश्चात् घरायसी तथा मृत्यु नामसारीसम्बन्धी कार्य नेप्सेले गर्दा धेरै समय लाग्ने भएकाले नयाँ व्यवस्था गरिएको हो । 

शेयरधनीले अनावश्यक झन्झट ब्यहोर्नुपर्नेलगायतका विविध कठिनाइ ब्यहोरिरहेको तथा यस सम्बन्धमा बोर्डमा समेत गुनासा प्राप्त भएको थियो । धितोपत्रको अभौतिककीकरणपश्चात् यस सम्बन्धमा उत्पन्न अन्योलता, कठिनाइ एवं गुनासोसमेतलाई सम्बोधन गर्न आवश्यक देखिएको भन्ने जनगुनासोलाई बोर्डले सम्बोधन गरेको प्रवक्ता नीरज गिरीले जानकारी दिनुभयो । 

भौतिक, अभौतिक धितोपत्रको घरायसी नामसारी गर्न र मृत्युपश्चात्को धितोपत्र नामसारी गर्न सम्बन्धित निवेदकले विनियमावलीमा तोकिएबमोजिमको फारम भरी निक्षेप सदस्यको सम्बन्धित कागजातसहित निवेदन दिनुपर्नेछ । 

यस्तै निवेदन प्राप्त भएपश्चात् निक्षेप सदस्यले त्यस्तो निवेदन तथा संलग्न कागजात रुजु गरी सिडिएससीको प्रणालीमा प्रविष्टि गर्ने, धितोपत्र धनीको मृत्युपश्चात् हकवालामा सर्ने धितोपत्रको हस्तान्तरणका लागि अन्य कसैको दाबी भए त्यस्तो दाबी गर्न आउनका लागि सिडिएससीको बेवसाइटमा ३५ दिनको म्याद दिई सूचना प्रकाशित गर्नुपर्नेछ । 

salt training

कमेन्ट गर्नुहोस्