
“ल तिम्रो यो आइडी कार्ड । भोलि टाइममै आऊ है ।” यति भनेर उसले आफूले ल्याएको सूचीमा मेरो नाममाथि सही चिह्न लगायो । त्यो सूचीमा कम्तीमा दुईसयभन्दा बढीको नामहरू थिए होलान् ।
“हुन्छ,” मैले भनें ।
हातमा कार्डहरूको मुठो देखाएर उसले फेरि मलाई भन्यो, “आज बेलुकासम्म यो सबैलाई बाँडिसक्नुपर्छ । समय छैन, म गएँ है ।”
यति भनेर ऊ त्यहाँबाट गयो ।
मैले कौतुहलपूर्वक उसले दिएको आइडी कार्ड हेरें । आइए प्रथम वर्ष लेखिएको स्टुडेन्ट आइडेन्टिटी कार्ड थियो त्यो । मलाई एक किसिमको खुशी लागेको थियो किनभने एक रुपैयाँ पनि खर्च नगरी म भर्ना भएको थिएँ, सरकारी क्याम्पसमा ।
“मेरो एकदमै नजिकको दाइ सभापतिको पदमा फलानो संगठनबाट उठ्दैछन् । भोट दिनुपर्छ है, जिताउनुपर्छ जसरी पनि ।” यस्तो अनुरोध गर्दै त्यो मित्र करीब एक महिना पहिला मसँग मेरो फोटो र एसएलसीको मार्कशीटको फोटोकपी माग्न आएको थियो ।
त्यतिबेला म मेरो गृहजिल्लाकै एक निजी कलेजमा विज्ञान संकायमा अध्ययन गरिरहेको थिएँ । कलेज नितान्त निजी क्षेत्रको भएकाले त्यहाँ विद्यार्थी राजनीति शून्य थियो ।
तर उता सरकारी क्याम्पसमा भने राजनीतिक झण्डाहरू, विभिन्न नाराहरू लेखिएका तुलहरू र दैनिकजसो विद्यार्थीहरूको भाषणआदिले चहलपहल दिनानुदिन बढिरहेको थियो ।
संयोग कस्तो भने, म प्लस टु कलेजमा विज्ञान पढिरहेको भएपनि सरकारी क्याम्पसमा मानविकी संकायमा भर्ना भएर पत्रकारिता वा राजनीतिशास्त्र अध्ययन गर्न चाहन्थे ।
र त्यसका लागि मैले एक रुपैयाँ नतिरी मलाई भर्ना गरिदियो एक विद्यार्थी संगठनले । त्यस संगठनमा मैले चिनेका केही अग्रजहरू सक्रिय रूपमा लागेका थिए ।
मलाई त्यसरी भर्ना गरिदिएको त्यो विद्यार्थी संगठनको स्वार्थ म सहजै बुझ्न सक्दथें । मेरो भोट त्यो संगठनको लागि भर्ना शुल्कबापत तिरेको केही सय, हजारभन्दा मूल्यवान् थियो । मलाई आइडी कार्ड दिने मित्रले ल्याएको त्यो सूचीमा भएकाहरू सबैजसो भोटको निम्ति भर्ना भएका थिए । अथवा भनौं उसले देखाएको आइडी कार्डहरू तिनै फर्जी विद्यार्थीहरूको थियो ।
त्यो सूचीभित्र मैले चिनेका केही मेरो पिता उमेर समूहका नामहरू पनि थिए । मैले अनुमान गरें कि मास्टर डिग्री पढ्नेहरू हुनसक्छन् । त्यसलाई मेरो किशोरमगजले अस्वाभाविक रूपमा लिएन । तर मलाई चकित एउटा अर्को कारणले बनायो कि त्यो सूचीमा केही नामहरू यस्ता पनि थिए जसले एसएलसी कटाएकै थिएनन् ।
एकदुईजनालाई मैले आफैं चिन्दथें । एसएलसी उत्तीर्ण नगरी कसरी भर्ना हुन पाए त्यो क्याम्पसमा ।
कसैले भनेको सुनेको थिएँ, बिहारतिरबाट एसएलसीको सर्टिफिकेट सजिलै गरी बनाउँछन् रे । शायद त्यस्तै केही गरे होलान् । वा त्यो पनि नचाहिने हुन्थ्यो कि, आफ्नै मान्छेहरू भर्ना समितिमा भएपछि ! मैले अनुमान लगाउँथे ।
क्याम्पसमा चुनावको लागि जाली विद्यार्थीहरू पनि हुँदा रहेछन् भन्ने मलाई छुट्ट्याउन गाह्रो भएन । एउटा मात्र संगठनले त्यसो ग–यो होला भनेर मैले भन्न सक्दिनँ, शायद अरू विद्यार्थी संगठनले पनि त्यसै गरे । विद्यार्थी नेता चुन्ने प्रक्रियामा त यस्तो अस्वस्थ प्रतिस्पर्धा हुँदोरहेछ । यदि यसैगरी जिताएका विद्यार्थी नेताहरू देशको नेता भए भने ? यस्तै फर्जी मत पाएर जित्ने विद्यार्थी नेता भोलि मन्त्री भयो भने ? बिहान बेलुका समाचारमा आइरहने नेताहरू कतै यसैगरी आएका त होइनन् । मलाई शंका लाग्थ्यो उबेला ।

