काठमाडौँ, १७ फागुन - एथलेटिक्सका प्रशिक्षक एवम् पूर्वधावक हरिबहादुर रोकायालाई गजराज जोशी स्मृति आदर्श खेल व्यक्तित्वबाट आज सम्मान गरिएको छ ।
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घले आयोजना गरेको एनएनआइपिए उत्कृष्ट वर्ष खेलाडी सम्मान कार्यक्रममा गिनिज बुकमा नाम लेखाउन सफल एथलेटिक्सका प्रशिक्षक एवम् पूर्वधावक रोकायालाई स्व गजराज जोशी फाउन्डेसनद्वारा स्थापित गजराज जोशी स्मृति आदर्श खेल व्यक्तित्वबाट सम्मान गरिएको हो । सम्मानस्वरुप उहाँले रु २५ हजारसहित ट्रफी प्राप्त गर्नुभयो ।
कार्यक्रममा भारोत्तोलनका विकास थापा, फुटबलका नवयुग श्रेष्ठ, भलिबलकी सरस्वती चौधरी, तेक्वान्दोका वीरबहादुर महरा, कुस्तीका सरोज यादव, आर्चरीका प्रेमप्रसाद पुन, स्क्वासका अरहान्त सिंह, बक्सिङकी सरस्वती राना, ब्याडमिन्टनकी नङ्गशलदेवी तामाङ र जुडोकी फुपुल्हामु खत्रीलाई पनि सम्मान गरियो ।
यसैगरी सुटिङकी स्नेहा राज्यलक्ष्मी राणा, साइक्लिङका अजय पण्डित, ट्राइयाथलनकी रोजा केसी, कबड्डीका शान्ति मल्ल र लनटेनिसका अभिषेक बास्तोला पनि सम्मानित हुनुभयो ।
यस्तै हक्कीकी कुश्मा रानामगर, खोखोकी अर्पणाकुमारी महतो, पौडीकी गौरिका सिंह, उसुकी नीमा घर्ती मगर, टेबलटेनिसका दीप साउत, ह्यान्डबलकी रञ्जना राई र एथलेटिक्सका हरिकुमार रिमाललाई पनि सम्मान गरियो । सम्मानित हुने खेलाडीले जनही रु १० हजार प्राप्त गर्नुभयो । कार्यक्रममा आयोजक सङ्घका अध्यक्ष दीपक विष्ट, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्ट लगायतले सम्मान गर्नुभएको थियो । रासस