
काठमाडौं– नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघमा ३२ वर्षे उमेर हद तोकेपछि काँग्रेसको शीर्ष तहमा विवाद चुलिएको छ ।
उमेरहदका विषयमा शीर्ष नेताहरुसमेत विभाजित भएका छन् र आगामी पार्टीको महासमिति बैठक समेत यसको प्रभाव पर्ने देखिएको छ । पार्टी केन्द्रीय समितिको बहुमतको आधारमा नेविसंघमा ३२ वर्ष उमेर हद तोकिएको भन्दै नेतृत्वमा विवाद देखिएको हो ।
उक्त निर्णयमा वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु कृष्ण सिटौला, प्रकाशमान सिंह, अर्जुननरसिंह केसीले नोट अफ डिसेन्ट लेखेका थिए ।
उमेर हदको निर्णय भएसँगै नेविसंघको महाधिवेशनको सम्भावना टरेको छ ।
वर्तमान नेविसंघ केन्द्रीय समितिले सर्वसहमत रुपमा विधान पारित गरेको थियो । नेविसंघ हेर्ने प्रकाशशरण महत संयोजक रहेको पार्टीको निर्देशन समितिले नेविसंघको केन्द्रीय समितिले पास गरेको विधान खारेज गरि ३२ वर्ष उमेर हद लाग्ने सहितको आफ्नो विधान पेश गरेको थियो । नेविसंघको केन्द्रीय समितिले पास गरेको विधान काँग्रेस केन्द्रीय सदस्यहरुलाई अध्ययन गर्न नदिई एकतर्फि रुपमा आफ्नो विधान पास गरेको आरोप असन्तुष्ट पक्षले लगाउँदै आएको छ ।
नेविसंघको महाधिवेशनमा आफ्नो पक्ष पराजित हुने निश्चित देखिएपछि देउवा पक्षले यस्तो निर्णय गराएको नेता पौडेल पक्षको आरोप छ ।
पछिल्लो समय पार्टीको भ्रातृ संगठनमा आफ्नो पकड पार्टी सभापतिले गुमाउँदै गए पछि नेविसंघमा उमेर हद लगाएको भन्दै टिप्पणी भएको छ ।
अब नेविसंघमा तदर्थ समिति गठन गर्ने तयारी रहेको श्रोत वताएको छ । नेविसंघको महाधिवेशन प्रत्येक दुई वर्षमा हुनु पर्नेमा वर्तमान केन्द्रीय अध्यक्ष नैनसिंह महरले महाधिवेशनको प्रारम्भ नै नगरेकाले पार्टीले महाधिवेशनको लागि भन्दै थप तीन महिना म्याद थप गरेको थियो । अध्यक्ष महरले कार्तिक १६, १७ र १८ गते काठमाडौंमा महाधिवेशन गर्ने भनि मिति तोकेका थिए तर त्यो समय पनि महाधिवेशन हुन सकेन । विजयकुमार गच्छदार समुहलाई मिलाउने भनि पन्ध्र जना मनोनित गरेरपछि नेविसंघमा विवाद भएको थियो ।
महाधिवेशन गर्न थपिएको तीन महिना म्याद आगामी मंसिर दुई गते सकिँदैछ । विधानमा व्यवस्था भए बमोजिम आगामी मंसिर दुई गतेबाट यो नेविसंघ केन्द्रीय समिति स्वतः भंग भई नयाँ तदर्थ समिति बन्नेछ ।
नेविसंघमा उमेर हद लागेसँगै नेविसंघका नेताहरुले आगामी महाधिवेशनमा प्रतिष्पर्धा गर्न पाउने छैनन् । उमेर हद लागेसँगै बा¥हौं महाधिवेशनका अध्यक्षका प्रत्याशि मोतिलाल भण्डारीले लोकतान्त्रिक पार्टीले आफ्नो भ्रातृ संगठनमा उमेर हद लगाएर अलोकतान्त्रिक चरित्र प्रदर्शन गरेको आरोप लगाए ।
‘अब आन्तरिक लोकतन्त्रको लागि लड्छौ, हामीलाई उमेर हद लगाएर ठेगान लगाउनेहरुलाई पछुतो हुने गरि यिनीहरुलाई पार्टी महाधिवेशनमा ठेगान लगाउछौं’ भण्डारीले भने ।
बहुमतको बलमा आफूहरुलाई विद्यार्थी राजनीतिबाट बञ्चित गरिएको भन्दै भण्डारीले अन्यायपूर्ण व्यवहारले पार्टी वलियो नहुने बताए ।
नेविसंघको बा¥हौं महाधिवेशनमा अध्यक्षमा देउवा पक्षबाट सरोज थापा, आनन्द त्रिपाठी त्यसै गरि पौडेल पक्षबाट मोतिलाल भण्डारी, दीपक भट्टराई, हिमालदत्त श्रेष्ठ र सिटौला पक्षबाट कुन्दन काफ्ले, युवराज पाण्डेको दाबी रहेको थियो ।