लेखक
मैले चुनावमा नजाने निधो गरेको थिएँ । तर उनीहरू लिनै आए । गएँ । लाइनमा उभिए । दुई घण्टा लाइनमा बसेपछि मेरो पालो आयो । बन्द कोठाभित्र हुने चुनावमा मैले आफूलाई मन परको व्यक्तिलाई भोट हाल्ने अधिकार पनि हुन्छ र वातावरण पनि । जसले जे जे भने पनि कसैले देख्दैन र थाहा पनि पाउँदैन । मैले पहिले नै राम्रोसँग सोचेको थिएँ यो कुरा । सोहीअनुसार आफ्नो मताधिकार प्रयोग गरें । केवल भोटकै निम्ति भर्ना गरिएकाहरू अरूले के गरे ? मैले भन्न सक्दिनँ ।
त्यतिबेला चुनाव आउनुभन्दा करीब एकमहिना अघिबाट लगभग त्यो सरकारी क्याम्पसमा प्रभावित भइसकेको थियो । क्याम्पसको हाताभित्र विभिन्न समूह उपसमूह देखिन्थे । अहिलेको जस्तो क्याम्पस भित्र आचारसंहिता लागू गरिएको पनि शायद थिएन ।
त्यतिबेला सक्रिय रूपमा लागेका मेरा केही मित्रहरू वा चुनावमा उठेका अग्रजहरूले गरेको कुरा बडो चर्को र बुलन्द हुन्थ्यो । विद्यार्थीहरूको निम्ति यस्तो हुनुपर्छ, उस्तो हुनुपर्छ, हामी विद्यार्थीको निम्ति यस्तो गर्नेछौं, उस्तो गर्नेछौं । सबैजसो विद्यार्थी संगठनका केन्द्रीय नेताहरू आएर भाषण गरेको देख्न पाइन्थ्यो । यसरी तयारी अगाडि बढेको चुनाव सम्पन्न भयो । तर नतिजा गणना गर्ने क्रममा विवाद भएर त्यति विधि धुमधाम सम्पन्न भएको चुनावको परिणाम अनिश्चित भयो ।
आज करीब करीब एक दशक पुग्न लाग्दा त्यसपछि अर्को चुनाव हुने भएको छ । पटकपटक चुनाव घोषणा भएर स्थगित भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन यसपाली केही क्याम्पसमा फागुन १८ गते र केही क्याम्पसमा केही दिनपछि सम्पन्न हुँदैछ ।
करीब आठ वर्षपहिला त्यतिबेला सक्रिय देखेका ती मेरा अग्रजहरू केही वर्षमै ठूलै नेताहरू नै पो बन्नेछन् भन्ने सोचेको थिए मैले । तर आज उनीहरूमध्ये धेरैजसो कहाँ कुन ठाउँमा के गर्दैछन् मलाई थाहा छैन । शायद धेरैले आफ्नो पढाइलाई तिलाञ्जली दिए ।
केही कतारतिर छन् अनि केही स्थानीय निकायको चुनावको निम्ति अब फेरि उसैगरी खटिनेछन् होला । वा भनौं त्यो सबैभन्दा सृजनशील समयमा अध्ययनभन्दा नारा लगाउन, आफूभन्दा वरिष्ठ नेताहरूसँग चियागफमै समय खेर फालेजस्तो लाग्छ । शायद तिनीहरू नियमित अध्ययनमा लागेको भए, अहिले तिनैमध्येबाट राम्रा जनशक्तिको रूपमा विभिन्न क्षेत्रमा लागिसकेका हुन्थे कि ?
विद्यार्थीहरूले राजनीति नगरे कहिले गर्ने, राजनीति सिक्ने समय नै विद्यार्थी समय हो भन्ने तर्क गर्छन् धेरैजसो ।
जरूर हो । तर त्यसको निम्ति कुनै नेताको पिछलग्गु भइरहनु जरूरी छैन । न त्यसका लागि ढुंगामुढा गर्न आवश्यक छ, न त क्याम्पसको सार्वजनिक सम्पत्ति फुटाउन । पत्रपत्रिका, समाचारहरू, महत्त्वपूर्ण विषयमा हुने अन्तर्वार्ता, बहसहरू आदिमा सरिक हुने, सधैं चासो राख्ने र सोहीअनुसार आफ्ना तर्कहरू बनाउने, साथीभाइमाझ छलफल गर्ने गरियो भने कम राजनीतिक ज्ञान प्राप्त हुँदैन ।
आफ्नो देश बुझ्न, समाज बुझ्न, राजनीति बुझ्न अथवा भनौं कुनै पनि दर्शन बुझ्न पुस्तकीय ज्ञानबाहेकको यो सरल तरिका हो । सृजनशील समयमा आफ्नो अध्ययनको क्षेत्रमा दक्षता हासिल गरिसकेपछि, अन्य सामाजिक दायित्व आदि राम्ररी बुझेपछि अनि चाहना भए विशुद्ध राजनीतिक दलमा लाग्न नसकिन कहाँ हो र ?
व्यक्तिगत रूपमा मैले आफ्नो अध्ययनको क्रममा र हाल अध्यापनको क्रममा पनि केही विकृत विद्यार्थीहरूका स्वभाव देखेको छु, भोगेको छु ।
धेरैजसो विद्यार्थीहरू आवेश र उत्तेजनाको भाषा बोल्छन् । त्यसैगरी कोही चाहिँ संसारै बुझिसके जस्तो स्वभाव देखाउँछन् । कतिपय त यसरी प्रस्तुत हुन्छन् कि मानौं एकदुईजना माथिल्लो स्तरका नेताहरू चिनेको भरमा उनीहरू राजनीतिमा धेरै अगाडि बढिसके । राजनीति भनेको अरूलाई आफ्नो विचार र कामले प्रभावित पार्ने हो । अरूको मन जित्ने हो । आवेश र उत्तेजनाको भाषाले केही साथीहरूबाट क्षणिक तालीको गडगडाहट त मिल्ला तर अरूको मन कहिल्यै जित्न सक्दैन । अरूको मन जित्न नसक्नेले, अरूलाई आफ्ना कुरा वा विचारले प्रभावित पार्न नसक्नेले नेता बन्ने सपनै नदेख्नु जाति ।
बरू नेता बन्ने सपना बोक्ने विद्यार्थी त सिकारु हुनुपर्छ, अध्ययनशील हुनुपर्छ, उनीहरूमा आत्मालोचना गर्ने बानी हुनुपर्छ, अरूलाई सम्मान गर्ने हुनुपर्छ । उसले राजनीति गर्नुअघि राजनीति सिक्न खोज्नुपर्छ । राजनीति सिक्नु भनेको धेरै महत्त्वपूर्ण कुरा हो ।
केन्द्रीय नेताहरूको विगत, उनीहरूको राजनीतिक कदमहरूलाई राम्रोसँग बुझ्नसक्ने र यहाँनिर यो गर्नुपर्ने थियो भन्नेगरी आफूलाई योग्य बनाउँदै लैजानु भनेको राजनीति सिक्ने हो । विभिन्न दर्शनहरू, राजनीतिक व्यवस्थाहरू, अर्थ व्यवस्थाहरूबारे अध्ययन र अध्ययन गरिसकेपछिको आफ्नो त्यसमा धारणा बनाउनु अर्को पाटो हो ।
कुनै कम्युनिस्ट पार्टीको झण्डा बोक्ने विद्यार्थीलाई मार्क्सले कस्तो अर्थव्यवस्थालाई प्राथमिकता दिएको छ भनेर सोध्यो भने ऊ नाजवाफ हुन्छ । लोकतान्त्रिक पार्टीको झण्डा बोक्ने कुनै विद्यार्थीलाई नेपाली समाजमा कस्तो आर्थिक व्यवस्था उपयुक्त हुन्छ भनेर सोध्यो भने उसले राम्ररी जवाफ दिन सक्दैन ।
कम्तीमा अबका अध्ययनशील विद्यार्थी नेताहरू यस्ता यावत् विषयलाई राम्ररी बुझ्ने हुनुपर्छ भन्ने मेरो जोड हो ।
आजका पाका नेताहरू विद्यार्थी राजनीतिबाटै आए । धेरैजसो क्याम्पसमा झण्डा बोक्ने, तालाबन्दी गर्ने, ढुंगामुढा गर्ने संस्कारबाटै जन्मे । तर अब यो अवस्था फेरिनुपर्छ ।
चिल्ला भाषण गर्ने, सपनामात्रै बाँड्न जान्ने नेताहरू देशले धेरै पाइसक्यो । अब अध्ययनशील एवं बौद्धिक नेताहरू चाहिएको छ हामीलाई । भ्रष्टाचार गर्ने, चाप्लुसीमा रमाउने नेताहरू धेरै पायो देशले । अब सद्गुणी एवं सदाचारी नेताहरू चाहिएको छ हामीलाई । त्यसका लागि भोलि राजनीति गर्छु भन्ने आजका विद्यार्थीहरूले आफ्ना नेताहरू भन्दा पृथक् भएर निस्कनुपर्छ ।
आफ्ना नेताहरूभन्दा फरक हुन अब कलेजमा नारा लगाएर, भाषण गरेर मात्रै भोलि नेता बन्छु भन्ने पुरानै नेताहरूको शैलीलाई अनुसरण गर्न छोड्नुपर्छ ।
लेखक काठमाडौं इञ्जिनियरिङ्ग कलेजका लेक्चरर हुन् ।